Logo

डेढ-दुई करोडको हाराहारीमा ‘देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’को लागि बजेट छुट्टिएको छ ।



Spread the love

गाउँगाउँमा सिंहदरबार पुर्याउने उद्देश्यका साथ स्थापना भएका स्थानीय तहहरूले गाउँगाउँमा के-कस्ता विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ? जनताको मतद्वारा गाउँको विकास र समृद्धिका लागि भनेर निर्वाचित भएका जन-प्रतिनिधिहरूका चुनावताका योजना के-के थिए ? तीमध्ये के-कति पुरा भए र कति अझ बाँकी छन् ? आमजनताका गुनासा र समस्याहरू कतिको पुरा हुँदै छन् ? जनप्रतिनिधिका समस्या चाहिँ के हुन् ? कुन-कुन कारणले उनीहरूले सोचेअनुसार विकासको गोरेटो कोरिन सकिरहेको छैन ? समाधानको बाटो के ?

यी यस्तै आम-सवालहरू लिएर सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुग्ने लक्ष्य सहित ‘जनप्रतिनिधिसँग सल्लेरी खबर’को यात्रा प्रारम्भ गरिसकेको छ । प्रस्तुत छ, ५ न. प्रदेशमा रहेको दाङ जिल्लाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर खत्री क्षेत्रीसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

नगरपालिकामा कर्मचारी दरबन्दीको अवस्था कस्तो छ ?

अहिले केन्द्र सरकार र प्रदेश सरकार विभाजन भएको अवस्थामा हामी कहाँ ४० प्रतिशत कर्मचारी दरबन्दीमा रहेका छन् । बाँकी सिट खाली रहेको अवस्था हो अहिले ।

सहर क्षेत्रमा प्लास्टिकहरू थुप्रिने क्रम रोकिएको रहेनछ…

प्लास्टिकजन्य सामाग्रीको अत्यधिक प्रयोग नै लमहीको समस्या हो । जभाभावी प्लास्टिकका फोहोर फाल्दा खेतीयोग्य जमिन प्लास्टिकमय भएको छ। यसका लागि नगरपालिकाले प्लान्ट बनाउने सोच अगाडी बढाएको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले विशेष योजना बनाएको छ। यो लामो समयदेखि चली आएको छ । प्रदेश नम्बर ५ का मन्त्रीहरूसँग हामीले फोहोरजन्य पदार्थ नियमनका लागि सल्लाह समेत गरिरहेका छौँ । अरू देशमा यसको नियमन हुन्छ भने नेपालमा पनि यसको सम्भव छ । हामी अहिले नगल्ने फोहोरलाई रि साइक्लिङ गर्न थालेका छौँ। कतिपय प्लास्टिकजन्य नकुहिने वस्तुलाई हामी कवाडी मार्फत रि साइक्लिङ गर्दै आइरहेका छौँ ।

गत साउन ४ गते विश्वास काष्ठ फर्निचरमा विद्युतको कारण आगलागी हुँदा ६५ लाख बराबरको क्षति भएको रहेछ । विद्युत् सर्ट भएकै कारण नगरपालिकाको लाखौँको क्षति भयो..

यस आगलागी नियन्त्रणमा मेरो पनि प्रत्यक्ष सहभागिता रहेको थियो । दमकल पनि समयमा नै आएको थियो । विभिन्न प्राविधिक कारणले विद्युत् सर्ट हुँदा आगलागी भएको हो ।

नगरपालिकाको जिम्मेवारी के त ? अवस्था सुधार्न आवश्यक छैन ?

आवश्यक किन नहुनु ? छ । हामीले सम्बन्धित पक्षलाई बोलाएर अब यस्ता घटनाबाट सतर्क रहन चेतावनी दिइसकेका छौँ । आगलागीको कारणबारे स्पष्टीकरण दिन हामीले भनेका छौँ ।

नगरपालिका भरीकै विद्युत् आपूर्ति कस्तो छ ?

