Logo

आठ पुस्तादेखि टुक्रे खेती प्रणाली अपनाउँदा ‘दार्मा’ जिल्लाकै दुर्बल गाउँपालिका बन्न पुग्यो



गाउँगाउँमा सिंहदरबार पूर्याउने उद्देश्यका साथ स्थापना भएका स्थानीय तहहरूले गाउँगाउँमा के-कस्ता विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ? जनताको मतद्वारा गाउँको विकास र समृद्धिका लागि भनेर निर्वाचित भएका जन-प्रतिनिधिहरूका चुनावताका योजना के-के थिए ? तीमध्ये के-कति पुरा भए र कति अझ बाँकी छन् ? आमजनताका गुनासा र समस्याहरू कतिको पुरा हुँदै छन् ? जनप्रतिनिधिका समस्या चाहिँ के हुन् ? कुन-कुन कारणले उनीहरूले सोचेअनुसार विकासको गोरेटो कोरिन सकिरहेको छैन ? समाधानको बाटो के ?

यी यस्तै आम-सवालहरू लिएर सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुग्ने लक्ष्य सहित‘जनप्रतिनिधिसँग सल्लेरी खबर’को यात्रा प्रारम्भ गरिसकेको छ । प्रस्तुत छ, कर्णाली प्रदेशमा रहेको सल्यान जिल्लाको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के.सी. सँग गरिएको कुराकानीको संक्षिप्त अंश :

तपाईँको गाउँपालिका सल्यानकै दुर्गम गाउँपालिका मध्ये एकमा पर्छ है…

हो, दार्मा गाउँपालिका सल्यानको सुदुरउत्तरको ग्रामीण क्षेत्रमा पर्छ । कर्णालीको प्रदेश सरकारले सबैभन्दा गरिबीका रेखामुनि रहेका गाउँपालिकाहरूलाई दिने ‘प्रदेश सरकार किसान हातेमालो कार्यक्रम’ गर्दा पनि सल्यानको दार्मा गाउँपालिकाका १० वटा स्थानीय तहमध्येको सबैभन्दा गरिब गाउँपालिकाको रूपमा सूचीकृत भएको छ । यहाँका ३८ प्रतिशत मानिसहरू आज पनि गरिबिको रेखामुनि रहेका छन् । दार्मा गाउँपालिका पूर्वाधार विकास, मानव संसाधन तथा त्यहाँका मानिसहरूको आर्थिक अवस्थाको हिसाबले एवम् मानव विकासको सूचकाङ्कमा अलि पछाडि परेको छ ।

भौतिक तथा आर्थिक कारण हुन् की जनप्रतिनिधिहरू त्यस्तै भएर हो ?

कुनै पनि समाजको अवस्था कमजोर हुनुको कारण उनीहरूको आर्थिक उत्पादन सम्बन्ध र उत्पादकत्व अथवा त्यहाँका व्यक्तिहरूको आम्दानीको श्रोतमा भर पर्दछ । उनीहरूको आय आर्जनको पेसा के छ ? उनीहरूको जीवननिर्भरताको स्रोत के हो ? भन्ने कुरामा निर्भर हुन्छ । समग्रमा २०६८ सालको जनगणना अनुसार १९ हजार ९ सय ६६ जनसङ्ख्या मध्ये ९० प्रतिशत मानिसहरू परम्परागत निर्वाहमुखी कृषि प्रणालीमा निर्भर रहेको बताएको छ । उनीहरू सातौँ आठौँ पुस्तादेखि नै ‘परम्परागत टुक्रे उत्पादन’ सम्बन्धमा आधारित छन् । निर्वाहमुखी खेती प्रणाली मात्रै छ । पशुपालन पनि यसै ढंगको छ ।

किन यस्तो भइरहेको छ ? यसका कारणहरू केके हुन् ?

