Logo

फोटोमा हेर्नुहोस् तीजको रमझम



Spread the love

काठमाडौँ ।  भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको थियो ।

पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको थियो । सबै लाममा महिला भक्तजन मात्र थिए । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियो ।

रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा उल्लासमय उपस्थिति देखिन्थ्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पूजा अर्चनाका लागि पशुपतिनाथ मन्दिरमा पुगेकी थिइन् । हरितालिका तीजको अवसरमा पशपतिनाथको पूजा गर्न  सोमबार बेलुकी सवा ५ बजे पुगेकी हुन् । उनले करिब २० मिनेट मन्दिरमा पूजा अर्चना गरेकी छन् ।

तीजमा पशुपति दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटाएको पशुपति क्षेत्रमा बताएको छ । शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा साना बालबालिकालाई पनि मन्दिरमा नल्याउन साथै बहुमूल्य गरगहना नलगाई आउन कोषले भक्तजनमा अनुरोध समेत गरेको थियो । यद्दपी गरगहनाले सजिसजाउ महिलाहरूको उपस्थिति पनि देखियो ।

पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान  रहेपनि यकिन तथ्यांक पनि प्राप्त भएको छैन ।

पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको थियो  ।

जुत्ता चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ ।

नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको भेटियो  ।

सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक  दिनभर बन्द नगर्ने भनेता पनि आंशिकरुपमा मात्रै कार्यान्वयन भएको पाइयो ।

 

 

 

 

फोटो : शंकर भुजेल

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्