Logo

अस्पताललाई अस्तव्यस्तताबाट मुक्त बनाउनुपर्छ : सांसद गगन



Spread the love

५ भदौं, काठमाडौँ l भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाले गैरकानुनी रूपमा व्यवस्थापन समिति गठन गरेको नेपाली काँग्रेसका सांसद गगन थापाले बताएका छन् l

आज प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै सांसद थापाले नगरपालिकाले गैरकानुनी रूपमा गठन गरेको व्यवस्थापन समितिले अस्पतालमा थप अस्तव्यस्तता र अराजकता सिर्जना गरेको बताएका हुन् ।

सांसद थापाले भने, “भक्तपुर क्यान्सर अस्पताल सामुदायिक अस्पतालका रूपमा रहेको छ । यो अस्पतालमा केही अनियमितता भएको भए यसको छानबिन, दण्ड सजाय गर्ने कानुनको स्पष्ट प्रबन्ध छ । तर, यी सबैलाई कुल्चिएर भक्तपुर नगरपालिकाले अस्पतालको व्यवस्थापन समिति विघटन गरी नगर प्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने कुरा गैरकानुनी छ, यसले अस्पतालमा थप अस्तव्यस्तता र अराजकताको सिर्जना गरेको छ ।”

सरकारलाई तत्काल आवश्यक पहल गरेर सबै पक्षलाई कानुन बमोजिम गर्न लगाउन पनि सांसद थापाले आग्रह गरे l उनले भने, “विषयका सन्दर्भमा सरकारले अबिलम्व आवश्यक पहल गरी सम्बन्धित सबै पक्षलाई कानुन बमोजिम गर्न लगाई अस्पताललाई अस्तव्यस्तताबाट मुक्त बनाउनका निमित्त सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु l”

प्रतिक्रिया दिनुहोस्