आठौँ पुस्तादेखि गरिँदै आइएको खेती, पशुपालन तथा आय आय आर्जनको प्रक्रिया नबदलिएको हुनाले यो गाउँपालिका गरिबीमा रहेको छ । उत्पादन सम्बन्ध बदलिएन, उत्पादन गर्ने तरिका बदलिएन, उत्पादनमा क्रान्ति भएन, उत्पादनका निम्ति सङ्घर्ष भएन । पुर्खाले प्रयोग गरेकै गोरु, बिउ-बिजन ,परम्परागत कृषि प्रणाली अपनाउँदा यस समुदायबाट गरिबी हट्न सकेन ।

दार्माबाट गरिबी कसरी हटाउने ? तपाईँको भूमिका बताउनुहोस् ।

यसलाई परिवर्तन गर्न सरकार तथा जनप्रतिनिधिहरूले पहल गर्नुपर्दछ । बदलिन समय पनि लाग्छ । छिटो बदल्ने हो भने त्यही खालको राजनीतिक व्यवस्था हुनु पर्दछ । आर्थिक संरचना पनि त्यही खालको हुनु पर्दछ । मानिसहरूलाई शिक्षित बनाउने, उद्योगधन्दाहरू खोल्ने, प्राविधिक शिक्षा प्रदान गर्ने, रोजगार मूलक शिक्षा तर्फ त्यहाँका मानिसहरूलाई लगाउँदा समस्यामा कमी आउँछ । त्यहाँका मानिसहरू पढ्न भन्दा कामका लागि भारत जाने, निम्न पारिश्रमिकमा श्रम गर्ने गरेको देखिन्छ । यहाँका मानिसहरू प्रहरी तथा सेनामा भर्ना भएको पनि त्यति पाइँदैन । पछिल्लो समय भारत भन्दा अन्य मुलुक जानेको सङ्ख्या बढ्दै गएको छ । त्यस क्षेत्रमा एक जनाले जे गर्‍यो सबैले त्यही अवलम्बन गर्ने चलन रहेको छ । उद्यम भन्दा पनि साना खालका तर एउटै प्रकारका पसलहरू सञ्चालन गर्ने प्रवृत्ति हाबी छ ।

दार्मा गाउँपालिकाका मानिसहरूको आर्थिक स्तर बढाउँदै समृद्धि ल्याउनका लागि हामीले निर्वाहमुखी उत्पादन प्रणालीलाई व्यावसायिक रूप दिँदै उद्यममा बदल्नका लागि हामी आफैले (कृषि तथा पशु सेवा शाखा) वडाहरूमा नमुना फर्महरू बनाएर डेमो देखाएका छौँ । यसका साथै उत्पादकले उत्पादन गरेर सामान्यभन्दा धेरै बिक्री गरेको आधारमा उसलाई प्रोत्साहन स्वरूप थप अनुदान दिने व्यवस्था गरेका छौँ । परम्परागत प्रणालीबाट टाढा हुन तालिम लिएर आउनेलाई सहकारी संस्था मार्फत अनुदान पनि दिने भनेका छौँ ।

कुनै संस्थाहरूको नाम लिन सक्नुहुन्छ ?

साना किसान महिला सहकारी संस्था र ढाकाडाम महिला किसान सहकारी संस्थाहरूले संस्था मार्फत ८ सय सदस्य रहेको भल्चौर सहकारी संस्था र साँढे ६ सय सदस्य सङ्ख्या रहेको ढाकाडाम महिला सहकारी संस्था मार्फत साबुन उद्योग, हुजियारी चलाउने, सिलाई कटाई गर्ने, तरकारी खेती गर्ने लगायत उद्यम मूलक काममा हामीले अनुदान सहित तालिम दिने गरेका छौँ । उत्पादनको बजारीकरीकरण गर्दै बिक्री गर्न पनि हामीले सहयोग गरेका छौँ । दूध उत्पादन गर्ने किसानहरूलाई मिल्क एनलाइजर दिने, भैँसीलाई बाँझोपन लगायत अन्य रोगहरूबाट बचाउनका लागि पशु शिविरहरू सञ्चालन गर्ने, उत्पादन वृद्धिका लागि कृत्रिम गर्भाधान गराउने समेत गरेका छौँ । यस्ता काममा जो समूह सहकारी मार्फत आउँछन् तिनीहरूको समूहलाई नै एउटा समूहमा रहने गरी व्यावसायिक बन्न प्रेरित गर्न आधुनिक औजारहरू प्रदान गर्ने गरेका छौँ ।

दार्मा गाउँपालिका खाद्यान्नमा पनि निर्भर भइसकेको रहेनछ ।

दार्मा गाउँपालिका खाद्यान्नमा अहिल्यै नै आत्मनिर्भर भइहाल्दैन । तर दूधमा भने आत्मनिर्भर हुन सक्छ । सल्यानका अधिकांश स्थानमा दूध पुर्‍याउने दार्मा गाउँपालिकाको वडा नम्बर ५ ढाकाडाम हो । बागचौर लगायत विभिन्न ठाउँमा दूध सप्लाई गर्दै आइरहेको छ ।

कति परिमाणमा जान्छ ?

