Logo

अहिले बन्दुक बोकेर लड्ने समय नभएको सांसद गिरीको भनाइ



Spread the love

९ भदौं, काठमाडौँ l नेपाल भारत संयुक्त आयोगको बैठक निरर्थक भएको टिप्पणी नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै सांसद गिरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो बैठकबारे संसदलाई दिएको जानकारी र परराष्ट्र मन्त्रालयको वक्तव्य नमिलेको बताए ।

उनले कालापानी, लिपुलेकबारे कुुरा उठाएँसंगै १९५० सन्धी पुनरावलोकनका लागि दुई देशको सचिव स्तरीय संयन्त्र बनायौँ भनेको स्मरण गर्दै सांसद गिरीले भने, ‘संयोगवश वा नियतवश परराष्ट्रको वक्तव्यमा त्यो छैन ।’

आयोगको बैठक निरर्थक भएको बताउँदै सांसद गिरीले भने, ‘देश बदलिसकेको छ । सरकार बदलिएको छ । यहाँ दुई तिहाईको सरकार आएको छ । हिन्दुस्तानको झन् कुरै नगर्नुस् । तर हामी २ वर्षको तोते बालकले भाषा सिक्ने क्रममा उही शब्द बारम्बार दोहोर्‍याए जस्तो लिपुलेक, सुस्ता, कालापानी, १९५० सन्धीको पुनरावलोकन भनिरहेका छौँ । पुनरावलोकन गर्न कसले रोकेको छ ?’

बहसका क्रममा स्वयंले बाध्य भएर अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कूटनीतिको सिद्धान्त बारे चर्चा गरेको तर यसलाई गलत बुझिएको सांसद गिरीले बताएका छन् ।

सांसद गिरीले भने, ‘मैले त्यहाँ प्रश्न गरेको थिएँ, ठुलो इरादा होला कसैले, भारतको होला, चीनको होला, अमेरिकाको होला । कसैले यस्तो इरादा राख्या भने के गर्ने ? मेरो प्रश्न थियो, विश्लेषण थिएन । जुन प्रकारले तपाईँ सरकार चलाउँदै हुनुहुन्छ, कूटनीतिको गलत समझदारी छ । कूटनीतिलाई नबुझी राजनीति र प्रचारसँग मिसाउनु भयो भने नेपालको भाग्य पशुपतिको नाथमा हात छ l’

अहिले बलभद्र थापा, अमर सिंह थापाहरूले जस्तो बन्दुक बोकेर लडेको समय नभएको सांसद गिरीले बताएका छन् l उनले भने, ‘आज कूटनीतिमा जुन डिजिटल चेन्ज आएको छ, अभूतपूर्व क्रान्ति भएको छ । त्यसको उपयोग हामीले गर्न जानेका छौँ ? आजको सबैभन्दा ठुलो माग छ कनेक्टिभिटी । त्यो हामीले बुझेका छौँ । लफ्फाजी गरेर हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्