Logo

भोको !



Spread the love

 


अफिस चाँडो जानु पर्ने भयो, पाकेको भात खान भ्याइएन। अफिसमा कामको चाप यति भइदियो, खाजा खान भ्याइएन। अहिले म बिहान डेरामा पकाएर छोडेको खाना सम्झेर हिँडिरहेको छु। पेट कसैले हानेको ढुङ्गाले लागेर कराइरहेको कुकुरजस्तो कराइरहेको छ। पेट भरी भोक छ र पनि गोडाभरि रफ्तार छ। खाना खान हिँडेको भोकोजस्तो छिटो कोही नहिँड्दो रहेछ। हरकोहिको रफ्तारको राज भोक त हो। कसैलाई के को भोक छ कसैलाई के को। भोक भएर त जिन्दगी छ। भोक नै छैन त के को जिन्दगी ? के को पछि दौडिनु ? के को लागि दौडिनु ? फरक यत्ति हो कि मान्छेलाई सधैँ एउटै कुराको भोक नहुन सक्छ।

अचानक दाहिने गोडा भारी भएजस्तो महसुस हुन्छ। रोकिन्छु। एउटी सत्तरी वर्ष जतिकी वृद्धाले मेरो गोडा च्याप्प समाएकी छिन। “बिहानदेखि केही खाएको छैन हजुर। म त सहिजान्छु। खाएरै पनि कति बाचुँला र ! ऊ..त्यो बालख नातिनीले पनि केही खाएकी छैन। दया देखाइदिनोस् !” मैले केही बोल्नु अगाडी नै बुढी आमा यति बोल्छिन्। “मैले पनि त बिहानदेखि केही खान भ्याएको छैन।” म आमाको हातबाट आफ्नो गोडा तान्दै भन्छु। “नभएर नखानु र नभ्याएर नखानुमा फरक पर्छ नि साहेब ! समस्या कसका हुँदैनन् ? साना मान्छेका साना, ठुला मान्छेका झन् ठुला ! जिन्नकि सप्पै कसले जानेको हुन्छ र ? यत्ति हो, त्यै कुरा आफूलाई पर्दा ठुलो लाग्छ अर्कालाई पर्दा सानो।” अब मबाट आस मारे जसरी आमा मेरो गोडा झ्वाट्ट छोडी दिन्छिन्।

यिनले बिहानदेखि कति जनाको गोडा समाइन् होला ? कतिको वचन सुनिन् होला ? के को लागि ? खानको ? हे भगवान् ! म पर्स निकालेर बुढी आमालाई केही पैसा दिन लागेको हुन्छु। मेरो अगाडी यस्तो घटना घटित हुन्छ जसको परिकल्पना मैले दूर दूरसम्म गरेको छैन, कमसेकम यो समयका लागि। केही अगाडिको बैङ्कबाट बैंककै कर्मचारीजस्तो पोसाकमा एउटी युवती निस्किन्छे। कालो कपाल, गोरो वर्ण, अग्लो कद.., त्यो अनुराधा नै हो। त्यही अनुराधा जो मसँग कलेजमा सँगै पढ्थी, जोसँग म प्रेममा परेँ, जो मसँग प्रेम गर्थी। म सिकारीको बाण लागेर बिथोलिएको मृगजस्तै तितरबितर हुन्छु। बुढी आमालाई हतार हतार पैसा दिएर ऊ सम्म पुग्न खोज्छु।

बाहिर कुरिरहेको कुनै मोटरसाइकलको पछाडि बसेर जान्छे ऊ। मोटरसाइकलको पछाडि बस्न खोज्दा उसको खालि सिउँदो स्पष्ट देखिन्छ। पृष्ठभूमिमा सहरको चर्को ध्वनिसँगै आमाको मसिनो आशिष् गुन्जिँदै छ ( बाबुलाई..सुख शान्ति..परिवार..होस्….सोचेको…आँटेको..दु:ख..भोको…नपरोस्..! मलाई केही वास्ता रहँदैन। एकाएक भोक हराउँछ। कहाँ हो कहाँ बिलाउँछ। मलाई ऊसँग भेट्नु छ। कुरा गर्नु छ। सब पहिलेको जस्तै बनाउनु छ। उसलाई भेट्ने भोक तीव्र भएर आउँछ।

