Logo

यातायात मन्त्रीकै सवारीमा ट्राफिक प्रहरीको ह्वील लकर, कति भयो जरिवाना ?



Spread the love

 

११ भाद्र, काठमाडाैँ – नेपालमा एउटा  भनाई निकै प्रचलित छ, “पहुँच भएका तथा ठुलाबडाले जे गरे पनि हुन्छ । कारबाही गर्ने कोही छैन ।“ प्राय हरेक क्षेत्रमा यसको प्रयोग पनि भइरहेकै छ ।  तर, आज काठमाडौँमा भएको घटनाले ठुला भनिनेहरूले पनि सजाय पाउनुपर्छ भन्ने कुराको आभास गराएको छ ।

भदौ ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रयोग गर्ने गाडी कारबाहीमा परेको छ । नो पार्किङ जोनमा राखिएको उनको गाडीलाई आज ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएको हो ।

आज दिउसो महासेठले चढ्ने सेतो टोयोटा, बा २ झ ४८६२ नम्बरको सरकारी गाडीलाई नयाँ बानेश्वरमा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेकाले ट्राफिक प्रहरीले ह्वील लक गरेको छ ।

महानगरीय  ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार पार्किङ निषेध गरिएको फुटफाथ एरियामा महासेठको गाडी राखेकाले कारबाहीमा परेको हो ।  गाडीको ह्वील लक गरि गाडीका चालकलाई १ हजार जरिबाना समेत गरिएको छ ।

महासेठका गाडीका चालक शिवराम थापा रहेका छन् । उनै थापाको सवारी चालक अनुमति पत्र लिएर १ हजारको जरिबाना चिट काटेपछि गाडीको ह्वील अनलक गरिएको थियो ।

प्रहरीले बताए अनुसार पार्किङ निषेधित क्षेत्रमा रहेको उक्त गाडीमा मन्त्रि थिएनन् । तर, उक्त गाडी मन्त्रिले नै चढ्ने गरेको पुष्टि भएको छ ।

कारबाहीमा परेको उक्त सरकारी गाडी गृह मन्त्रालयको नाममा दर्ता भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्