लोडसेडिङ नभएता पनि ऊर्जामा भने सन्तुलन छैन । कतै धेरै पावर आउँदा कतै कम पावर आएको हुन्छ । ऊर्जा वितरणमा समस्या छ । यसलाई मिलाउनु नै पर्नेछ । हाम्रो तर्फबाट यसलाई हामीले सुधार्दै लगेका छौँ ।

नगरमा के-कस्ता भौतिक संरचनाहरू निर्माण भएका छन् ? निर्माणका लागि कति रकम खर्च भएको छ ?

यस आर्थिक वर्षको कूल बजेट मध्ये ७२ प्रतिशत काम सम्पन्न गरेका छौँ । भौतिक निर्माणका सम्बन्धमा हामी अगाडी नै रहेका छौँ । तलब भत्ताको पैसा अलि कम खर्च भएको छ । भौतिक निर्माणमा मात्रै हेर्ने हो भने ९० प्रतिशत बजेट खर्च भएको छ । नगरपालिका कार्यलयको भवन बन्दै छ, यसका लागि ३ करोडको बजेट विनियोजन भएको छ । ठुलै लागतमा पुल निर्माण भई निर्माणको काम पुरा हुने अवस्थामा रहेको छ । बाटाहरूका काम पनि पूर्ण भएका छन् ।

नगरपालिका सहर तर्फ मात्र केन्द्रित भयो भन्ने आरोप रहेछ । के यो साँचो हो ?

यता भने गाउँ तथा अति विकट स्थानमा मात्र केन्द्रित भयो भन्ने आरोप छ । लमही नगरपालिका वडा नम्बर १ का चित्रापुर र वसन्तपुर पहाडको टुप्पामा पर्छ । त्यो स्थानका मानिसहरूले गाडी चलेको देखेका थिएनन् । अहिले त्यहाँ गाडी चल्ने बाटाहरू निर्माण भएका छन् । हामी पहिलो नगर सभा मार्फत त्यता गयौँ । त्यहाँ स्वास्थ्य केन्द्रको व्यवस्था गर्याै । हजारमा कारोबार हुने त्यहाँको जग्गाको भाउ लाखमा पुगेको छ ।

लमही नगरपालिकाको वडा नम्बर ९ मा पर्ने बजारमा बोतलको पानी खानुपर्ने अवस्था छ । स्वास्थ्य सेवा लगायत कुनै खालका सुविधा थिएनन् । अहिले सबै स्थापना भइसकेका छन् । ५० लाखको लागतमा खाने पानी ट्याङंकी पनि निर्माण हुँदै छ । बर्खामा मात्रै काम गर्ने र बाँकी समय इट्टा भट्टामा काम गर्ने  मानिहरूलाई कुनै सुविधा थिएन । अहिले हामीले त्यो स्थानसम्म बाटो पुर्‍याउने काममा लागेका छौँ ।

तसर्थ सबैभन्दा धेरै भोट आएर जिताएको बजार वडा भन्दा दूर दराजका वडाहरूमा मात्र ध्यान दिनुभयो भन्ने आरोप चाहिँ आइरहेको छ । सन्तुलित विकास तथा नगरपालिकाको अनुभव त्यहाँका मानिसले पनि गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । बजार क्षेत्रमा मात्र केन्द्रित भएको भन्ने आरोप सुन्दा खुसी लाग्यो ।

भौतिक विकासले मात्रै नगरपालिका पक्कै सुध्रिँदैन । जनताको आर्थिक अवस्था सुधारका लागि के-कस्ता कामहरू भएका छन् ?

हामी आर्थिक हिसाबले ‘समृद्ध नेपाल खुसी नेपाली’ भनिरहेका छौँ । भौतिक विकासले मात्रै नगरपालिका पक्कै पनि सुध्रिँदैन । सबै मानिसलाई आर्थिक रूपमा सबल बनाउनु महत्त्वपूर्ण कुरा हो । त्यसका लागि केही कुराहरू गर्नुपर्दछ ।

