Logo

कथाः एउटा भ्रम



कविता श्रेष्ठ

एउटा घनघोर जङ्गलभित्र एउटा सानो गेट । त्यो गेटबाट भित्र छिरिसकेपछि सानो बाटो । बाटोको छेउमा एउटा खोला बगिरहेको थियो । खोलालाई झाडीले छोपेको थियो । महशुस गर्न सकिन्थ्यो कि त्यहाँ कलकल पानी बगिरहेको छ । घामको किरणले पनि राम्रोसँग छुन नसकेको त्यो ओसिलो बाटो । पहिलो चोटी म त्यहाँ जादै थिए । आकाशको साथमा ।

हामी दुवैको लागि अन्जान थियो त्यो ठाँउ । कसरी पुग्यौँ थाहा थिएन । गेट कटेर पनि हामी निक्कै भित्र पुगिसकेका थियौं । एउटै लहरको बाटो सुनसान र थोरै डरलाग्दो । जति भित्र जान्थ्यौं त्यति मन बेचैन हुँदै थियो । अलि पर एउटा सानो बस्ती देखियो । थोरै मनमा हिम्मत पलायो । त्यत्तिकैमा एउटा नौ–दश वर्षको जस्तो देखिने बच्चा आयो । उसको हातमा एउटा पुरानो जस्तै देखिने किताब थियो । उसले आकाशलाई भन्यो- “अंकल यो किताब पढ्नुस् न, मेरो दादाले लेख्नुभएको । कतिले पढिसक्नुभयो । सबलाई मन परेको छ ।” एउटा मासुम बच्चा थियो ऊ ।

“हो र ! खै देऊ त हेरौँ ।” आकाशले केही नसोची त्यो किताब पढ्न थाल्यो ।

म यताउती हेर्दै थिए । अलि पर एउटा दुईटा आधी भत्किएका घरहरु देखिए । त्यही घर छेउबाट त्यो खोला बगिरहेको थियो ।

खोला पुरै लेउले भरिएको डरलाग्दो थियो । यताउती हेरें तर मलाई त्यहाँ पुरै नकारात्मक फिलिङ्गसहरू आईरहेको थियो ।

म यताउती हेर्दै थिए । अलि पर एउटा दुईटा आधी भत्किएका घरहरु देखिए । त्यही घर छेउबाट त्यो खोला बगिरहेको थियो । खोला पुरै लेउले भरिएको डरलाग्दो थियो । यताउती हेरें तर मलाई त्यहाँ पुरै नकारात्मक फिलिङ्गसहरू आईरहेको थियो । कता कता डर लाग्दै थियो । आकाशलाई हेरें । ऊ किताब पढ्नमा मस्त थियो । तर त्यो बच्चा त्यहाँ थिएन । मैले आकाशलाई सोधें- “आकाश, त्यो बाबु खै ?” उसले जवाफ दिएन । ऊ एकोहोरो किताबमै थियो । “आकाश” फेरि बोलाए । सुनेन । चिच्याएर बोलाएँ- “आकाश ।” ऊ झस्कियो । “त्यो बाबु खै ?”

आकाशले एउटा अपरिचित नजर लगायो म माथी । मानौं उसले पहिलो चोटी हेर्दै छ मलाई । मेरो लागि अनौठो थियो त्यो सब । ऊ केही बोलेन । फेरी किताब पढ्न तिर लाग्यो । त्यो बच्चा कहाँ गयो ? मनमा डर उब्जियो ।

अलि पर एउटा आईमाई ईनारमा पानी भर्न आईरहेको देखेँ र सोधेँ- “दिदी यहाँ एउटा बच्चा थियो कता गएछ ! तपाईले देख्नुभयो ?”

“तिमीहरु यहाँ किन आएको ?” आवाजमा थोरै पनि नम्रता थिएन । “कस्ले देखायो यहाँको बाटो ? यहाँबाट गैहाल तिमीहरु ।”

“किन र दिदी के भयो र ?” मैले यति धेरै रुखो र नमिठो आवाज कहिल्यै सुनेको थिईन ।

उनले भत्किएको घरतिर औँलाले ईशारा गरेर देखाइन । “ऊ त्यो मान्छे देख्दैछौ ?”

