Logo

शिक्षक सुसंस्कृत समाज निर्माणकर्ता हो: कानूनमन्त्री भण्डारी



Spread the love

१८ भाद्र, काठमाडाैँ – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुसंस्कृत समाज निर्माणमा शिक्षकको अहम् भूमिका रहेको बताएका छन् । मंगलबार आयोजित गोठीचौर गाउँपालिका जुम्लाको त्रिभुवन उच्च मावि झारज्वाला माविको स्वर्णजयन्ती समारोहमा उहाँले शिक्षक असल भए मात्र सुसंस्कृत समाज निर्माणमा टेवा पुग्ने बताए ।

“मुलुक हाँक्ने अब्बल जनशक्ति उत्पादन गर्ने शिक्षक महान् व्यक्तित्व हो,” मन्त्री भण्डारीले भने, “शिक्षक सक्रिय र निष्ठावान् नभई समाजमा असल नागरिकको जन्म हुनै सक्दैन ।” उनले अगाडि भपे, “पछिल्लो समयमा समाजका विभिन्न आपराधिक घटनाको जड मदिरा भएको छ । यसको नियन्त्रणका लागि प्रदेश सरकारले अभियानलाई प्रदेशव्यापी बनाउने भएको छ ।”

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले मदिरा, लागुऔषधले समाजको सबै क्षेत्रमा प्रभाव पारेको जनाउँदै यसको रोकथामका लागि निर्बाध लागेको जनाए । मदिराबाट शिक्षा क्षेत्रसमेत अछुतो नरहेको बताउनुभएका उनले शिक्षकलाई विद्यालय क्षेत्र पवित्र मन्दिरका रुपमा स्थापित गर्न आग्रह गरे ।

प्रजिअ दुर्गा बञ्जाडेले शिक्षा क्षेत्रमा चरम राजनीति देखिएको टिप्पणी गरे । बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि राजनीतिक दलदेखि समाजका अगुवा र सबै अधिकारकर्मी तथा सरोकारवालाहरुले बेलैमा ध्यान पुर्याउनुपर्नेमा उनको जोड थियो ।

 

प्रतिक्रिया दिनुहोस्