Logo

थाके फुटबल ब्याकलाइनका पर्खाल कोलका फुटबल बुटहरू



Spread the love

इंग्ल्याण्ड, आर्सनल तथा चेल्सीका लेफ्ट ब्याक आस्ले कोलले फुटबल खेलबाट सन्यासको घोषणा गरेका छन् । डर्बी काउन्टिमा भएको सम्झौता सकिएका कोलले अब खेलबाट विश्राम र प्रशिक्षणबाट नयाँ अध्यायको  सुरूवात गर्ने उत्साहजनक अभिव्यक्ति दिँदै खेलबाट बिदा लिएका हुन् ।

इंग्ल्याण्डका कोलले इंग्लिस क्लब आर्सनलबाट हजारौँ माइल लामो  व्यवसायिक फुटबल यात्राको पहिलो पाइला चालेका थिए । सन् १९९९ मा आर्सनलसँग जोडिएका उनि लोनमा क्रिस्टल प्यालेससम्म पुगे । इंग्लिस डर्बी काउन्टि, चेल्सीसहित इटालियन रोमामा  फुटबलका पर्खाल बनेका उनि अमेरीकन फुटबलमा समेत रमाए । जब खेल जीवनबाट बिट मार्ने समय आयो उनले भने, “अब मेरा बुटहरू थाकिसकेका छन् । अत्यन्तै पीडादायक सोँचपछि मेरा बुटहरूलाई विश्राम दिने निर्णय लिएको छु । अब म पनि खेल जीवनको नयाँ अध्याय शुरू गर्ने प्रतीक्षामा हुनेछु ।“

१९९९ मा आर्सनमा जोडिएका उनले त्यहाँ  ७ वर्ष बिताए । आर्सनल छँदा नै कला तिखार्न उनी १ वर्षका लागि क्रिस्टल प्यालेस पुगे । डिफेन्डरका लागि फ्रन्टलाइनमा जोडिएर पोस्टमा बल छिराउन असहज नै हुन्छ । तर, कोलको गोल आँकडा हेर्दा उनले त्यता तर्फ पनि सहजता पाएका छन् । सन् १९९९ देखि २००६ सम्म आर्सनलको बसाईमा १५६ लिग खेल खेल्दै ८ गोल गरे । त्यसै गरी लोनमा गएको क्रिस्टल प्यालेसको खातामा पनि उनको नाममा १ गोल रहेको छ ।

क्लब परिवर्तन गर्दै क्लबको सफलताको पछाडि हात राख्नु प्रायः सबै खेलाडीको सपना हुन्छ । त्यो सपनाले आस्ले कोललाई पनि नयाँ क्लब नयाँ सपना र नयाँ चुनौतिको सामना गर्न घच्घच्याइरह्यो । सन् २००६मा  ७ वर्षे आर्सनल बसाई अझ त्यो भन्दा पनि फुटबल सिकेको गुरूकुल छोड्दै उनि चेल्सी तर्फ लम्किए । नयाँ चुनौति तथा ट्रफिको स्वाद लिने सपना सजाउँदै चेल्सी पुगेका उनले त्यहाँबाट चुनौतिको प्रशस्त सामना त गरे साथसाथै ट्रफिको स्वाद पनि लिन पाए ।

लण्डनमा जन्मिएका उनले राष्ट्रिय टोली इंग्ल्याण्डबाट १ सय ७ क्याप जितेका छन् । त्यसै गरी इंग्लिस एफए कप सबैभन्दा बढी जित्ने खेलाडी पनि कोल नै हुन् । उनले ७ पटक यो ट्रफि चुमेका थिए ।

आर्सनलमा कोलको बसाई

आर्सनलमा ७ वर्ष बिताएका कोलले २ पटक प्रिमियर लिगको ट्रफि चुम्न भ्याए । २००३–०४ सिजनमा आर्सनल लिगका कुनै पनि खेलमा पराजय नभोगी प्रिमियर लिग च्याम्पियन बन्दा पर्खालको काम गर्ने कोल नै थिए । त्यो समयमा कोलले निभाएको कुशल डिफेन्डरको भूमिकाको अझै केही दशक प्रशंसा पक्कै हुनेछ ।