पर भत्किएको घरको आँगनमा एउटा मान्छे कट्टु मात्र लगाएर रक्सी खाएर मातिएको अवस्थामा बर्बराई रहेको थियो ।

“हो त्यो मान्छेलाई यहि खोलाले बगाएको थियो । तीन दिन पछि लाश भेटियो ।” आवाज झन डरलाग्दो भयो ।

“के ??? ह्वाट ननसेन्स ?? यस्तो पनि हुन्छ ?” तीनछक परेको थिए म । एकदम अनौठो र अपत्यारिलो कुरा थियो त्यो सब ।

मेरो आँखै अगाडी त्यो जडिया बौलाइरहेको थियो र यो आईमाईले भन्दै थिई कि त्यो मान्छे यहि खोलाले बगाएर मरेको हो । जब म ईनारतिर फर्किए, त्यो आईमाई त्यहाँ थिईन । चारै तिर हेरेँ । दुई मिनेटमै लुक्न सक्ने त्यस्तो कुनै ठाँउ पनि थिएन त्यहाँ । अब मेरो हंसले ठाँउ छोड्यो । एक्कासी पछाडीबाट मेरो कुममा कसैले हात राख्यो, म झसङ्ग भएर पछाडी फर्किए । त्यहाँ अर्को आईमाई थिई । गाउँले भेषमै सारी चोली लगाएको सेतो पटुकी बाँधेको ।

“फेरी तपाई को ?” मेरो अनुहारको रङ्ग पुरै उडिसकेको थियो । शरिर काम्दै थियो । त्यो भत्किएको घरबाट त्यो जडिया पनि गायब भइसकेको थियो ।

“नानी, तपाईहरु यहाँबाट जानुस् । यो ठाँउ तपाईको लागि सुरक्षित छैन । यो तपाईको भन्दा फरक संसार हो ।”

यो आईमाईको आवाजमा भने केही मिठास थियो । “मैले मेरो सबथोक गुमाएको छु यहाँ । नानी त्यो बाबुलाई त्यो किताब पढ्न नदेउ त्यो राक्षसी किताब हो । त्यो किताबले गर्दा कति युवाहरुले यस नदिमा हाम फालेर आफ्नो ज्यान गुमाई सकेका छन् । यहाँ मान्छेहरु होईन, आत्माहरुको बास छ । यहाँका सब कुराहरु भम्र हुन् । तिमीहरुलाई माया मोहमा फसाएर मार्नेछन् । यहाँ कसैको बिश्वास नगर्नू । त्यो किताब यही नदीमा बगाइदेऊ । जस्ले त्यो किताब पढ्छ ऊ बिस्तारै त्यही किताबको वशमा हुन्छ र उसले त्यो किताब बाहेक अरु केही देख्दैन ।”

यसो हेरेँ आकाशलाई ऊ मस्त किताब पढिरहेको थियो । उसको एकोहोरो किताब मै ध्यान थियो । यहाँ भएको क्रियाकलाप प्रति ऊ बिल्कुल बेखबर थियो । अन्जान थियो । मैले के के देखें उसलाई केही थाहा थिएन ।

र किताबमा जे थियो;

केही केटाहरु एक दिन घुम्दै त्यहाँ पुगेछन् । त्यो गेट अलि तल छ । जान चाहनेले मात्र जान सक्छन् । नत्र त्यो जानै पर्ने भन्ने बाटो भने थिएन । तर त्यहाँ जाने जो कोहीलाई पनि यस गेटले बोलाउँथ्यो । त्यो गेटले आफुप्रति लालायित पार्थ्यो । एकदमै फरक थियो त्यो गेट । अनि त्यस भित्रको बाटो त्यो खोला र त्यो झाडीहरु सब नर्मलभन्दा केही फरक थियो । ती केटाहरु हाँसी मजाक गर्दै त्यहाँ पुगेका थिए । एकदुई पाईला गर्दागदै उनीहरु धेरै माथी पुगे त्यही ईनारसम्म । त्यही भत्किएको घरको नजिकसम्म ।

“आज तोप हान्न सही ठाँउ भेटियो यार । यतै डेरा जमाउनु पर्छ ब्रो । माहोल पनि सही छ ।” एकले भन्यो ।

“हो यार, यस्तो ठाउँँमा त म लाईफमा कहिल्यै आएको छैन । कस्तो अमेजिङ यार !” छाती फुलाउँदै लामो स्वास तान्यो ।

तीमध्ये एउटा अलि दुब्लो पातलो थियो । ऊ भने इन्जोय गर्नुको साटो अनुहार मलिन बनाएर बसेको थियो । आखाँको गेडी बेलाबेलामा चारैतिर डुलाउँदै थियो । उसले केही आभाष गर्न भ्याइसकेको थियो ।

