Logo

लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्छ : सभापति देउवा



Spread the love

६ भदौं, सुर्खेत l सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

आज वीरेन्द्रनगरमा महाधिवेशन प्रतिनिधिको लागि प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउँदै सभापति देउवाले ओली सरकार पूर्ण प्रजातन्त्रभन्दा भिन्नै बाटोमा हिँडिरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताएका हुन् l

सभापति देउवाले भने, ‘विगतमा हामीले राणा फाल्यौँ, पञ्चायत ढाल्यौँ, राजा फाल्यौँ l अहिले लोकतन्त्र खतरामा परेको छ । हामी सबै मिलेर कम्युनिस्टलाई सिध्याउनुपर्ने बेला आएको छ । अन्तिम धक्का दिन जरुरी छ ।’

कम्युनिस्ट सरकारले देशमा लोकतन्त्रलाई समाप्त पार्दै साम्यवादी व्यवस्था ल्याउने षड्यन्त्र गरेको आरोप सभापति देउवाले लगाएका छन् l

उनले प्रजातन्त्रको लागि पटक पटक जेल जान नपर्ने गरी लडाइँ लड्नुपर्ने बताए l सरकारले लेख्ने अधिकार खोसिरहेको, प्रेस स्वतन्त्रता सम्बन्धी कडा विधेयक ल्याइरहेको बताउँदै सभापति देउवाले आन्दोलन गर्न तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले नेपालमा ओली सरकार आइसकेपछि भ्रष्टाचार बढेको, उपभोक्ता समितिका नाममा बजेट सकिने क्रम बढेको र कर बढाइएको समेत आरोप लगाए l

पार्टीभित्र काम गर्न नदिने प्रचलन बृदी हुँदै गएको बताउँदै सभापति देउवाले भने, ‘निर्वाचनमा जितेको व्यक्तिलाई कम्तीमा निर्धक्क काम गर्ने वातावरण हुनुपर्छ नि ! चुनावमा हारेकालाई कारबाही गर्न दिइएको छैन । कार्यसम्पादन समिति बनाउन सकिएको छैन । नाम दिनुस् भन्दा दिन सकेका छैनन् । अब म एक्लैले भए पनि जिम्मेवारी दिइछाड्छु ।’

सभापति देउवाले पार्टीभित्र एकता नभएकै कारण चुनावमा पराजय भएको बताए l उनले भने, ‘हिजो नेकपा माओवादी र एमाले २ पार्टी थिए, एक भए l ‘तर हामी एकै पार्टी छौँ तर २ पार्टी जस्ता भयौँ र हामीले चुनाव हारेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्