Logo

उषा रजक सँग रङ्गमञ्चका कुरा



करिब एक दशक किर्गिस्तानको बसाइ पछि नेपाल फर्किएकी रङ्गकर्मी तथा अभिनेत्री उषा रजक ललितपुरमा जन्मिएकी हुन् । केही महिना यता मात्रै नेपाल आएकी उषा भर्खर ‘कठपुतली’ नामक चलचित्रको छायांकन सकेर अहिले सर्वनाम थिएटरमा ‘अर्को कुरुक्षेत्र’ नामक नाटक गरिरहेकी छिन् ।

रङ्गमन्चको पहिलो अनुभवमा नै उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी उषा एक्टर्स स्टुडियो कि विद्यार्थी हुन् ।

कंकाल, भर्चुअल रियालिटी, म्यारिज इन मोसन, चोख्याउने, बाँकी उज्यालो जस्ता धेरै नाटक गरेसकेकी उनले माइती, सन्तान थरिथरिका, किनारा, जस्ता चर्चित टेलिफिल्ममा समेत काम गरेकी छिन् ।

इकु, कुसुमे रुमाल २, वान डे, कथा, जस्ता फिल्महरुमा अभिनय गरिसकेकी उषा अहिले सर्वनाम थिएटरमा चलिरहेको अशेष मल्ल निर्देशित नाटक ‘अर्को कुरुक्षेत्र’ को मुख्य पात्र हुन् । नाटकमा नारीले सत्य, द्वापर, त्रेता र कलियुगमा भोग्नुपरेका तमाम कुराहरु समाबेश गरिएको छ ।

प्रस्तुत छ, उनै उषा रजक सँग सल्लेरी खबरको साप्ताहिक विशेषांक सल्लेरी कोलाजको लागि अन्शु खनालले लिएको अन्तर्वार्ताः

अन्शुः नाटकमा कति बर्ष पछि कमव्याक हजुरको ?

उषाः नाटकमा मेरो बाह्र बर्ष पछिको कमव्याक हो । मैले २००७ सालमा अनुप बराल सरको ‘बाँकी उज्यालो’ गरेको थिए । त्यसपछि अहिले ‘अर्को कुरुक्षेत्र’ ।

अन्शुः नाटकबाट नै कमव्याक किन ?

उषाः मेरो खासमा ‘कठपुतली’ नामक फिल्म सुटिङ भइसकेको छ, रिलिज चाँहि हुन बाँकी छ । संयोगबस नाट्यश्वर भगवानले मलाई नाटकबाट नै इन्ट्रि गराउन खोज्नु भएको रहेछ । यसकारण मैले नाटक गरें ।

अन्शुः यति बर्षपछि नाटकमा आउँदा ‘अर्को कुरुक्षेत्र’ नै किन रोज्नु’भो ?

उषाः सायद यो मेरो डेस्टिनीको खेल हो । मलाई लाग्छ कुनै पनि चिज हाम्रो कन्ट्रोलमा छैन । सबै कुरा हाम्रो ब्राह्मणले लेखिसकेको चिजहरु हो । हाम्रो काम चाँहि हरेक दिन इमानदार भएर जे पर्छ त्यहि गर्नुपर्छ भन्ने मेरो मन्त्र हो । म पछिसम्मको प्लान बनाउदिनँ, म आजको दिन राम्रोसँग बाँच्छु बस् त्यहि हो । सायद त्यहि कारण मैले जे चाहेको त्यहि गर्न पाइरहेको छु ।

अन्शुः ‘अर्को कुरुक्षेत्र’ले हजुरको यतिका बर्षसम्मको रिक्ततालाई पुरा गर्छ जस्तो लाग्छ ?

उषाः जसरी मैले आफुले आफुलाई शारीरिक रुपमा तयार बनाएको छु, जस्तो कि ब्यालेट डान्स सिकें, स्विमिङ गर्छु, स्पोर्ट्सहरु गर्छु, ती कुराहरुलाई फिजिकल मुभमेन्ट द्वारा देखाउन पाए । आफुले यतिका बर्ष सिकेका कलाहरु देखाउन पाए । सबैभन्दा जरुरी चाँहि मेरो जिन्दगीको सिद्धान्तहरु ठ्याक्कै मिल्छ यो नाटकसँग ।

हाम्रो दक्षिण एसियामा नमिलेको चिजहरु जस्तै नारी सशक्तीकरण, समाजले हामीलाई एकदमै कमजोर स्थितिमा राखेको छ । ‘अर्को कुरुक्षेत्र’ मेरो कथा हो, तपाईंको कथा हो, मेरो हजुरमुवा, मेरो आमा, मेरो छिमेकी आइमाइहरुको, मेरो छोरीको, सबैको कथा हो । त्यहि भएर म एकदमै धन्य छु, यो कथा मैले गर्न पाए ।

हामी कलाकार त निर्देशकको सपना साकार पार्ने साधन हौं, अशेष सरको कल्पना, सम्पदाको कथा, र मेरो विचारहरु ठ्याक्कै मिलेको हुनाले पनि अहिलेसम्मको रिक्ततालाई पुरा गर्छ जस्तो लाग्छ ।

अन्शुः थिएटर सजिलो कि फिल्म ?

