Logo

काठमाडौँ उपत्यकामै डेंगुको महामारी- ५५ जना डेंगु सङ्क्रमित



Spread the love

६ भदौं, काठमाडौँ l काठमाडौँ उपत्यकामा पनि सुनसरी, कास्की, चितवन, मकवानपुर लगायत जिल्लामा महामारी जस्तो देखिएको डेंगुको सङ्क्रमण देखापर्न थालेको छ ।

लामखुट्टेले टोकेपछि सर्ने रोग अहिले काठमाडौँका स्वम्भू, बालाजु, टेकु, लगन, असन लगायत भक्तपुरको लोकन्थलीमा देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा बुधवार ११ जना नयाँ डेंगु बिरामी भर्ना भए । साथै अस्पतालकै दुई जना स्वास्थ्यर्मी सङ्क्रमित छन् ।

विगत वर्षहरूमा असोजबाट सुरु हुने डेँगु सङ्क्रमित यस पटक जेठदेखि नै देखा परेको अस्पतालले जनाएको छ । झुल लगाएर नै बिरामीको जाँच गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

एक्कासि ज्वरो आउने र साथमा टाउको दुख्ने, आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने, ढाड जोर्नी तथा मांसपेशीहरू दुख्ने र शरीरमा बिमिरा आउने लगायत लक्षण सङ्क्रमितमा देखा परेका छन् ।

बुधवारसम्मको विवरण हेर्दा काठमाडौँ उपत्यकामा ५५ जना बिरामी भेटिएका छन् । तर गत वर्ष भने यो रोग १२ जनामा मात्रै देखिएको थियो ।

पानी पर्ने समय बाँकी नै रहेकाले बिरामीको सङ्ख्या अझै बढ्न सक्ने चिकित्सकको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्थानीय तहको सहकार्यमा सरसरफाइको जनचेतना जगाउने काम भइरहेको छ l

गमला, फुल दानी, खाली बट्टा, गाडीका काम नलाग्ने टायर र खाल्डोमा जमेको पानीमा लामखुट्टेले फुल पार्न सक्ने हुँदा त्यस्तो हुन नदिन चिकित्सकहरूको सल्लाह छ । अत्यधिक जनघनत्व भएको काठमाडौँमा एकाएक यति धेरै बिरामी हुनु महामारीकै खतराको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्