Logo

के यो काठमाडौं भन्न लायकको छ त ?



Spread the love

७ भदौं, काठमाडौँ । कागेश्वरी–मनहरा र शंखरापुर नगरपालिका देशकै राजधानी काठमाडौंभित्रै पर्छ । राजधानीमै पर्ने यी नगरपालिका विकसित होलान्, राम्रा–राम्रा सडक होलान् भन्ने सबैलाई लाग्न सक्छ ।

यस्तो लाग्नु स्वाभाविक नै हो । तर, यथार्थमा यस्तो छैन । शंखरापुरको साँखु चावाहिलबाट मात्रै सोढ १२ किलोमिटर पर्छ । दूरीका हिसाबले यसलाई खासै टाडा मान्न सकिँदैन । तर, त्यहाँ पुग्न घण्टौँ लाग्छ । त्यो पनि सडकको धुलो र जाम त सामान्यजस्तै भएको छ ।

‘हामीलाई कहिलेसम्म सास्ती दिने ?’, साँखुका स्थानीय रोशन आचार्यले भने, ‘काठमाडौंकै ठाउँमा पनि यातायात जाँदैन भन्नु त लाजै लाग्ने भयो । यो ठाउँ त बत्तिमुनिको अँध्यारो जस्तै छ ।’

स्थानीयले साँखुलाई काठमाडौं भन्न पनि लाज लाग्न थालेको बताए । ‘हामीले तिरेको कर कहाँ जान्छ सरकार ? हामीलाई हिलो र धुलोबाट मुक्त भएर हिँड्न देऊ’, स्थानीय मिलन खड्काले भने, ‘यो देशकै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र हो । तर, यहाँको अवस्था यस्तो छ । के यो काठमाडौं भन्न लायकको छ त ?’

सडक खण्ड पाँचवटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको छ । यो सडक निर्माणको जिम्मेवारी युनाइटेड बिल्डर्स, वज्रगुरु, च्याङमिला, खानी, बिरुवा, बिटी, सुनकोसी, वल्डवाइड, लामा, समानान्तरले लिएका छन् ।

०७२ असोज १३ गते लागेको ठेक्काको म्याद दुई पटक थप भइसकेको छ । आयोजनाले अहिलेसम्म ५१ प्रतिशत मात्रै भौतिक प्रगति भएको जनाएको छ । एक अर्ब ७३ करोड ५४ लाख १५ हजार रुपैयाँमा ठेक्का लगाइएकोमा ९५ करोड ४६ लाख ८६ हजार रुपैयाँ ठेकेदारले प्राप्त गरेका छन् । याे समाचार आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्