उषाः आफ्नो आफ्नो च्यालेन्जेजहरू हुन्छ दुबै क्षेत्रमा । थिएटर चाँहि जिवन्त अभिनय हो । थिएटरमा नो रिटेक, स्पेस सँग खेल्न पाइन्छ, लाइभ दर्शक हुन्छन्, दर्शकहरुबाट उर्जा पाइन्छ । फिल्म चाहि पछि रिलिज हुन्छ । दर्शकलाइ प्रत्यक्ष भेट्न पाउदैनौं ।

फिल्ममा भन्दा थिएटरबाट नै आनन्द आउँछ ।

अन्शुः कस्तो फिल्ममा काम गर्न सहज लाग्छ ?

उषाः अहिलेसम्म गरेको फिल्महरु सहज नै थिए, चेतनशील, कमेडी, लभ स्टोरी, सबै फिल्महरु सहज नै लाग्छ । आफुलाई तयार गरेर काम गरेपछि सबै फिल्म सहज नै हुन्छ ।

अन्शुः नाटक ‘अर्को कुरुक्षेत्र’ सँग कसरी जोडिनु भयो ?

उषाः जब मेरो ‘कथा’ नामक फिल्म युट्युबमा रिलिज भयो, धेरै जनाले देख्नु भयो । मैले एकदमै आदर गर्ने गुरुदेखि फिल्म मेकरहरुले तिमी कता छौ, नेपालमा तिम्रो खाँचो छ भन्न थाल्नु’भो । म किर्गिस्तानमा युएनडिपिमा कम्युनिकेसन एक्सपर्टको रुपमा काम गर्थें । मलाई लाग्यो, यति धेरै ग्याप भएपछि के होला र ! ‘कथा’ फिल्म हेरेपछि मलाई सम्पदाले नोटिस गरेको रहेछ । उसले अशेष सरलाइ पनि भनेको रहेछ, म २००५ मा राष्ट्रिय नाटक प्रतियोगितामा भाग लिदा निर्णयकहरु मध्ये अशेष सर पनि एक हुनुहुन्थ्यो । उहाँले मलाई याद गरिरहनु भएको रहेछ । सम्पदाले कुरा गरेपछि अशेष सरले पनि हुन्छ भन्नु भएछ र मैले पनि हुन्छ भनें ।

अन्शुः अहिले पछिल्लो समय थिएटरमा ‘मि टु’का कुरा आइरहँदा हजुर थिएटरमा फर्किनु भएको छ, तपाईं यो नाटकबाट थिएटरका दर्शकलाई कस्तो छाप छोडेर जान चाहनुहुन्छ ?

उषाः हामी रङ्गकर्मी सबै जनाको आवाज निकाल्ने ठाउँ नाटक हो जस्तो लाग्छ । थिएटरमा ‘मि टु’ मोमेन्ट गरिरहँदा धेरै खुसी लाग्छ । शोषणमा परेका महिलाहरु बाहिर आएर बोल्न सक्ने हुनुभएको छ । म ताली पिट्छु, यो एकदमै राम्रो कुरा हो । म चाहि नाटक मार्फत आफ्नो तरिकाले आवाज उठाउँदै छु ।

अन्शुः नाटकमा तपाईंको भुमिका ?

उषाः समाजमा भएका अनेक नारीहरुलाई मैले प्रतिनिधित्व गरेको छु । दबिएको, लेखिएको, दस्तावेज भित्र राखेको महिलाको भुमिकामा छु म । म द्रोपदीको, सिता, निर्माला सबैको कुरा उठाएको छु । यस नाटकमा नारी सशक्तीकरणका कुराहरु गरेको छौ र प्रश्नहरु सोधेका छौँ । मेरो काम नै प्रश्न सोध्ने हो ।

अन्शुः महिला भएकै कारण यो क्षेत्रमा भोग्नु परेको समस्या ?

उषाः मान्छे स्वतन्त्र रुपमा जिन्दगीको डिसिजनहरु लिनुपर्छ र आर्थिकरुपमा आत्मनिर्भर हुनुपर्छ जस्तो लाग्छ । कला क्षेत्रमात्रै नभइ सबै क्षेत्रमा महिलालाई कम पैसा तिरिन्छ । हिरोहरूलाई चार गुना, पाँच गुना पैसा दिन्छन् । तर हिरोइनले अलिक धेरै पारिश्रमिक माग्यो भनेर विवाद हुन्छ । अझै हिरोइनहरुको कुरा काट्छन्, यो केटासँग लाग्यो, त्यो होटलमा गयो भन्छन् । जबकि हामीले काम अनुसार पैसा नै पाएको हुदैनौं । यो क्षेत्रमा मेरो ठुलो समस्या नै यहि हो । मैले मेरो दक्षताको अनुसार मेहनतको अनुसार पारिश्रमिक पाउँदिन । त्यहिकारण पनि यहाँ अभिनय गरेर मात्रै टिक्न नै गार्‍हो छ ।

अन्शुः लामो समयपछि फर्किनुभाछ, आफ्नो कलालाइ मुर्त रुप दिन के गर्नुहुन्छ ?