आर्सनलमा राम्रै सफलता पाएका कोलको अन्त्य अथवा बिदाई भने राम्रो हुन सकेन । २००५ मा ट्रान्सफरको विषयमा कोल र आर्सनलको सम्बन्धमा खटपटको सिर्जना भयो  । विवादमा कोल नै गलत सावित भए । आर्सनलको लिग प्रतिद्वन्द्वी क्लब चेल्सीसँग कानुन विपरीत सरूवाको कुरा अगाडी बढाएको भन्दै उनलाई क्लबले कारबाही गर्ने निर्णय गर्यो । उलाई सो मुद्दामा प्रिमियर लिगले जुन २ २००५ मा  १ लाख पाउण्ड जरिबाना तिर्ने फैसाला सुनायो । कोलसँगै उनका एजेन्ट  जोनाथन बर्नेट र चेल्सीका तत्कालीन् प्रशिक्षक जोसे मौरिन्हो पनि जरिबानाका हकदार भए । चेल्सीले प्रिमियर लिगलाई ३ लाख पाउण्ड बुझाउँदा जोसे मौरिन्हो २ लाख पाउण्ड सजायका हकदार साबित भए । कोलका एजेन्ट जोनाथन त १ लाख जरिबाना सहित १८ महिने लामो प्रतिबन्धमा परे । तर, कोलको जरिबाना भने ७५ हजार पाउण्डमा घटुवा भयो ।

आर्सनललाई उपाधि चुम्न महत्वपूर्ण योगदान पुर्याएका कोलले आर्सनलबाट भने बिदाईको दुःखद स्वाद पाए । जरिवाना तिर्दै चेल्सी पुगेका उनले चेल्सीका लागि पहिलो खेल खेलेपछि भने “आर्सनलले म माथि जुन व्यवहार गर्यो त्यो साह्रै पीडादयक थियो । तर, मैले आर्सनलको यो व्यवहारलाई क्षमा गरिदिँए ।“

चेल्सीमा पनि चम्केका कोल

कला र गलाले उर्वर स्थान पाए अझै उकासिने मौका पाउँछ । कोलको खेल जीवनमा पनि चेल्सी कला उकास्ने मलिलो माटो बन्यो । सन् २००६ मा आर्सनलबाट बिदा हुँदै चेल्सी पुगेका उनले आफ्नो क्षमता र कलामा कुनै कमी हुन दिएनन् । २००६ मा चेल्सीमा आबद्ध भएका उनले २००७ मा नै बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाईटेडलाई पराजित गर्दै एफए कपको उपाधि उठाए । २००८ मा कोलले चेल्सीका लागि पहिलो गोल गरे । सेप्टेम्बर २ २००९ मा कोलले आफ्नो चेल्सी बसाईलाई  ४ वर्ष लम्ब्याए ।

सम्झौता लम्ब्याएको १ वर्ष अर्थात् २०१० मै कोलले चेल्सीबाट एकै वर्ष एफए कप र प्रिमियर लिग जिते । चेल्सीको इतिहासमा यो नै  एकै सिजन  पहिलो डोमेस्टिक डबल थियो । २०१०–११ मा कोल चेल्सीका सबैभन्दा उत्कृष्ट वर्ष खेलाडी घोषित भए । २०१२ मा चेल्सीले जर्मनको बायर्न म्युनिखलाई पराजित गर्दै च्याम्पियन्स लिग जित्दा उनको भूमिका कदर गर्न योग्य थियो । २०१३ को युरोपा लिग चेल्सीको पक्षमा पार्नुमा पनि कोलको अग्रणी भूमिका नै थियो ।  चेल्सीले जितेका उपाधिमा हातेमालो गरेका कोलले २०१३–१४ मा चेल्सीसँग बिदा लिँदै इटालिको उडान भरे ।

रोमा, एलए ग्यालेक्सीपछि डर्बी काउन्टी

केही समय इंग्लिस फुटबलबाट बिदा लिँदै कोल इटालियन फुटबलमा रमाउन इटालीको रोमा पुगे । १०१४ मा रोमा पुगेका उनले त्यहाँबाट २०१६ सम्म खेल प्रस्तुत गरे ।

२ वर्षे इटाली बसाईपछि अमेरिकन फुटबलको मोहले कोललाई डोहोर्यायो । २०१६ मा अमेरीकाको एलए ग्यालेक्सीमा उनी गए । ग्यालेक्सीमा ८९ खेल खेल्दा उनले ३ गोलको योगदान समेत गरे । अमेरीकन फुटबलमा २ वर्ष रमाएर २०१८ मा उनि पुनः इंग्ल्याण्ड नै फर्के ।

१ वर्ष डर्बी काउन्टीमा बिताउँदा उनले चेल्सीकै सहकर्मी फ्र्यांक लाम्पार्डको प्रशिक्षणमा रहँदै सो क्लबलाई इंग्लिस प्रिमियर लिगमा बढुवा गराए । डर्बी काउन्टीलाई प्रिमियर लिगमा पुर्याउन हरदम प्रयास गरेका लाम्पार्ड आफ्नै घर चेल्सी फर्किँदा कोलले भने आरामका लागि केहि समय मैदान बाहिर हुने निर्णय गरे ।

प्रतिक्रिया दिनुहोस्