Logo

कूटनीतिक मर्यादा उल्लङ्घन नगर्ने भन्दै अध्यक्ष प्रचण्ड र नेपालले जयशंकरलाई भेटेनन्



Spread the love

५ भदौं, काठमाडौँ l सत्तारुढ दल नेकपाका अध्यक्ष ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटेलमा गएर भेट्न नमिल्ने भन्दै भारतका विदेशमन्त्री एस जयशंकरलाई भेटेका छैनन् ।

हिजो मात्रै नेपाल भ्रमणका लागि आएका जयशंकर बत्तिसपुतलीस्थित होटेल द्वारिकाजमा बसेका छन् । भारतका विदेशमन्त्री जयशंकरले नेकपाका अध्यक्ष प्रचण्डलाई र नेता नेपाललाई स्वयं स्थित होटेलमा भेट्नका लागी डाकेका थिए l तर अध्यक्ष प्रचण्ड र नेता नेपालले विदेश मन्त्रीलाई भेट्न जानु कूटनीतिक मर्यादा विपरीत हुने भन्दै भेट्न अस्वीकार गरेका हुन् ।

विदेशमन्त्री जयशंकरलाई अध्यक्ष प्रचण्डले भेट्न नजाने बताए पश्चात् नेता नेपालले पनि सोही आधारमा अस्वीकार गरेको निकट स्रोतले बताएको छ ।

त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उनी स्थित होटेल द्वारिकाजमै पुगेका छन् l

विदेशमन्त्री जयशंकरलाई सभापति देउवाले दिउँसो १२ बजे भेटेका थिए भने बाबुराम भट्टराईले १ बजेतिर भेटेका थिए । विदेशमन्त्री जयशंकरलाई भेट्न भट्टराईसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सँगै गएका थिए ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन हिजो मात्रै काठमाडौँ आएका जयशंकरले पहिलो भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका थिए ।

दुई जनाबीच करिब २ घण्टा भेटवार्ता भएको थियो l प्रधानमन्त्री ओली र जयशंकरको गफगाफ लम्बिएकै कारण बुधवार दिउँसो २ बजे सुरु हुने भनिएको आयोगको बैठक झन्डै २ घण्टा ढिलो भएको थियो l

यसै गरी, भारतका विदेशमन्त्री जयशंकरले बुधवार साँझ राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको टोलीलाई भेटेका थिए भने आज बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन् l

प्रतिक्रिया दिनुहोस्