Logo

भूकम्पले भत्किएको विद्यालय पुनःनिर्माण सम्पन्न, सांसदद्वारा उद्घाटन



Spread the love

५ भाद्र, भक्तपुर – सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित बालशिक्षा आधारभूत विद्यालयको नवनिर्मित चारकोठे भवनको उद्घाटन गरिएको छ ।

विसं २०७२ को भूकम्पले भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन, जिल्ला आयोजना एकाइ भक्तपुरले पुनःनिर्माण गरेको विद्यालय भवनको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले आज उद्घाटन गरे ।

कूल रु ६९ लाख ६९ हजार ६०० को लागतमा विद्यालय भवन निर्माण सम्पन्न गरिएको हो । कार्यक्रममा बस्नेतले भूकम्पपछि भक्तपुरमा विद्यालय, मठमन्दिर, निजी आवासका भवन निर्माणलगायतका क्षेत्रको पुनःनिर्माण कार्य देशकै लागि उदाहरणीय बनेको बताए ।

सूर्यविनायक नगरपालिकाले आफ्नो स्रोत साधनलाई व्यवस्थित तवरले परिचालन गरेको, जनसहभागितामूलक विकासको योजनामा ६०–४०, समपूरक योजनालगायतका धेरै उत्कृष्ट कार्य गरेकोले विकासमा छिटो फड्को मारेको उनको भनाइ थियो । उनले भक्तपुरमा २२ वटा विद्यालय र छ वटा अस्पताल निर्माण भइसकेको जानकारी गराराउँदै अबको शिक्षा सैद्धान्तिकभन्दा पनि व्यावहारिक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकामा भइरहेको सडक, ढल, शिक्षा, स्वास्थ्यलगायतमा उल्लेखनीय प्रगति भएको बताए । कार्यक्रममा प्राधिकरण शिक्षाका कार्यालय प्रमुख भरत श्रेष्ठले भक्तपुरमा भूकम्पले ९७ वटा विद्यालयमा क्षति पुगेको जानकारी गराउँदै आयोजनाले ३२ वटा निर्माण सम्पन्न गरिसकेको र ३५ वटा निर्माणको क्रममा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्