कति परिमाणमा जान्छ भन्ने शाखा मार्फत बुझ्न सकिन्छ । त्यसको आंकलन अहिले मसँग भएन ।

पशुपालन एवम् कृषि तर्फ ?

यहाँको अर्को राम्रो पक्ष भनेको लोकल खरी जातिको बाख्रा, खसी तथा कुखुराहरू हुन् । यहाँ सिँचाई र उर्वर भूमि भएकाले बेमौसमी तरकारीहरू पनि उत्पादन गर्न सकिन्छ । केही मात्रामा अलैँची र सुन्तला खेती पनि विस्तार भएको छ । “एक घर एक करेसा बारी“ अन्तर्गत प्रत्येक घरले आफूलाई पुग्ने तरकारी आफैँ लगाउनै पर्ने नियम बनाएका छौँ । बिउँविजन प्रदान गरेका छौँ । मान्छेबाट पशुमा र पशुबाट मान्छेमा सर्ने रोगहरू नियन्त्रण गर्नका लागि पनि भर्खरै हामीले अभियान सञ्चालन गरेका छौँ । कृषि र पशुपालनमा कसरी मान्छेलाई व्यावसायिक बनाउँदै उद्यमी बनाउँन सकिन्छ भन्ने तर्फ हामी केन्द्रित छौँ ।

गाउँपालिकामा सडक र बत्तीको अवस्था कस्तो छ ?

सडक र बत्ती अझै पूर्ण रूपमा पुगेको छैन । बाह्रै महिना गाडी चल्नेगरी सडक विस्तार पनि भइसकेको छैन । गाउँपालिकाकै रकम खर्चेर हामीले डबल कटिङको काम पनि गर्याैँ । अन्य सडकहरूको पनि स्तर वृद्धि गर्दछौँ । प्रदेश सरकारसँग सहकार्य गरेर सडक कालोपत्र गर्ने लगायत स्तर वृद्धि गर्ने काम पनि हामीले गर्दछौँ । ट्र्याक ओपन र डबल कटिङ गरेका छौँ । अहिले मात्रै हामीले १ करोड खर्च गरेर ९ किलोमिटर (मौलाहालेबाट फरूलासम्म) सडक डबल कटिङ गर्याैँ । हामीले सडक स्तर वृद्धिका लागि डिपिआर निर्माण पनि गरेका छौँ । डिपिआर तयार भइसकेपछि सङ्घीय र केन्द्रीय सरकारसँग बजेट माग गर्छौँ । अब दार्मा गाउँपालिकाको सिमानाभन्दा १५ किमी टाढासम्म भएको बिजुलीको पोल दार्माको केन्द्रमा हामी ल्याउँदै छौँ । दसैँ र तिहारमा दार्माका केही वडामा हामी बत्ती बाल्नेछौँ । ६ नम्बर वडाको चिप्लेमा हामीले पोहोर नै बिजुली बालिसक्यौँ । ३ वटा नाकाबाट हामीले बिजुली भित्र्याइरहेका छौँ । सडक र विद्युतको क्षेत्रमा हाम्रो पहिलो जोड रहेको छ ।

बिजुली विहीन घरसंख्या कति रहेको छ अहिले ?

दार्मा गाउँपालिकाको ३८१० घरमध्ये ३७ सय घर बिजुली विहीन छ । सय घरमा पनि बिजुली पुगेको छैन । दार्मामा भर्खर बिजुली प्रवेश गर्‍यो । दार्माले खानेपानी, बिजुली र सडकको क्षेत्रमा ठुलो समस्या झेलिरहेको छ । गाउँपालिकालाई नयाँ धार दिने भनेकै विद्युतीकरण र सडक सञ्जालले हो । हामीले बिजुली एउटा अभियानमार्फत प्रदेश सरकार र गाउँपालिकाबाट बजेट विनियोजन गरिसकेका छौँ । सडक, बिजुली र खानेपानीको मात्रै व्यवस्थापन गर्न सक्यौँ भने त्यहाँको समस्या अर्को अध्यायमा प्रवेश गर्छ ।

सूचना प्रविधिको अवस्था कस्तो छ ?

