Logo

कविता नै मेरो जिन्दगी हो ।



कविता नै मेरो जिन्दगी हो ।

वि.स. २०४३ साल मङ्सीर ३ गते चौबिस पारगाना क्यानिङ टाउन, कलकत्तामा जन्मिएकी कवी लता कार्की हाल स्थायी रुपमा इटहरी- ५ सुनसरीमा बसोबास गर्दछिन् । श्री जनता माध्यमिक विद्यालयबाट स्कुल तह(कलेज)को अध्ययन सकेकी कार्कीले  पूर्वाञ्चल विश्वविद्यालय विराटनगरबाट स्नातक तह सकेकी हुन्  ।

उनको उल्टाे पाइला (कविता संग्रह) प्रकाशित छ । लालिगुराँस साहित्य पुरस्कार-२०६०, प्रबाेध साप्ताहिक साहित्य पुरस्कार-२०७३, बाल कविता साहित्य पुरस्कार-२०६३, विमल साहित्य पुरस्कार-२०६७,  प्रगतिशील कविता पुरस्कार-२०७० लगायतका पुरस्कार प्राप्त गरिसकेकी कार्कीले नगर बाल समन्वय समिति सम्मान-२०६९, नेपाल देशभक्त गणतन्त्रिक मञ्च काठमाडौं सम्मान-२०७३ लागयतका सम्मान ग्रहण गरिसकेकी छिन् ।

No photo description available.
लता कार्कीको उल्टो पाइला(कविता संग्रह) ।

प्रस्तुत छ, सर्जक अफ द विकका लागि कवि लता कार्कीसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- एकातर्फ- ‘हाम्रो वर्तमान साहित्यमा पाश्चात्य साहित्यको प्रचुर प्रभाव देखिन्छ, प्रायश: पाश्चात्य र विशेषत: अंग्रेजी साहित्यकेन्द्री प्रभाव । अर्कोतर्फ- बेलाबखत हुनेगरेका समालोचनाहरू समेत अन्त्यमा अंग्रेजी साहित्यसँग तुलना गरेर टुंगिन्छन् ।  नेपाली साहित्यलाई पाश्चात्य साहित्यको कसी लगाउनु जरुरी छ  ? तपाइँको यसप्रति व्यक्तिगत भनाई के छ ? 

कार्की- सर्वप्रथम त सल्लेरी खबरका परिवार र तपाईँ राजु झल्लु प्रसाद प्रति आभारी छु । लागौँ तपाईँको प्रश्नको जवाफ तर्फ;

हो, हामी भित्र बढी पाश्चात्य कुरा नै बढी हाबी छ । साहित्य मात्र नभएर हरेक कुरामा हामी आफ्नो नेपालीपन बिर्सिँदै छौँ । नेपाली साहित्यलाई बिर्सेर हामी पाश्चात्य साहित्य पढेर त्यसैको नक्कल / ठ्याक्कै विदेशी साहित्य, विदेशी परिवेश उतार्न खोज्छौँ । जस्तै – किताबको कभर डिजाइनदेखि लिएर पुस्तकको नामकरण समेत अंग्रेजीमै राखेर बढी बजारीकरण गर्ने र मिडिया बाजी गर्ने गरेको देख्छु । हुँदाहुँदा कतिपय लेखक हुँ भन्नेहरू भाषागत रिसर्च नगरी अङ्ग्रेजी साहित्य पढेर प्रभावित हुन्छन् र नेपालीमा केही कथा / कविता वा आख्यान लेखेर नेपाली पाठकलाई पङ्गु बनाइरहेका छन् । अङ्ग्रेजी साहित्य पढ्ने अनि जस्ताको त्यस्तै या अलिकति बङ्ग्याएर त्यसलाई लिपेर / पोतेर नेपाली साहित्य लेख्ने साहित्यकार धेरै छन् ।

नेपालमा नेपाली साहित्यमा अहिलेसम्म फियर समालोचना गर्न सक्ने समालोचक नै छैनन् भन्न सक्छु । किनकी सृजनाकारलाई पनि प्रशंसा चाहिने । समालोचकलाई पनि लेखकहरू रिसाउँछन् भन्ने लाग्ने । अचेल त्यही भएर केही समालाेचकहरू लेखकलाई माथि उठाइदिने । फलानो लेखक शक्तिशाली / फलानो लेखक यस्तो उस्तो भनेर हुँइया चलाइ दिने । अनि कसरी हुन्छ साहित्यको विकास ?