पहिलो – कृषिलाई व्यवसायमुखी तथा आधुनिकीकरण बनाउनु पर्‍यो । गुजारामुखी कृषिले मात्रै आर्थिक समृद्धि ल्याउँदैन । कम लागतमा कसरी बढी उत्पादन गर्न सकिन्छ भन्ने तर्फ हामीले ध्यान दिएका छौँ । कृषिलाई हामीले यान्त्रीकरण गर्न जरुरी छ । तर, हाम्रा साना खालका जग्गामा यन्त्रहरूको प्रयोग गर्न सकिने अवस्था छैन । यस्तो अवस्थामा यस नगरपालिकाले तटवाबन्दी गर्न चाहनेका लागि दर्ताको प्रक्रिया समेत अगाडी बढाइसकेको छ ।

दोस्रो – नगरपालिकाको धेरै जग्गा राप्ती नदीको ठुलो बगरमा परिणत भएको छ । अब यस बगरमा हामीले बगरे खेती गर्नेतर्फ सोचिरहेका छौँ । बगरमा तरकारी खेती सम्भव छ । फागुनदेखि असारसम्म चाहिएको प्रायशः सबै तरकारी बगरमा फलाउन सकिन्छ । वरिपरि मात्रै नभएर यस्तो तरकारी बाहिर पनि निर्यात भएको छ । यसले यस स्थानका जनताको जीवनस्तरमा केही फरक पारेको छ ।

तेस्रो- हामी बेरोजगार भएका कारणले उत्पादनमूलक काममा केही गर्न  सकेका छैनौँ । घरका सबै मान्छे बेरोजगार हुँदा परिवारमा समस्या उत्पन्न हुने भएका हुनाले हामीले ‘एक घर एक रोजगार’को अवधारणा विकास गरेका छौँ । प्रत्येक घरका कम्तीमा एक जना सदस्य रोजगार हुँदा परिवारमा केही सहज हुन्छ भन्ने यस अवधारणाको मर्म हो । यसका लागि हामीले सिप विकासका लागि १२ सय युवालाई इच्छाएको तालिम प्रदान गरेका छौँ । हामीले युवामाझ सीप भयो भने बेरोजगार हुनु पर्दैन भन्ने चेतनाको सञ्चार गरेका छौँ।

तर यस्तो अवस्था पनि छ – लमही नगरपालिकामा एउटा डोजर छ । तर, त्यसको लाइसेन्स प्राप्त अपरेटर हामीले पाउन सकेका छैनौँ । यस्तो अभाव नहोस् भनेर हामीले केही युवालाई डोजर अपरेटरको तालिम दिएर दक्ष बनाई सकेका छौँ । अब ती युवाहरूले लाइसेन्स पाएपछि त्यहाँ अभाव रहेको जनशक्तिको समस्या हल हुन्छ । यहाँ प्लम्बर, इलेक्ट्रिसियन जस्ता प्राविधिकहरूको अत्यन्त माग रहेको छ । होटेलमा वेटरको अत्यधिक माग भएकाले वेटरको तालिम पनि हामीले गराइरहेका छौँ । हामीले तालिम दिएका १२ सय मध्ये धेरैले काम समेत सुरु गरिसकेका छन् ।

राप्ती नदीमा रातको समयमा बालुवा उत्खनन भइरहेको छ भन्ने खबर पनि सुनिएको छ । के यो साँचो हो ?

केही समय पहिले बालुवा उत्खनन भएकै हो । राती बालुवा उत्खनन भएको थाहा पाएपछि हामी पनि अनुगमनमा गयौँ । धेरै स्थानमा हामीले पक्राउ तथा नियन्त्रण पनि गर्याैँ ।  अहिले खोलामा प्रवेश गर्नै नपाइने भएपछि यो कार्य रोकिएको छ । अहिले वैधानिक ढङ्गबाट समेत खोलामा पस्न पाइँदैन ।

कुकुरको खोर बन्दा ७० हजार लाग्यो भन्ने विवाद चुलिएको  रहेछ । कुरा के हो ?

