Logo

सेटिङमा जम्दै जुवा अखडा श्रीमती कमाउने श्रीमान् उडाउने



Spread the love

३२ साउन, काठमाडौँ । ‘नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चर्चित थियो । जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेका दृष्टान्त धेरै छन् । सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्नुहुन्छ ४० वर्षीया लक्ष्मी । उहाँ दिनको दुई हजारदेखि दुई हजार ५०० आम्दानी गर्नुहुन्छ तर यसरी दुःख गरी कमाएको पैसाले उहाँको श्रीमान्लाई जुवा खेल्नै पुग्दैन ।

उहाँका श्रीमान् रामकृष्ण वानु जुवा खेल्दै गरेको अवस्थामा पटक–पटक पक्राउ परिसकेका छन् तर पनि जुवाको लत हटेको छैन । श्रीमान्को जुवाको लतबाट आजित लक्ष्मी भन्नुहुन्छ, “मैले एक छाक मीठो खान र एक सरो राम्रो लुगा लगाउन पाएको छैन । उहाँ जुवामा पैसा सक्नुहुन्छ ।”

त्यस्तै पीडा छ अर्की महिला रामकलाको पनि । पकनाजोलमा किराना पसल सञ्चालन गरी दुई सन्तानलाई हुर्काउँदै आउनुभएको छ उहाँले । काठमाडाँैंमा घर भएर पनि भाडामा बस्नुको पीडा सुनाउँदै रामकलाले थप्नुभयो, “जुवाडे श्रीमान् राधेश्यामका कारण घर न टहराको बास भएको छ ।”
“महिना नमर्दै घरको भाडा उठाएर जुवा अखडामा धाउँदा–धाउँदा श्रीमान् राधेश्यामले घरसमेत सहकारीको लिलामीमा पारिसकेको रहेछ”, उहाँले भन्नुभयो, “झगडा गरौँ आफ्नै बदनाम, पुलिसलाई भनौँ सात दिनमै छुटेर आउँछ ।” जुवाडे श्रीमान्बाट प्रताडित लक्ष्मी र रामकला केही उदाहरण मात्र हुन् । यस्तो पीडा भोग्नेहरूको समस्या काठमाडौँ उपत्यकामा कहालीलाग्दो छ । विशेषगरी घर–जग्गा दलाल, अवकाशप्राप्त कर्मचारी, वैदेशिक रोजगार व्यवसायी र ढुकुटी खेल्नेहरू केहीमा जुवाको लत बढी देखिएको छ ।

श्रीमतीको कमाइ खोसेर जुवामा उडाउने जुवाडेहरू बढी नै छन् । महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवाली घरकोठा, फ्ल्याट, होटेल, क्याफे र
रिसोर्टहरूमा मिनी जुवा घर सञ्चालन हुन थालेपछि जुवाडेको सङ्ख्या पनि बढ्दै गएको बताउनुहुन्छ ।
अवैध जुवा अखडाले जुवाडे उत्पादन गर्नुका साथै घर परिवारमा विचलन, पारिवारिक द्वन्द्व, झैँझगडा र आर्थिक समस्या बढाएको भनाइ उहाँको छ । रमाइलोका नाममा लत नै बसेर जुवा खेल्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा प्रत्येक हप्ता एक दिन प्रहरीले विशेष सुराकीका आधारमा अवैध जुवा अखडामा छापा मार्ने गरेको छ । यसरी प्रहरीलाई सुराकी दिनेहरूमा पीडित श्रीमतीको सङ्ख्या बढी छ । कतिपय महिला श्रीमान्को बेथिति सहन नसकेर गुनासो बोकेर प्रहरी कार्यालय आउने गरेका छन् । वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवाली भन्नुहुन्छ, “जुवासम्बन्धी कानुन पनि कमजोर भएकाले जुवा खेल्ने र खेलाउनेको मनोबल बढेको हो ।”

पक्राउ परे पनि सात दिन हिरासत बसेर धरौटी तिरेर छुटिहाल्छु भन्ने भ्रमका कारण जुवा अखडा र जुवाडेको सङ्ख्या बढ्दै गएको हो । यो साउनमा काठमाडौँमा सात, भक्तपुरमा दुई र ललितपुरमा दुई स्थानमा गरी ११ वटा जुवा अखडामा छापा मारेको छ । ती जुवा अखडाबाट ९३ जना जुवाडेसहित १३ लाख १६ हजार रुपियाँ बरामद भएको छ ।
त्यस्तै वैशाखदेखि असारसम्म काठमाडौँका ३८ वटा जुवा अखडामा प्रहरीले छापामारी ११३, ललितपुरको पाँचवटा जुवा अखडाबाट ६८ र झक्तपुरको दुई वटा जुवा अखडामा छापामारी २६ जना पक्राउ गरेको छ ।
उनीहरूका साथबाट प्रहरीले ६८ लाख ९८ हजार रुपियाँ बरामद भएको छ । क्यासिनोहरूमा नेपालीको प्रवेशमा कडाइ गरे पनि घर, कोठा तथा फ्ल्याट भाडामा लिएर होटेल तथा रेस्टुराँमा सञ्चालित जुवा अखडामा महिनामा करोडौँको जुवाखेल हुने गरेको छ । कतिपय जुवा अखडा सञ्चालनहरूले प्रहरीसँग सेटिङ मिलाइ जुवा खेलाउने भएकाले छापा मार्न नसकिएको प्रहरीले नै स्वीकारेको छ । याे समाचार आजकाे गाेरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्