Logo

नियन्त्रणमा लिएको ट्याक्टर बुझाइयो



Spread the love

११ भाद्र, खोटाङ – अवैध रुपमा बालुवा निकासी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको नौँ ट्याक्टर सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवाघाट आसपासबाट दूधकोशीको बालुवा निकालेर दिक्तेलतर्फ लैजाँदै गरेको अवस्थामा यही भदौ ४ र ५ गते प्रहरीले नियन्त्रणमा लिएको बालुवासहितको ट्याक्टर मंगलबार फिर्ता गरिएको हो ।

जिल्ला समन्वय समितिको कार्यालयमा जिल्ला अनुगमन समिति, रावाबेँसी गाउँपालिकाका प्रतिनिधि र ट्याक्टर व्यवसायीबीच भएको छलफलमा आगामी दिनमा नदी तथा नदीजन्य पदार्थ अवैध तरिकाले ढुवानी नगर्ने शर्तमा ट्याक्टर फिर्ता गरिएको जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । ट्याक्टर धनीले गाउँपालिकालाई नियमअनुसार राजश्व तिरेर बालुवा ओसारिरहेको पाइएकाले एक पटकलाई जरिवाना नगर्ने तर आगामी दिनमा गल्ती दोहोर्याए पटके कायम गरेर कारवाही गर्ने लिखित निर्णय भएको छ ।

ट्याक्टर चालकलाई भने सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र जिल्ला प्रहरी कार्यालय खोटाङमा राखेर तत्कालै छाडिएको थियो । वातावरणीय प्रभावकारी मूल्याङ्कन (आईईई) नगरी बालुवा निकासी गरेको पाइएकाले प्रहरी लगाएर ट्याक्टर र बालुवा जफत गर्नु परेको समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।

जिल्ला उत्तरी क्षेत्रमा पर्ने दूधकोशीको रभुँवाघाट, जयरामघाट, लुलीमा, हात्तीटार, सुनकोशीको बतासेघाट, फोक्सिङटारलगायतका क्षेत्रबाट आईईई नगरी अनियन्त्रित तरिकाले दैनिक ढुङ्गा, गिटी तथा बालुवा निकाल्ने काम भइरहेको छ । दूधकोशी र सुनकोशीका साथै रावाखोला, साप्सुखोलालगायतबाट समेत आईईई नगरी गिटी बालुवा निकासी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्