Logo

विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन नगर्न प्रवक्ता शर्माको आग्रह



Spread the love

१० भदौं, काठमाडौँ l ‘भिडियो कन्फ्रेन्स’मार्फत् नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बसेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् l प्रवक्ता शर्माले आज ट्विट गर्दै ‘भिडियो कन्फ्रेन्स’मार्फत् जोडेर बसेको मन्त्रिपरिषद् बैठकप्रति आपत्ति जनाएका हुन् ।

सरकारमा नेकपा भए पनि सरकार सबै नेपालीको भएको स्मरण गराउँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकलाई नजिर मानेर आगामी दिनमा संसद् र अदालत विदेशबाट सञ्चालन भए पाच्य नहुने टिप्पणी प्रवक्ता शर्माले गरेका छन् ।

प्रवक्ता शर्माले लेखेका छन्, “सरकारमा कम्युनिस्ट पार्टी छ अलग कुरा, तर सरकार त हामी सबै नेपालीको हो । कार्यसम्पादन नियमावली संशोधन गरेर आज कार्यपालिकाको बैठक विदेशबाट चलाइएको नजिर आधार मानेर भोलि सभामुखले संसद् र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाउने कर्म गरे देशलाई त्यो पाच्य होला ?”

प्रवक्ता शर्माले दोस्रो ट्विट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन नगर्नसमेत आग्रह गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, “सम्माननीय @pm_nepal शीघ्र स्वास्थ्य लाभ गरेर स्वदेश फर्कनोस्, जनताले दिएको म्याण्डेड बमोजिम पूरा अवधि सरकार चलाउनोस् । तर, विदेशबाट मन्त्रिपरिषद्को बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउनोस् । विनम्र ढङ्गले गम्भीर विमति ।”

प्रतिक्रिया दिनुहोस्