Logo

सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा अगाडि बढ्यो : संचारमन्त्री बास्कोटा



Spread the love
 

८ भदौं, अर्घाखाँची l अर्घाखाँचीका कर्मचारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न निर्देशन दिएका छन् ।

आज सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बास्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताएका हुन् ।

सर्वसाधारणको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई सञ्चारमन्त्री बास्कोटाले निर्देशन दिएका छन् ।

सरकारले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि नछाड्ने सञ्चारमन्त्री बास्कोटाले बताउँदै देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्दै देशलाई अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै जिम्मा कर्मचारीसँग भएको सञ्चारमन्त्री बास्कोटाले बताएका छन् l

सरकारले कर्मचारीका हकहितमा काम गरिरहेकाले सरकारको समृद्धिको यात्रालाई सफल बनाउने मुख्य काम कर्मचारीको भएको मन्त्री बस्लोताले बताए ।

मन्त्री बास्कोटाले देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा सरकार अघि सरेको उनको भनाइ थियो ।

सरकारले जनताको विश्वास र जनमतलाई आधार मानेर काम गरिरहेको उल्लेख गर्दै गरिबी र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार लागिरहेको पनि संचारमन्त्री बास्कोटाले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्