Logo

राजमार्गका विभिन्न खण्डमा विमान अवतरणबारे अध्ययन गरिदै



Spread the love

४ भदौ काठमाडौं ।  सरकारले राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजना अनुसार  सम्भावित खण्डहरुको अध्ययन गर्ने भएको छ ।

 

नेपालगञ्ज–कोहलपुर, बेलहिया–बुटवल, वीरगञ्ज पथलैया लगायतका ६ लेनमा विस्तार भएका र हुँदै गरेका सकडकहरुमा अध्ययन हुने सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको सडक विभागलाई यो कामका लागि सरकारले जिम्मा दिएको छ । जिम्मेवारी पुरा गर्न सडक विभागले तयारी थालेको सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यो कार्यक्रमलाई वार्षिक योजनामा समेटिएको छ ।

‘यो कार्यक्रमका लागि छुट्टै बजेट भने विनियोजन भएको छैन,’सापकाेटाले भने, ‘तर विभागको परामर्श सेवाका लागि विनियोजित बजेट यस काममा खर्च गर्न सकिन्छ ।’

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गका विभिन्न खण्डलाई धावनमार्गका रूपमा प्रयोग गर्ने भनिएको थियो । यस्तो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् ।

नेपालमा एयरपोर्ट र धावनमार्गको निर्माण हेर्ने निकाय नेपाल उड्डयन प्राधिकरण हो । तर, विभागले अहिलेसम्म प्राधिकरणसँग यसबारे छलफल अघि बढाएको छैन ।

‘अहिले हामीले यस्तो धावनमार्ग निर्माणको निर्णय गरिसकेको छैनौं,’ प्रवक्ता सापकोटाले भने, ‘अध्ययनले गर्न सकिने देखियो भने सडकमा धावनमार्ग बनाउने प्रक्रिया सुरु हुन्छ ।’

‘२४ घण्टा नै सवारी गुड्ने राजमार्गमा आपतकालीन अवतरण गराउन जोखिमपूर्ण हुन्छ,’ प्राधिकरण स्रोत भन्छ । राजमार्गलाई धावनमार्ग बनाउँदा कत्रो आकारसम्मको जहाज अवतरण गर्न मिल्ने हो भन्नेदेखि सुरक्षा लगायतका धेरै कुरामा ध्यान दिनुपर्छ । पूर्वसचिव तथा तत्कालीन हवाइ विभागका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतम, राजमार्गमा व्यवसायिक विमान अवतरण गराउन सम्भव नहुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्