सूचना प्रविधिमा पनि हामी जोडिँदै छौँ । अहिले नेपाल टेलिकमको जिएसएम तथा सिडिएमए दशै प्रविधि चल्न सक्ने भएको छ । हामीले मावि, वडाहरू लगायत केही मुख्य ठाउँहरूमा इन्टरनेट सेवाको पनि विस्तार गरेका छौँ । विद्युत्, सडक र खानेपानीका समस्या हल गर्ने गरी हामी अगाडी बढ्दै छौँ भने कृषिसँग जोडिएको सिँचाइमा पनि हामीले लगानी बढाएका छौँ ।

‘वार्षिक प्रतिवेदन शैक्षिक तथा सामाजिक सुधार वर्ष २०७६’ प्रकाशित गर्नु भएको रहेछ..

शिक्षा र स्वास्थ्यका क्षेत्रमा हामीले द्रुत गतिमा पाइला अगाडी बढाएका छौँ । मान्छेहरूले उत्पादन र आम्दानी गरेर मात्रै हुँदैन । त्यसलाई खर्च गर्न जान्नु पर्दछ भन्ने सामाजिक जागरण सहित ‘शैक्षिक तथा सामाजिक सुधार वर्ष’ मनाइरहेका छौँ । विकास भन्ने बित्तिकै पूर्वाधार निर्माणलाई मात्रै बुझ्ने गरिएको छ । तर, मानिसको विकास सम्बन्धी अवधारणा बदल्नु ठुलो विकास हो । सकारात्मक सोचतर्फ समाजलाई लानु पर्दछ भनेर हामीले नमुना वडा निर्माण भनेर केही बजेट छुट्ट्याएका छौँ । वडाहरूमा एक आपसमा स्वस्थ प्रतिस्पर्धा बनाउने र त्यहाँबाट सुरक्षा लगायत स्वास्थ्यमा पनि समस्या पैदा गरेको मदिराको बिक्री तथा सेवनबाट उत्पन्न बहुविवाह, बालविवाह र सम्बन्ध विच्छेद जस्ता सामाजिक विकृतिहरू हटाउनेमा हामी लागि परेका छौँ । समाजमा रहेको छुवाछुत र विभेदको पक्षमा पनि हामीले विचार पुर्याएका छौँ । यी सबै विषयहरू सामाजिक सुधारसँग जोडिन्छन् । सामाजिक जनचेतना जगाउन ठुलो बजेट पनि लाग्दैन । यसका लागि हामीले युवाहरू, महिलाहरू, आमा समूहहरू, युवतीहरू, नागरिक समाज लगायतलाई परिचालन गरेका छौँ । विकासमा लागि सरकार मात्र नभएर नागरिक स्वयंले पनि सीप, साधन र स्रोत परिचालन गर्नुपर्छ भनेर हामी लागि परेका हौँ ।

सामाजिक र शैक्षिक सुधारमा के-कस्ता कामहरू भएका छन् ?

शैक्षिक क्षेत्रमा परिवर्तन गर्न लागि परेका छौँ । कक्षाकोठामा हुने घोकन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षा तर्फ हामीले सोचेका छौँ । हामीले स्थानीय पाठ्यक्रम पनि बनाउनेछौँ । शैक्षिक पुनर्संरचना कार्यदल बनाएका छौँ । अब यसले काम सुरु गर्नेछ । विद्यालय मर्ज लगायतका काम यो दलले गर्नेछ । शैक्षिक नीति कस्तो बनाउने, शिक्षालाई उत्पादन र रोजगारीसँग कसरी जोड्ने ? भन्ने सम्बन्धमा कार्यदलले काम गर्नेछ । हाम्रो व्यवहार र शिक्षा छुट्टाछुट्टै भएको अवस्था छ । शिक्षकहरू कक्षाकोठामा गएर पुस्तक वाचन गर्ने तरिकामा परिवर्तन ल्याउनु जरुरी छ भनेर हामीले अभियान नै चलाएका छौँ । कक्षाकोठालाई पाठ्यपुस्तक रहित बनाउने भनेका छौँ । शैक्षिक सुधारका लागि कार्यशाला सञ्चालन गरेका छौँ । शिक्षालाई प्रविधि र उत्पादनसँग जोड्ने भनेका छौँ । समग्रमा शिक्षालाई प्रविधि मैत्री बनाउने छौँ ।