कोठामा पुग्छु। चुलोमाथि पाकेको खाना त्यत्तिकै हुन्छ। मलाई अब भोक छैन। भोक छ त उसलाई भेट्ने, बस्। जुत्ता खोलेर खाटमा पल्टिन्छु र भित्तातिर हेरेर टोलाउँछु। भित्तामा तीन वटा तस्बिरहरू टाँगिएका छन्। पहिलो, जसलाई सबैले भगवान् भनेर पुज्छन्। दोस्रो, जो मलाई जन्म दिएर भगवान् बने र केही वर्षमै पहिलो तस्बिरको भगवानका प्यारा भए। तेस्रो, जसलाई मैले प्रेम गरेँ(अनुराधा)। प्रेम धेरै भएपछि प्रेम नहुँदो रहेछ, भक्ति हुँदो रहेछ। म भक्त भएँ, ऊ भगवान्। बाआमाको तस्बिरमा जस्तै उसको तस्बिरमा पनि हार लगाइदिएको रहेछु। “अब कहिल्यै तिम्रो संसारमा पाइला टेक्ने छैन। तिम्रो लागि मरेँ भनेर सम्झिनु।” यो उसले मसँग अहिलेसम्म बोलेको अन्तिम वाक्य हो। दुई वर्षअघि। म पनि रिसको आवेगमा गर्जिरहेको थिएँ “मर्‍यौ भने मर्‍यौ ! फोटोमा हार चढाई दिउँला ! वाचा भो !” मैले के बोलेको हुँ मलाई होस थिएन तर म वाचाहरू तोड्दिन। अनि ऊसँग सँगै जिउन खाएको वाचा ? उफ्फ !

त्यो दिन ऊ अर्कै मुडमा थिई। घरमा बिहेको कुरा चल्दै रहेछ। एउटा खानदानी परिवारबाट प्रस्ताव आएको रहेछ। घरमा कुरा सकारात्मक भएको उसले बुझी। सरासर मसम्म आएर उसले भनेकी थिई, “अब हामीले बिहे गर्नु पर्छ। तिमी मेरो बाबासँग हात माग्न जाऊ।” यो अरू दिनजस्तो कुनै मजाक नभएको उसको हाउभाउबाट बुझ्न सकिन्थ्यो। “कुन हैसियतले ?” मैले प्रश्न गरेँ। “जुन हैसियतले प्रेम गर्‍यौ !” ऊ बोली। “प्रेम गर्न हैसियत चाहिन्न, बिहे गर्न चाहिन्छ।” म केही हैरान भएँ।

मसँग उसलाई माग्न नजानुको अरू कुनै कारण थिएन, न कुनै समस्या। तर बा आमा नभएको; आफ्ना भन्नेले आफ्ना नमानेको, सहरमा सानोतिनो काम गरेर पढाइ र गुजारा गरिरहेको मैले के आधारमा सहरमा घर भएका उसका बासँग हात माग्न जाउँ ? प्रेम ? के यत्ति काफी छ ? हामीलाई त होला तर उसको परिवारलाई ? म यही अवस्थामा उसको हात माग्न जाँदा अस्वीकार निश्चित प्राय थियो।

निकै बेर छलफल भो, बहस भो, चर्काचर्की भो। म दुई वर्ष पर्खिन अवस्था मिलाउन अनुरोध गर्थेँ। पढाई सकेर राम्रो जागिर खाएपछि हात माग्न आउने कुरा गर्थेँ। ऊ अहिल्यै नगए परिवारबाट एक महिनाभित्र बिहे गर्दिन्छन् भन्ने डरमा थिई। एक पटक आमालाई हाम्रो बारे कुरा पनि गरेकी रहिछ। “मलाई भनिहालिस्, बालाई नभनेस्। राम्रो हुनेछैन। तलाई साह्रै विश्वास गर्नुभाछ।” आमाले भन्नु भएछ। त्यसपछि त झन् छोरीले केही नराम्रो गर्ली भनेर आमालाई पनि बिहे गरिदिन हतार। ऊ साच्चिकै समस्यामा थिई र म साच्चिकै अप्ठ्यारोमा। हामी दुवै सही थियौँ, परिस्थिति अनुकूल भइदिएन।