यो सामान्य भन्दा अर्कै खालको ‘डग स्ल्याब’ भन्ने खोर हो । यो खोरमा कुकुर राखेर उपचार गर्ने पद्धति हो  । यसलाई मान्छेहरूले अतिरञ्जित बनाए । दुई वटा कुकुरको खोर निर्माण भएको छ । कुकुरकै कारण महामारी फैलिन सक्ने भएकाले तीन वर्ष हामी कुकुरहरूलाई बन्ध्याकरण गर्दै छौँ । तीन वर्षसम्म लगातार बन्ध्याकरण गर्दा यसलाई कम गर्न सकिन्छ भनेर हामी यो अभियानमा लागेका हौँ ।

यसका लागि पशु शाखाले दुई वटा खोर निर्माण गरेको थियो । एउटा नगरपालिका र अर्को भेट्नेरीमा छ । मान्छेहरूले एउटा र सानो देखेर अतिरञ्जित गरेको कुरा हो । प्रविधिको प्रयोग भएको यो खोर ३५ हजारमा बन्न गाह्रो छ । केही समय खोरको कुरा उठे पनि पछि यो कुरा  सबैले बुझे । अहिले साम्य भएको छ ।

पर्यटन वर्षको सन्दर्भमा कुरा गरौं । डुमडुमाह मन्दिर, जखेरा ताल जस्ता पर्यटकीयस्थलहरूको संरक्षण र संवर्द्धनका लागि तपाईँहरू के गर्दै हुनुहुन्छ ?

लमही नगरपालिका भित्र यी मात्रै होइन धेरै पर्यटकीय स्थानहरू छन् । धेरै स्थानका मानिसहरू अवलोकनका लागि आउँछन् । यहाँ रहेको सामान्य खालको पोखरीलाई ४५ करोडको मास्टर प्लान बनाएर आकर्षक बनाउनेमा हामी लागेका छौँ । पर्यटनका लागि विभिन्न खाले योजनाहरू हामीले सञ्चालन गरिरहेका छौँ । केही वर्षपछि मानिसहरूलाई एकान्तमा बस्ने खालका पार्कहरू निर्माण गर्ने  सोचमा हामी अगाडी बढेका छौँ ।

विस्टको इतिहाससँग जोडिएको स्थान विहार छ । माघ महिनामा यो स्थानमा हजारौँको सङ्ख्यामा मानिसहरू आउँछन् । त्यो समयमा आउने मानिसलाई एक रात त्यहाँ राख्न सकियो भने धेरै हदसम्म विदेशी मुद्रा आर्जन गर्न सक्छौँ । सङ्घीय सरकार तथा स्थानीय तह सबैले त्यसको विकासका  लागि बजेट हालिरहेका छौँ ।

थारू जातिको महत्त्व बोकेको डुमडुमाह मन्दिरमा नै केन्द्रित हुन पर्दा ?

यो थारू बस्ती हो । डुमडुमाह मन्दिर थारूहरूको आस्थाको केन्द्रको रूपमा रहेको छ । यहाँ थारूहरूका संस्कृति झल्किने खालको सङ्ग्रहालय स्थापना गर्न सकिन्छ । त्यसै गरी किंनियादाव भन्ने छ । यसले पनि आफ्नै किसिमको पौराणिक महत्त्व बोकेको छ । धार्मिक तथा पर्यटकीय स्थलहरूको अध्ययन र समायोजन गर्दै संरक्षण गर्नेतर्फ पनि हामीले सोचेका छौँ । लमहीमा भएका स्थानहरूमा आउने पर्यटकहरूलाई कम्तीमा एक रात बस्न सक्ने वातावरण बनाउन सकियो भने आर्थिक आय आर्जनको एउटा गतिलो आधार बन्छ ।

तपाईँको जीवनशैली, खानपिन कस्तो छ ? कस्ता कस्ता मान्छेहरूलाई भेट्नु हुन्छ ? छोटकरीमा बताइदिनुस् न ।

