Logo

पहिराको जोखिममा बस्ती



Spread the love

१० भाद्र – जिल्लाका अधिकांश स्थानीय तहका बस्तीमा जथाभावी सडक काट्दा पहिराको उच्च जोखिम बढेको छ । लगातारको वर्षा नरोेकिएपछि जिल्लाका धेरैजसो बस्ती पहिराको जोखिममा रहेका छन् ।

बडीमालिका नगरपालिका–५स्थित रुघाखोचा बस्ती पहिराको उच्च जोखिममा रहेको छ । जडाङ्गादेखि मनासम्म जोड्ने सडक निर्माण गरेपछि उक्त बस्ती पहिराको जोखिममा परेको हो । बस्ती माथिबाट नगरपालिकाले सडक निमार्ण गरेकाले उक्त बस्तीमा बसोबास गर्ने स्थानीयलाई ज्यान जोगाउन समस्या भएको छ ।

बस्तीभन्दा माथिबाट भीरमा सडक काटिएको छ । भिरालो चट्टानमा सडक काटिएको हुँदा चट्टान बेला बेलामा खस्ने गरेको बताइएको छ । जीवीकोपार्जनका लागि नगरपालिकाकै मना गाउँ छाडेर व्यावसायिक बन्न रुघाखोचा बस्तीमा बसाइ सरेका चार घरपरिवार अहिले पहिराको डरले रातभर जागराम बस्ने गरेका स्थानीय लोकेन्द्र साउदले जानकारी दिए ।

निर्माण गरिएको सडकबाट ढुङ्गा तथा माटो खसेर खेतीयोग्य जमीनको केही भागमा क्षति भइसकेको र बाँकी रहेको खेतमा पनि क्षति हुने क्रम नरोकिएकाले चिन्तित रहेको स्थानीयवासी सुरत साउदले पीडा पोखे । उक्त बस्तीलाई पहिराबाट जोगानका लागि नगरपालिकासँग आग्रह गरे पनि बेवास्ता गरेको स्थानीयवासीले आरोेप लगाएका छन् ।

वडा नं ५ का वडाध्यक्ष बलबहादुर थापाले बस्तीलाई पहिराबाट जोगाउन पहल भइरहेको बताए । बस्ती नै पहिराको जोखिममा भएकाले अन्यत्र सार्ने गरी नगरपालिकासँग सहकार्य भइरहेको अध्यक्ष थापाको भनाइ छ । जोखिममा रहेका बस्तीको तथ्याङ्क सङ्कलन गरी ति बस्ती सार्न उपयुक्त ठाउँको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्