“विनाशकाले विपरीत बुद्धि” कुरा गर्दागर्दै ऊ रुन्थी, रिसाउँथी। म उसको रिसमा आक्रोश पोख्थेँ। के गर्ने, के नगर्ने थाहा भएन। म उसले भनेका हरेक कुरा खण्डन गर्न थालेँ। के-के भनेँ थाहा भएन। खासमा म सँग रिसाएको पनि थिइन। म आफ्नै अवस्थाप्रति दया लाग्ने भएको थिएँ। आफू गरिब भएकोमा, राम्रो जागिर खान सक्षम नभएकोमा, आफूले प्रेम गरेकी केटी समेत माग्न जान लायक नभएकोमा। तर यो सबै कुरा कहाँ देखिन्थ्यो र ? जीवनका सबका सब भोकहरू आक्रोश बनाएर ऊ माथि पोखेँ।

मेरो दिमाग एक हिसाबले लाटो भइसकेको थियो। रिस बढ्दै गयो र त्यही भयो जे नहुनु थियो। “जान्छु बाआमाले खोजिदिएको सँग अनि हेरेर बस्नु !” ऊ खुब रिसाई। मैले पनि संयमता गुमाएँ “जाऊ जाऊ ! मलाई तिम्रो मुख हेरेर बस्नु छैन !” “अब कहिल्यै तिम्रो संसारमा पाइला टेक्ने छैन। तिम्रो लागि मरेँ भनेर सम्झिनु।” रिस र रुवाइको मिश्रित स्वरमा यति भनेर ऊ निस्किई। हामीले परिस्थितिलाई सहज बनाउन खोजेनौँ। दुवै आफ्नै अडानमा बस्यौँ। र…!

अनि आज ! अचानक ! त्यहाँ ! त्यो अवस्थामा ! ऊ यो दुई वर्ष कहाँ थिई ? कहिले आई ? आएर किन मलाई सम्पर्क गरिन ? के ऊ अझै मसँग रिसाइरहेकी छे ? उसको सिउँदो किन अझै खाली छ ? त्यो मोटरसाइकलमा उसलाई लिन आउने मान्छे को हो ? के उसलाई थाहा छ ऊ गएपछि म उसलाई खोज्न कहाँ-कहाँ गएँ ? के उसलाई थाहा छ कि मैले होश गुमाएर उसलाई बोलेको हर एक वचनले मलाई हरेक दिन पोल्छ र म प्रायश्चितको लागि हरेक दिन तड्पिन्छु ? के उसलाई थाहा छ म अझै आफूलाई उसको भक्त मान्छु र उसलाई मेरो भगवान् ? म जवाफको भोको छु। मसँग प्रश्नहरूको चाङ छ।

ऊ रिसाएर गएपछि उसलाई सम्पर्क गर्ने धेरै कोसिस गरेँ। ऊ पुरै सम्पर्क विहीन भई। मसँग, कलेजका अरू साथीहरू, चिनेजानेका सबसँग। ऊसँग नजिकका साथीहरूबाट घरमा सोध्न लगाउँदा “बाहिर गई, उतै सेटल हुन्छु भन्छे।” भन्ने सुनियो। म उसको न्यानो साथसँग साह्रै नियास्रियें। सधैँलाई उसको साथको भोको भएर रहेँ।

समय पनि ! ऊ सँगै हुँदा उसलाई पाल्न सक्षम थिइन। अहिले पाल्न सक्षम हुँदा ऊ सँगै छैन। साँझ परिसकेको छ। खाना खाने समय भइसकेको छ। पेटमा बिहानदेखि केही परेको छैन। तर अझै खान मन हुँदैन। म अहिले सबैभन्दा बढी प्रेमको भोको छु। उसमा अहिले के-को भोक होला ?

प्रतिक्रिया दिनुहोस्