म एक पशु पालक किसानको छोरा हुँ । ४७ र ४८ सालमा ४० र ४५ वटा भैँसी पाल्थ्यौँ हामी । खानपिन हाम्रो सामान्य खालकै हुन्थ्यो । सुगरको रोगी भएकाले म मासुजन्य खानाहरू खान्न । म बिहान उठ्ने बित्तिकै एउटा स्याउ खान्छु । नियमित ध्यान पनि गर्छु । मर्निङ वाक गएर आएपछि केही समय ब्याडमिन्टन खेल्छु। बिहानमा म सुख्खा रोटी र दूध खाने गर्छु। मेरो बिहानको खाना भनेको मकैको भात हुने गर्छ।अफिस आएपछि खाजा खाने समयमा म सुख्खा रोटी खाने गर्छु । साँझ खाना खाएर समाचारहरूमा अपडेट हुँदै लगभग ११ बजे तीर सुत्ने गर्छु ।

बन्दै गरेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि नगरपालिकाले कति बजेट छुट्ट्याएको छ ?

नगरपालिकाले भन्दा पनि प्रदेश सरकारले पोहोर साल ७५ लाख बजेट छुट्ट्याएको थियो । नगरपालिकाले त बजेट छुट्याको छ नै । नगर विकास समितिको म आफैँ अध्यक्ष भएकाले यसको गुरुयोजनामा राखिएको छ । सङ्घीय सरकारबाट पनि यसपालि १ करोड रुपैयाँ आएको छ । अन्दाजीमा भन्नुपर्दा डेढ-दुई करोडको हाराहारीमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि बजेट छुट्टिएको छ ।

कस्ता खालका भौतिक संरचनाहरू बन्दै छन् ?

अहिले त्यहाँ प्यारफिट, ड्रेसिङ रुम लगायत शौचालयहरू बन्दै छन् ।

यसको सञ्चालन कसले गर्छ ?

अहिलेसम्म यो नगर विकासकै मातहतमा रहेको छ । यसमा नगर विकासकै जग्गा परेको छ । अहिलेसम्म नगरविकासले करोडौँ रुपैयाँ खर्छ गरिसकेको छ ।

निर्माण सम्पन्न हुन लागेको हो की ? बन्दै हो ?

यसको निर्माण सम्पन्न हुन धेरै काम गर्न बाँकी छ ।  ग्राउण्ड निर्माण सम्पन्न भइसकेको छ । अब इन्डोर गेम खेलाउने बिल्डिङ निर्माण, चेन्जिङ रुम निर्माण गर्ने लगायतका थुप्रै काम गर्न बाँकी छ ।

नगरपालिकाको अबको योजनाहरू के-कस्ता छन् ?

लमही नगरपालिकाको सम्भावनालाई अधिकतम उपयोग गरेर समग्रमा बजार र गाउँको सन्तुलित विकास हाम्रो योजना रहेको छ । दुरदराजका मानिसहरूले पनि नगरपालिकाको अनुभूति गर्न पाउन् भन्ने अवधारणाका साथ हामी लागेका छौँ । आर्थिक आय आर्जनका हिसाबले सबैलाई जोड्दै आर्थिक विकास गर्ने र शैक्षिक स्तरमा लमहीलाई माथि ल्याउनका लागि हामी लागि तत्पर छौँ ।

 

(सम्पादकीय नोटः विकास र समृद्धिसँगै आम जनताका मुहारमा खुसीका रंग फैलाउने जिम्मेवारी लिएर निर्वाचित भएका जनप्रतिनिधिका अनुभूति, समस्या र तिनको समाधानको बाटो समेट्ने हेतुका साथ ‘जनप्रतिनिधिसँग सल्लेरी खबर’ शुरु गरिएको छ । यो  तेस्रो  श्रृङ्खला हो । यस सम्बन्धी तपाईंका केही सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने कृपया हामीलाई [email protected] को ठेगानामा पठाइ दिनुहोला । आउनुहोस् ! सकारात्मक परिवर्तनको यात्रामा हातेमालो गरौं । धन्यवाद !!!)

 

सम्बन्धित :-

बढ्दो बसाइँ सराइ र खानेपानीका मुलहरूको अभावले धुर्कोटलाई दुर्बल बनाइरहेका छन् 

आठ पुस्तादेखि टुक्रे खेती प्रणाली अपनाउँदा ‘दार्मा’ जिल्लाकै दुर्बल गाउँपालिका बन्न पुग्यो

प्रतिक्रिया दिनुहोस्