सामाजिक सुधार अन्तर्गत हरेक वडाले कुनै न कुनै सामाजिक समस्या मुक्त वडा बनाउने भनेका छन् । बाल विवाह हटाउने, छुवाछुत मुक्त वडा बनाउने देखि लिएर हरित पर्यावरणको विकास गर्ने भन्ने जस्ता पक्षमा हरेक वडा लागि परेका छन् । यसका लागि वडाहरूको प्रस्तावना र कामको आधारमा बजेट दिन्छौँ । भनेको समयमा काम सकेमा प्रोत्साहन स्वरूप थप बजेट समेत दिनेछौँ ।

तपाईँको गाउँपालिकाले अन्य गाउँपालिकाले अनुकरण गर्ने खालका कुनै त्यस्ता कार्यहरू गरेको छ त ?

अढाई वर्षको अवधिमा हामीले दिगो विकासको गुरु योजना निर्माण गर्ने काम गर्याैँ । हामीले अबको निश्चित वर्षमा दार्मा गाउँपालिकालाई कस्तो बनाउने भन्ने गुरु योजना बनाउनु पर्दछ । दार्मा गाउँपालिकाका सडक लगायत भौतिक संरचनाको विकास, समग्र गाउँपालिकाको डिजिटल प्रोफाइल बनाउने जस्ता काममा हामीले अलि बढी समय खर्च गर्याैँँ । विकासमा टेवा पुर्‍याउने चेनतामुलक बहस सञ्चालन पनि भएका छन् । सरकार सञ्चालकनका लागि आवश्यक ऐन नियम, कानुन तथा कार्यविधिहरू निर्माण गर्याैँ । दर्जनौँ कार्यविधानहरु बनाइसकेका छौँ । समाजवादको मर्मलाई छुने खालका कानुनहरू हामीबाट निर्माण भएका छन् । हामीले दार्मा गाउँपालिकामा १७ वटा सोलार लिफ्ट सिस्टममा आधारित खानेपानी आयोजनाहरू निर्माण गर्याैँ । उत्पादन वृद्धिका लागि सिँचाई नहरहरू निर्माण तथा मर्मत गर्याैँ । अब दार्मा गाउँपालिकाको केन्द्रमा हामी बिजुली बाल्ने तयारीमा हामी रहेका छौँ । यो गाउँपालिकालाई टेलिकमसम्म जोड्नमा हाम्रो विशेष भूमिका रह्यो । दार्मा गाउँपालिकाका ६ वटै वडामा सडक ट्र्याकमा स्तर वृद्धि भएका छन् । दार्मा गाउँपालिकाको सदरमुकामसम्म आउने सडकको स्तरवृद्धिमा हामी लागिरहेका छौँ । साउन महिनामा समेत त्यहाँ हाइस चलिरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका सदस्यलाई भत्केका विद्युतका कार्यमा परिचालन गरेका छौँ । १ सय भन्दा बढी सदस्यहरूले त्यहाँ काम गरिरहेका छन् ।

यो सबै असारे विकास ?

होइन, असारे विकास मात्रै होइन । यो सदाबहार चलिरहन्छ । हामी वार्षिक कार्य तालिका अनुसार काम गरिरहेका छौँ । यस वर्षको समेत कार्यतालिका निर्माण भइसकेको छ ।

तपाईँको निजी कार्यतालिका कस्तो रहन्छ ? खानपिन कस्तो छ ? कस्ता मान्छेहरूसँग भेटघाट गर्नुहुन्छ ?

