Logo

उच्च प्रविधिको सदुपयोग होइन दुरूपयोग भयो : सचेतक खाँणले



Spread the love

१० भदौं, काठमाडौँ l सिङ्गापुरबाटै प्रधानमन्त्री कपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत् सोमबारको मन्त्रिपरिषद् बैठक चलाएको विषय संसद्मा पुगेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आजको प्रतिनिधिसभा बैठकमा सहभागिता जनाउँदै प्रविधिको दुरूपयोग गरी भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद् बैठक गरेर जग हँसाउने काम भएकोमा गम्भीर आपत्ति जनाएका छन् ।

सचेतक खाँणले भने, “प्रधानमन्त्रीजी बाहिर जाँदा उहाँको कार्यभार सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्री तोकिएको संसद्मा नै जानकारी सुन्यौँ, भिडियोमा हेर्दा प्रधानमन्त्री कार्यरत नै हुनुहुन्छ फेरि कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको छ । यो मिलेन । यस्ता गम्भीर गल्ती गर्न हुँदैन ।”

भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक चलाउने हो भने महत्त्वपूर्ण सूचनाहरू चुहिने सचेतक खाँणले बताएका छन् l उनले भने, “सूचना चुहिन्छ । प्रधानमन्त्री र मन्त्रीहरूले गोपनीयताको सपथ खान्छन् त्यो पनि लिक हुन्छ, सम्माननीय सभामुखज्यू यहाँ हुनुभएन भने यो बैठक बस्न सक्छ त?”

संवदेनशील कुरामा ध्यान दिन सचेतक खाँणले आग्रह गरेका छन् l खाँणले भने, “मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरिएको छ । यो गम्भीर विषय हो । यसलाई पूर्ववत अवस्थामै फिर्ता गर्नुपर्छ l हाम्रो परम्परा बिग्रन्छ । जग हाँस्ने जस्तै कुरा भयो । उच्च प्रविधिको सदुपयोग होइन दुरूपयोग भयो l”

प्रतिक्रिया दिनुहोस्