Logo

अर्थमन्त्री खतिवडाले भने “विदेशी बैंकमा रकम राख्ने नेपालीको खोजी गर्न कठिन छ”



Spread the love

५ भदौं, काठमाडौँ l विदेशी बैङ्कमा रकम राख्ने नेपालीको खोजी गर्न धेरै कठिन रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् l

आजको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सम्बन्धित देशको सहयोग नपाएसम्म त्यस्ता रकमको खोजतलास पूरा हुन नसक्ने बताएका हुन् ।

सांसद खतिवडाले भने, ‘हामीलाई सूचना सेयर गर्नुपर्ने अन्य संस्थाबाट जबसम्म सहयोग पाउँदैनौंं तबसम्म अनुसन्धान सम्पन्न हुँदैन l सूचना प्रणाली आदान प्रदान प्रणाली सुदृढ भएमा मात्र सम्भव हुन्छ ।’

विदेशी बैङ्कमा नेपाली नागरिकको रकमको खोजी भने गरिरहेको अर्थमन्त्री खतिवडाले बताए l उनले भने, ‘यस सम्बन्धमा अर्थ मन्त्रालयको राजस्व सचिव अध्यक्षतामा राष्ट्र बैक, नेपाल प्रहरी, सम्पत्तिसम्बन्धी वित्तीय जानकारी इकाई सम्मिलित समितिले काम गरिरहेको छ । यसको निरन्तर बैठक बसिरहेको छ, यससम्बन्धी केही तथ्य सत्य बाहिर निकाल्न हामीलाई सम्भव हुनेछ ।’

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री खतिवडालाई काँग्रेस सांसद अतहर कमल मुसलमानले ‘नेपाली नागरिकहरूबाट गैरकानुनी रूपमा स्वीस बैङ्कमा जम्मा भएको देखिएको ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ ?’ भनी प्रश्न गरेका थिए ।

त्यस्तै काँग्रेस सांसद रामबहादुर विष्टले ‘नेपालमा ठाउँ नभएर स्वीस बैङ्कमा राख्ने भाग्यमानी को हुन् र त्यो रकम फिर्ता ल्याउन सक्ने हिम्मत छ कि छैन ?’ भनी प्रश्न गरेका थिए ।

सञ्चार माध्यममा सार्वजनिक भएका नाम नेपालीको नभई नेपालीसँग मिलेको हुन् सक्ने पनि अर्थमन्त्री खतिवडाले बताएका छन् l उनले भने, ‘कतिपय नेपाली मूलका अन्य मुलुकका बासिन्दा पनि हुन सक्छन् । गैर आवासीय नेपाली हुन सक्छन् र नेपाली पनि हुन सक्छन् l नाम मिलेकै आधारमा यति अर्ब विदेशमा छ भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्