“होईन यार यहाँ केही त गडबड छ । मेरो मन मानिरहेको छैन । मलाई त सोलिड नेगेटिभ एनर्जी आउँदैछ यार ।” उसको आवाजमा भय थियो ।

“ला ! एक सर्को तान, अनि सब पोजेटिभ हुन्छ ।” दोस्रो साथीले गाजाँ भरेको चुरोट ऊतिर तेर्सायो ।

“साच्चै भनेको यहाँबाट जाऊँ । हिड् दाई तँ पनि । म त यहाँ बस्दिन अब ।” ऊ फर्किन लाग्दा उसको दाईले समातेर रोक्छ ।

“तँ मुला मेरो भाई भएर पनि यस्तो डराउछस्, तेरो दाइको बहादुरीको इतिहास तलाई थाहा छैन ?” दुई सर्को मै उसको आँखा रातो भइसकेको थियो ।

“तर दाइ यहाँ हाम्रो बहादुरीले चल्दैन जस्तो छ । जाउँ दाइ प्लिज ।” भाइ निकै मलिन भयो ।

एक्कासी उनीहरुको अगाडीको खोलामा एउटा मान्छे बगेर आयो । “ऊ त्यो के हो ?” दोस्रोले खोलामा देखाउँदै भन्यो ।

हेर्दाहेदै खोलामा अरु पनि मान्छे बग्दै आइरहेको देखियो । अचानक त्यो माहोल नै परिवर्तन भयो ।

“मैले भन्दै थिए त यहाँ नबसौं भनेर । मलाई केही ठीक लागिरहेको छैन ।” भाई आत्तियो ।

खोलामा बगेको मानिसहरु डरलाग्दा भएर उभिए उनीहरुको अगाडी । र सबै गेटतिर भाग्न थाले ।

सायदै सम्भव थियो, उनीहरु त्यहाँबाट भागेर जान ।

खोलामा बगेको मानिसहरु डरलाग्दा भएर उभिए उनीहरुको अगाडी । र सबै गेटतिर भाग्न थाले । सायदै सम्भव थियो, उनीहरु त्यहाँबाट भागेर जान । गेट कहाँ थियो त्यसको नाम निसाना नै थिएन । लडाई गर्न कुनै सम्भव थिएन । अन्त्यमा, उनीहरु सबैले हार्नु पर्यो । बग्दै गए त्यही खोलामा । त्यही कथाले उनिएका थियो त्यो किताबका एकएक अक्षरहरु । त्यही भएर जस्ले यो किताब पढ्थ्यो त्यो मान्छे त्यही हराउँथ्यो । यसरी नै त्यो किताबले कतिको ज्यान लिईसकेको थियो ।

आकाश एकोहोरो भइसकेको थियो । मैले केही सोच्नै सकिरहेको थिईनँ । न ती आश्चार्य लाग्दो आईमाईहरु । न त्यो जडिया । न त्यो खोला । न स्टोरी । सबको उल्झनमा परेको थिए म । विश्वास गर्न सम्भव नै भइराखेको थिएन कि कसरी यो सब सम्भव हुँदैछ भन्ने । विश्वास नगरौं त सब आफ्नै आँखा अगाडी भइरहेको थियो । तर मलाई जसरी हुन्छ त्यो किताब खोलामा फ्याक्नु थियो । मैले आकाशको हातबाट त्यो किताब एक झट्का मै खोसेर खोलामा फ्याल्दिए । किताब त खोलामा गयो तर आकाश पुरै बद्ली सकेको थियो ।

“यो के गरिस् तैले ? कस्लाई सोधेर मेरो किताब फालिस् ?” उसको आँखा रिसले रातो रातो भएको थियो । अब मलाई ती भुतहरुसँग होईन, आकाससँगै डर लाग्न थालिसकेको थियो । किनकी ती अदृश्य शक्तिहरुको थोरै शिकार आकाश पनि भइसकेको थियो । बिस्तारै खोलामा मान्छेहरु बगेर आउन थाले र एउटा डर लाग्दो हासो गुञ्जियो । पछाडि फर्किदा त्यही आईमाई थिई ।