उषाः म बनेको नै किताबले हो । यति लामो समयपछि फर्किदा दर्शकलाई पनि आशा बढि हुन्छ । त्यसको लागि मैले भरतमणि देखि पुर्वि पश्चिमी दर्शनमा नाटकको बारे पढ्छु । डान्सिङहरु सिकिरहेको छु ।

अन्शुः पछिल्लो समय महिला हिंसाका घटनाहरु एकदमै मिडियामा आइरहेको छ । केही समययता नेपाली सिने जगतमा पनि घरेलु हिंसाको कुराहरु बाहिर आए, तपाईलाई के लाग्छ, महिला हिंसा कम गर्न के गर्नुपर्छ ?

उषाः महिला हिंसा पहिल्यै देखि भइरहेको हो, मेरो बज्यैको पाला देखि, आमाको पाला देखि अहिलेसम्म महिला हिंसा भईरहेकै हो । अहिले जति मिडियामा आउनु पनि मलाई राम्रो लाग्छ, ताली बजाउँछु म यो साहसको लागि । आजको दिन महिलाहरु अगाडि आएर बोल्न सक्ने भएका छन्, यो खुसीको कुरा हो । अनि पछिल्लो समय सिने जगतको कुरा गर्दा मान्छेहरुले जे भए पनि महिलालाई नै गलत देख्छ ।

अरुको छोरी बैनीलाई पर्दा चाहिँ मुखमा पखाला लाएको जसरी ठिक्क पर्यो, त्यस्तै हुनुपर्थ्यो भन्ने अनि आफ्नो आमा बहिनीलाई पर्दा पनि चुप बस्न सक्छ मान्छे ? मान्छेहरुमा अरुको लागि एक थोपा पनि संवेदनशीलता छैन । अगाडि आउनुस्, बोल्नुस्, सबैजना बोल्नुस्, सहेर नबस्नुस् । होहोकार गर्नुस् । अनि बल्ल कान फुट्छ ती शासकहरुको अनि बन्द हुन्छ यो सबै । जुन किसिमले हाम्रो समाज निर्माण भएको छ नि त्यो संरचना नै गलत छ । छोरी साँझ घर बाहिर जान नहुने, कपडाको कुरामा पनि त्यस्तै ।

म आफ्नो स्टोरी सम्झन्छु, म स्कुल पढ्दा बाटोमा हिडिरहदा केही केटाहरुले जिस्क्याए, म सानोदेखि नै नडराउने स्वभावको थिए, फर्केर तिनीहरुलाइ गाली गरें । मैले गाली गरेपछि त तिनीहरु सबै मिलेर मलाई छुने जस्तै गरे । हतारहतार घर गएर मैले मेरो दाइ पर्नेलाइ फोन गरें, मलाई केही केटाहरुले पिछा गरिराछन् मदत गर्नु न भने । दाइले उल्टै मलाई नै तिमी आजकल छोटो कपडा लगाउने, हाल्फ टिसर्टहरु लगाउने भाछौ, तिमी लामो कपडा लगाउने गर भन्नू भो । म त छक्क परें । मलाई यत्तिकै बाटोमा हिड्दा हिंसा भईरहेछ, म नाङ्गै हिडु, कपडा लगाएर हिडु, छोटो कपडा लगाएर हिडु त्यो मेरा बिषय हो । कसैलाइ पनि कुनै हक हुदैन मलाई त्यस्तो व्यवहार गर्न ।
समाजमा हामी महिलालाई कसले प्रोटेक्ट गर्छ ? कस्ले बोल्दिन्छ हाम्रो लागि ? हामी आफ्नो लागि आफै बोल्ने हो । आफै बलियो हुने हो, आवाज उठाउने हो ।

अन्शुः बाह्र बर्ष पहिले नाटक गर्दा र अहिले नाटक गर्दा के फरक पाउनु भाछ ?

उषाः अहिले हामी टेक्निकल हिसाबले धेरै अगाडि छौं । त्यो समय गुरुकुलहरु थियो, अहिले बिल्डिङहरु छन् । अहिले हामी विश्वलाई हातमा लिएर हिडेका छौं । धेरै नयाँ प्रयोगहरु भईरहेको छ । पहिले र अहिले धेरै फरक छन् । हामी पनि अझै तिखारिएर आएको छौं ।

अन्शुः अब अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उषाः बाह्र बर्ष पछि म नाटकमा फर्किएको छु, सर्वनाम थिएटरमा नाटक चलिरहेछ । आउनुस् हेर्नुस् । यो हामी सबैको कथा हो । हामीलाई सल्लाह सुझाब दिनुस् । तपाईंको सल्लाह, सुझाब र मायाले नै हामी अघि बढ्ने हो ।

०००

०००

कविता, कथा तथा सृजनात्मक लेखनमा सक्रिय गोर्खाकी अन्शु खनाल मनोविज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्