बिहान ५ बजे उठेपछि गीत लगाइ ब्रेक डान्स हानेसँगै मेरो दैनिकी सुरु हुन्छ । एक-डेढ लिटर पानी खाएर नाच्ने गर्छु । स्वस्थ रहन नाच्नु पर्दछ भन्ने मेरो धारणा रहेको छ । नित्यकर्म साँढे ६ सम्ममा सकिसकेपछि नियमित केही समय ब्याडमिन्टनलाई सुम्पन्छु । ब्याडमिन्टनपछि नुहाइधुवाई सकेर भएसम्म उसिनेको अण्डा र दूध खाने गर्छु ।

खानामा मासु भन्दा पनि दुग्ध जन्य पदार्थ नै रुचाउँछु । हरियो सागपात र फलफुल धेरै मात्रामा खाने गर्दछु ।

मलाई मान्छे भेट्न आउने होइन, आवश्यक मान्छेलाई म आफै भेट्न जाने गरेको छु । मलाई भेट्ने उद्देश्यका साथ आउने मान्छे उसको निजी स्वार्थका लागि आएको हुन्छ । मैले भेट्ने मान्छे गाउँपालिकासँग सरोकार राख्ने हुन्छ भन्ने मेरो मान्यता रहेको छ । तर, मलाई भेट्न आउने मानिसलाई पनि मैले समय दिने गरेको छु । उनीहरूको उद्देश्य अनुरूप म उनीहरूसँग प्रस्तुत हुन्छु । म अलि साधारण जीवनशैली व्यक्ति भएको हुनाले आवश्यक पर्दा मानिसहरू भेट्न उनीहरू भएको ठाउँमै समेत पुग्ने गरेको छु ।

साँढे १० बजे अफिस पुगेर शाखाहरूमा कार्य प्रगति विवरण हेर्ने गर्दछु । स्थलगत अनुगमन सहित जनताको घरमा जाने समेत गर्दछु । विभिन्न स्थानमा हुने कार्यक्रममा पनि प्रशस्तै भाग लिने गरेको छु । साँझ साँढे ९ सम्ममा समाचारहरूमा अपडेट भएर सुत्ने गर्दछु ।

कुनै शारीरिक समस्या छन् ?

मलाई १ वर्ष पहिले फ्याटि लिभर थियो । खानामा नियन्त्रण गरेर मैले यसलाई भगाइसके । अहिले म पूर्ण रूपमा स्वस्थ छु । सुर्ती तथा चुरोटजन्य पदार्थमा मेरो लत छैन । कहिलेकाहीँ खाने बियरबाट पनि गएको डेढ वर्षदेखि म टाढा छु । विशेष गरी दही र मोही मलाई मन पर्छ । मकै तथा फापरका परिकारमा ढिँडो मलाई मन पर्ने खाना हो ।

वडा केन्द्रको बारे कुरा गरौँ । वडा भवन लगायतको अवस्था कस्तो छ ?

दार्मा गाउँपालिकाको सर्वसम्मत निर्णय अनुसार केन्द्र वडा नम्बर ३ फारुलाचौरमा रहेको हो । सुरुमा वडा नम्बर ४ को रातामाटामा रहेको थियो । कृषिका लागि बनेको ८ कोठे भवनबाट हामीले कार्य सञ्चालन गरिरहेका छौँ । गाउँपालिकाको नाममा १४ रोपनी जग्गा रहेको छ । यसमा बन्ने साँढे ३ करोडको भवनको डिपिआर समेत निर्माण भइसकेको छ । प्रदेश र संघसँग सहकार्य गरेर हामी त्यो भवन बनाउने तयारीमा छौँ । गाउँपालिकाको सभाहल तथा भाडामा राखेका शाखाहरूका लागि ५ कोठे ट्रस भवनको १ महिनाभित्र निर्माण सम्पन्न गर्दछौँ ।

पर्यटकीय स्थल मालिकाको बारे चर्चा गरौँ ।

झ्वाट्ट हेर्दा तिब्बतको पठार जस्तो देखिने मालिका अत्यन्त सुन्दर ठाउँ हो । निकै समथर भूभाग छ, विमानस्थल सम्म बन्न सक्ने ल्याकत राख्दछ । विभिन्न प्रजातिका रूखहरूको बगैँचा जस्तो त्यहाँ देख्न सकिन्छ । यो धार्मिक आस्थाको केन्द्र पनि हो । नेपाल टेलिकमको टावर तथा बाइफाई टावर समेत रहेकाले यस स्थानलाई सूचनाको केन्द्रका रूपमा समेत हेरिएको छ । द्वन्द्वकालमा शहीदहरूले बलिदान गरेको क्षेत्र समेत हो मालिका ।