“मैले भनेको थिए नि तँलाई कसैको नि विश्वास नगर्नु यहाँ भनेर ! हाँ हाँ हाँऽऽऽ मेरो विश्वास किन गरिस् तैले ? त्यो किताब फ्यालेर ठुलो गल्ती गरिस् । यहाँबाट कसरी निस्कने त्यो सब त्यही किताबमा लेखिएको थियो । हाँ हाँ हाँ..” एउटा असहजिलो हाँसो गुञ्जियो चारै तिर । तर मैले हिम्मत हारिनँ । मैले सुनेको थिएँ, यस्तो नकारात्मक शक्तिहरु निडरहरुमाथि सजिलै हाबी हुँदैनन् । जति डरायो त्यति कमजोर पार्छन् । यदि आज मर्नु नै छ भने पनि लास्ट एक चान्स दिन्छु, आफूले आफूलाई यदि भुत छ भने यो संसारमा भगवान पनि पक्कै छ । यति सोचेर गायत्री मन्त्र गाउँन थाले ।

ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्…

निरन्तर गाइरहे । आकाशको कानमा जोडले भनें गायत्री मन्त्र । मैले रुद्राक्षको माला र बाला लगाउँथे माला निकालेर आकाशलाई लगाई दिएँ । ऊ निन्द्राबाट बिउँझेको जस्तै भयो । उसलाई सब कुरा भनें- ऊ डरायो । तर हिम्मत नहार्ने बाचा लिएँ । “आकाश हामी यहाँबाट जसरी पनि जानुपर्छ । यी दुषित आत्माहरुले हाम्रो केही बिगार्न सक्दैनन् । जाउँ यहाँबाट ।”

हामी त्यहाँबाट बाहिर निस्कियौं । त्यो बेला सम्म हाम्रो पछाडि कोही थिएन । हामी गायत्री मंत्र जप गर्दै त्यहाँबाट निस्कियौं । जति हिड्थ्यौ, त्यो गेट त्यति नै पर जान्थ्यो तर हिम्मत हारेनौ । त्यो गेट पार गर्यौं ।

लाग्यो अब सब ठिक भयो । हामी माथी डाँडातिर लाग्यौं । पहिरो गएको सेतो भिर थियो । हरियालीको नामका एउटा पत्ता पनि थिएन । एकदम उजाड र उराठ लाग्ने भिरको बाटो उकालो चढ्यौं । माथी डाँडामा एउटा पुरानो घर थियो । त्यही घरको छेउको उत्ता पट्टि हरीयाली वन थियो । घर एकापट्टि उजाड मरुभुमी थियो भने अर्को पट्टि हरीयाली । यी सब दृश्यहरु निकै अनौठा थिए हाम्रा लागी ।

त्यो घरको अगाडी बसेर आकाशले हरीयाली वन भएतिर हेर्दै थियो । अचानक एउटा अनौठो मानिस सानोबाट भयङ्कर ठुलो डरलाग्दो भएर आयो । आकाश चिच्याएर भाग्यो । मैले छेउमा पारीजातको फुलहरु झरेको टिपिरहेको थिएँ । अन्जानमै त्यो फुलले मैले त्यो भुतलाई हान्न पुगे त्यो त्यही जलेर भस्म भयो । परबाट फेरी अर्को कोही आउँदै थियो । मैले आफुलाई सम्हाले र अरु फुलहरु टिपेर त्यो हरियालीको एकाछेउमा हाल्दिए । अचानक त्यो हरियो बन सब जलेर भष्म भयो । ठुलो डढेलो लागेर निभेको जस्तो भयो । त्यो हरीयो वन, त्यो बाटो, केही साचो थिएन मात्र एउटा भम्र थियो । खासमा हामीले त्यो गेट पनि पार गरौ या गरेनौ केही थाहा भएन । त्यो वनलाई भष्म पारेर हामी फेरी भाग्यौ । हाम्रो पछाडी झन् ठुलो भुत थियो । त्यस पछि म झसङ्ग भए ।

बिहानको सात बजिसकेको थियो । म असिनपसिन भएको थिए । अनुहारमा एउटा डर थियो । दिमाख पुरै हल्लिएको थियो तर जे थियो सब सपना थियो । सोचें- सकारात्मक कुरामा साच्चै नै ठुलो तागत हुन्छ । भगवानमा ठुलो शक्ति छ । सपना नै सही छ । म भगवानको कारणले बाचें । अब म सधैं भगवानको पुजा गर्छुं अनि भगवानमाथि आस्था राख्छु र हिम्मतिलो बन्छु ।

लेखकबाट थपः

रहरको टिभी

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्