Logo

काठमाडौं विश्वविद्यालयमा बेथिति: नियम मिचेर शैक्षिक पदमा नियुक्ति



Spread the love

३ भदौ, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले नियम र प्रक्रिया विपरीत विश्वविद्यालयमा शैक्षिक पदमा नियुक्ति दिएको पाइएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत आह्वान गरिएको विज्ञापनमार्फत पदपूर्तिका क्रममा अनियमितता भएको पाइएको हो । विश्वविद्यालयले गत माघमा शैक्षिक पदको ०३-०७५–०७६ शीर्षकमा खुला प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको थियो । यसक्रममा विश्वविद्यालयले पदपूर्तिको प्रचलित प्रक्रिया र मान्यता विपरीत तीन प्रकृतिका शैक्षिक पदमा नियुक्ति सिफारिस गरेको हो ।

 

विश्वविद्यालयसँग यसबारे सूचना माग गर्दा सूचना उपलब्ध गराउन अस्वीकार गर्दै आएको छ । २७ असार २०७६ मा पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयमा तीन उम्मेदवार छनोट गरिएको थियो । स्रोतका अनुसार स्कुल अफ आर्ट्सका डिनको रुचिअनुसार विश्वविद्यालयले तीन असिस्टेन्ट प्रोफेसर नियुक्त गरेको हो ।
यस क्रममा खुला प्रतियोगिताका स्थापित मान्यतालाई समेत बेवास्ता गर्दै छनोट समितिमार्फत अपारदर्शी ढङ्गबाट वैधानिकता दिएको पाइएकोे छ ।
स्रोतका अनुसार विश्वविद्यालय स्कुल अफ आर्ट्सका डिन सागर शर्माले रजिस्ट्रार सुबोध शर्मा तथा उपकुलपति रामकण्ठ माकाजु तथा छनोट समितिलाई समेत गलत सूचना दिएर आफू अनुकूलका व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गरेका थिए ।

सिफारिस भएसँगै यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विकास अध्ययनमा प्रतिस्पर्धी डा. महेन्द्र सापकोटा र पत्रकारितामा प्रतिस्पर्धी लक्ष्मणदत्त पन्तले विश्वविद्यालयको बदनियतका साथ सिफारिस गरेको भन्दै यसविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका छन् ।
सिफारिसप्रति चित्त नबुझेको भन्दै र पत्रकारितामा प्रतिस्पर्धी पन्तले नियुक्तिसँग सम्बन्धित सूचनाको विवरण माग गरेका थिए । तर, विश्वविद्यालयले सूचना उपलब्ध गराउन अस्वीकार गर्दै आएको छ । पन्तका अनुसार विश्वविद्यालयका सूचना अधिकारी हेमराज काफ्लेसँग सूचना माग गरिएको थियो ।
नियमअनुसार यसरी चित्त नबुझेमा प्रतिस्पर्धीलाई लिखित परीक्षा, पर्फमेन्स टेस्ट र अन्तर्वार्तामा प्रक्रिया तथा अङ्क मूल्याङ्कन सम्बन्धमा सूचना पाउने अधिकार हुन्छ । ‘विश्वविद्यालयले सूचना उपलब्ध गराउन अस्वीकार गरेसँगै अनियमितता भएको पुष्टि भयो,’ पन्तले भने ।

सूचना अधिकारीले सूचना उपलब्ध नगराएसँगै ती अधिकारीलाई कारबाही गरी सूचना उपलब्ध गराइदिन भन्दै कार्यालय प्रमुख तथा उपकुलपति माकाजुसँग सूचना माग गरिएको थियो । कार्यालय प्रमुखले समेत बेवास्ता गरेसँगै पन्तले राष्ट्रिय सूचना आयोगमा उजुरी दिएका थिए । आयोगले आइतबार मात्रै सूचना उपलब्ध नगराउनुको कारण माग गर्दै विश्वविद्यालयको जबाफ मागेको छ ।

विश्वविद्यालय स्रोतका अनुसार विकास अध्ययन विषयमा नियुक्तिका लागि सिफारिस भएका उम्मेदवार विनायककृष्ण थापा स्कुल अफ एजुकेसनअन्तर्गत एक परियोजनामा संलग्न थिए ।
यस शैक्षिक पदका लागि आवश्यक योग्यता अपुग भएपछि शैक्षिक योग्यता पु¥याउन स्कुल तथा विभागले लेक्चररसरहको पदका रूपमा उल्लेख गरी प्रतियोगितामा सामेल गराइएको पाइएको छ ।

पत्रकारिताका लागि सिफारिस भएका उम्मेदवार चण्डिराज दाहाल यसअघि शिक्षण सहायक र लेक्चरमा नियुक्त भएका थिए ।
त्यस्तै, पेन्टिङ विषयमा सिफारिस भएका सागर मानन्धरलाई प्रतिस्पर्धाबिनै सिफारिस गरिएको स्रोतले जनाएको छ ।
सूचना आयोगका आयुक्त किरणकुमार पाख्रेलले सूचना लुकाउने सूचना अधिकारी र प्रमुखमाथि विभागीय कारबाही हुने बताए । उनले भने, ‘आयोगले गरेको फैसलामाथि अटेर गरेमा सम्बद्ध अधिकारीमाथि विभागीय कारबाही हुन्छ ।’ याे समाचार आजकाे राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्