सिस्ने देखी हिमालय पर्वत श्रृङ्खला, जुम्ला जाजरकोटको सिमाना तथा जलजला समेत यहाँबाट देख्न सकिन्छ । खैराबाङ पनि यहाँबाट प्रष्टसँग देखिन्छ । चिप्ले तथा झनखालीका लेकहरू पनि पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू मध्येमा पर्दछन् । दार्मा खोलाको फाँट र खाँदी खोलाको फाँट जस्ता उर्वर भूमि पनि यहीँ रहेका छन् । यी ठाउँहरू उत्पादन पकेटको क्षेत्रको रूपमा रहेका छन् ।

दार्मामा अर्गा्निक फलफुल तथा तरकारीका साथै मीठो खुवा खान पाइन्छ । ताजा दूध दही र त्यहाँको लोकल खसीको मीठो मासु त्यही पाइन्छ । खानालाई प्राथमिकता दिने खालको पर्यटनमा हामी केन्द्रित भएका छौँ । कृषि पर्यटनको पनि त्यहाँ प्रबल सम्भावना रहेको छ ।

मालिकाको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाले के गर्दैछ ?

करिब ४० करोडको लगानी लाग्ने संरचनाको डिपिआर हामीले तयार गरेका छौँ । यस क्षेत्रमा चिल्ड्रेन पार्क, पिकनिक स्पट तथा पानी पोखरी लगायतको व्यवस्था गर्ने हाम्रो योजना रहेको छ ।

मलिगाङ गुफाको बारेमा पनि केही बताइदिनुहोस् न..

मलिगाङ गुफा ४ नम्बर वडामा पर्छ । अर्को गुफा ६ नम्बर वडामा भर्खरै पत्ता लागेको छ, दुम्सी भित्र पसेपछि गाउँलेहरूले खोज्दै जाने क्रममा त्यो गुफा पत्ता लगाएका हुन् । हामीले त्यसलाई संरक्षण गर्ने गरी मलिमाङ गुफा भनेका छौँ । त्यसलाई शिव गुफा पनि भन्ने गरिन्छ । भित्र बस्न मिल्ने खालको २ कोठा लामो रहेको यो गुफाको अग्लाई ७ र चौडाइ ८ फिट रहेको छ भने लम्बाई ३० मिटर जति रहेको छ ।

दार्मा नाम कसरी रहन गयो ?

ऐतिहासिक दार्मकोट क्षेत्र पनि यही रहेको छ । ४ सय वर्ष पहिले राहुल राजाहरूले राज्य गरेको ठाउँमा पछि उनीहरूलाई हटाएर चन्द्र राजाहरू आए । राहुलहरूलाई हराएर केदार नाम भएका राजाहरूको राज्य नै पछि गएर दार्मकोट हुन गयो । यसको शाब्दिक अर्थ छैन । “केदार म“ भन्ने शब्द अपभ्रंश हुँदै दार्मा शब्दको निर्माण भएको हो ।

(सम्पादकीय नोटः विकास र समृद्धिसँगै आम जनताका मुहारमा खुसीका रंग फैलाउने जिम्मेवारी लिएर निर्वाचित भएका जनप्रतिनिधिका अनुभूति, समस्या र तिनको समाधानको बाटो समेट्ने हेतुका साथ ‘जनप्रतिनिधिसँग सल्लेरी खबर’ शुरु गरिएको छ ।  यो दोस्रो श्रृङ्खला हो । यस सम्बन्धी तपाईंका केही सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने कृपया हामीलाई [email protected] को ठेगानामा पठाइ दिनुहोला । आउनुहोस् ! सकारात्मक परिवर्तनको यात्रामा हातेमालो गरौं । धन्यवाद !!!)

०००

०००

सम्बन्धित

बढ्दो बसाइँ सराइ र खानेपानीका मुलहरूको अभावले धुर्कोटलाई दुर्बल बनाइरहेका छन्

 

प्रतिक्रिया दिनुहोस्