Logo

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने



Spread the love

३ भाद्र, भोजपुर – बर्थिङ सेन्टरमा प्रसूति नगराए बच्चाको जन्मदर्ता नहुने भएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे स्वास्थ्य चौकीमा आज बर्थिङ सेन्टरको उद्घाटन भएसँगै यस्तो नियम शुरु गरिएको वडाध्यक्ष गणेशकुमार राईले जानकारी दिए ।

प्रसूति गराउन स्वास्थ्य संस्थामा अनिवार्य रुपमा जान बाध्य बनाउने उद्देश्यले यस्तो नियम लागू गराइएको अध्यक्ष राईको भनाइ छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले घरमै प्रसूति हुनुपर्ने र प्रसूतिका लागि छिमेकी वडा कोट र गोगने धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । आफ्नै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुशी भएका छन् ।

बर्थिङ सेन्टरको स्थापनाले घरमा प्रसूति गराउँदा आमा र शिशुको ज्यान जाने जोखिम पनि कम हुने स्वास्थ्य चौकीले जनाएको छ । उक्त सेन्टर वान हट वल्र्ड वाइड नामक संस्था र वडा कार्यालयको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको हो । सेन्टर सञ्चालनका लागि वनहर्टले रु दुई लाख ५० हजार बराबरको सामग्री प्रदान गरेको छ भने वडा कार्यालयले रु तीन लाख ५० हजार खर्च गरेको छ । वडा कार्यालयले स्वास्थ्य संस्थाका पाँच कर्मचारीलाई कामको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसमेत वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्