यदि हामीले सृजनालाई सही दृष्टिकोणबाट हेरिएन भने र विदेशी लेखकका सृजनाबाट प्रभावित भएर नेपाली साहित्यमा नक्कल गर्ने हो भने नेपाली साहित्य धराशायी हुनेछ यसमा दुई मत छैन । तर विदेशी किताब नपढ्नु भनेको चाहिँ हैन । यदि सकिन्छ भने त हरेक भाषाको किताब पढ्दा हुन्छ तर आफूले लेख्दा प्रभावमा रहेर नक्कल चाहिँ गर्न भएन मात्रै भन्न खाजेकाे हुँ । हाम्रो नेपालमा लेख्नलाई प्रशस्तै कथा छन् लेख्नेहरूको लागि, बस् खोज्न नचाहेका मात्रै हुन् । त्यस‌ले यदि हामीले लेखेको साहित्यमा नेपालीपन दिनु छ भने म चाहिँ पाश्चात्य साहित्यको कसी नेपाली साहित्यमा लगाउनु आवश्यक छ जस्तो लाग्दैन । किनभने एक नम्बरको सुनलाई कसी लगाइरहन जरुरत पनि छैन । बस यत्ति हो हामीले सुन र पित्तल चिन्न सकेनौँ । रङ पहेँलो भए पनि सुन- सुनै हो, पित्तल – पित्तल नै हो । मलाई नेपाली साहित्य एक नम्बरको सुन हो भन्दा लाज लाग्दैन ।

राजु- नेपाली साहित्यमा ‘चिन्तनको बटुलाबटुल’ शुरु भएको छ भनेर मान्ने एउटा झुण्ड छ । अहिलेको साहित्य व्यावहारिक र प्रभावपरक समेत नभई  ‘रोनाधोना ‘मात्रै सिमित छ भनेर आरोप लगाउने अर्को झुण्ड छ । खासमा कुरा के हो ? तपाइँ कता पर्नुहुन्छ ? तपाइँको कविताहरू कता पर्छन् ?

कार्की- नेपाली साहित्यमा चिन्तन कम र चिन्ता बढी गरेको पाइन्छ । विचारको लेबल एकातिर छ । साहित्यमा झुण्ड बनाउने र सिन्डिकेट अर्को एक ग्रुप छ । जो अहिले डेङ्गु जस्तै खतरा छ । यो दुई ध्रुवीकरणले साहित्यमा नराम्रो संस्कार बनाउँदै अघि बढेका छन् । चिन्तन छाडेर आफू कसरी चर्चित बन्ने ? कसरी वाहीवाही बटुल्ने यही चिन्तामा तल्लीन छन्- केही नेपाली लेखकहरू, जो नेपाली साहित्यको भाइरस हुन् । यदि यस्तै हुने हो भने नेपाली साहित्य यो भन्दापनि बढी कमजोर वा धराशायी बन्ने खतरा छ ।

मलाई लाग्छ साहित्यले सधैँ देश र समाजमा जरा गडेर बसेका विकृति, विसङ्गति र कुसंस्कारहरू विरुद्ध आवाज उठाइ रहेको हुन्छ तर यहाँ विपरीत के भयो भने पार्टीगत, जातिगत, नातागत र अनुहार हेरिने परिपाटीले एउटा झुण्ड बनाएर साहित्य सृजना गरिरहेका छन् । जसले गर्दा नेपाली साहित्यमा नयाँ आयाम देख्न सकिरहेका छैनौँ ।

म र मेरा कविता चाहिँ यो झुण्डबाट टाढै छ। म झुण्ड, गुट उपगुट मन नपराउने मान्छे हुँ । एक त म कविता कमै लेख्छु। कविता यति बेला फुर्छ भन्ने पनि छैन । जतिखेर मनमा फुर्छ, त्यति बेला लेख्छु तर झुण्डभन्दा टाढा रहेर । यति बुझाैँकी म कविता आत्मसन्तुष्टि र अरूबाट ‘वाहवाह !’ पाउनलाई लेख्दिनँ ।

मलाई लाग्छ मेरो कविताले अहिलेको युग र भोलिको पारदर्शिता देख्नुपर्छ र नेपाली साहित्य विचारधाराबाट समाजमा आफ्नो उत्पीडन वर्गले न्याय पाउनु पर्छ भन्ने लाग्छ । यति सम्झिनुस् म कुनै पनि गुट उपगुट र कसैको प्रलोभनमा नफस्ने मान्छे हुँ र साहित्यलाई शिरमा राखेर सङ्घर्ष गरिरहेको एउटा नारी हस्ताक्षर हुँ ।

राजु- भनिन्छ – ‘समालोचनालाई सिर्जना चाहिन्छ औ सिर्जनालाई पनि समालोचना  चाहिन्छ। एउटाको अनुपस्थितिमा अर्कोको पनि अस्तित्व रहँदैन।’ तपाइँ आफूले कविता लेखिरहेको यस समयमा उभिएर बोल्नुपर्दा यसबारे कसरी (के) बोल्नुहुन्छ ?

कार्की- वास्तवमै भन्नू पर्दा समालोचनाले सृजनालाई र लेखकको कमजोरीहरूलाई प्रष्ट भन्न सक्नुपर्छ तर नेपाली साहित्यको परिवेशलाई नियाल्ने हो भने समालोचना गर्ने सक्ने खुबी भएका समालोचक नै छैनन् भन्दा फरक नपर्ला कि ? र, भएकाहरू पनि पैसामा समालोचना गर्ने भएपछि अलिअलि नुनको सोझो त गर्ने भई हाले नि ! त्यही भएर पैसा दिनेको सृजनामा ‘वाह !’ भन्दिन्छन्. नदिनेको सृजनालाई जिरो बनाईदिन्छन् ।

फेरि समालोचना नै पनि त अन्तिम सत्य हैन । मलाई लाग्छ,  कुन कुन पार्ट बलियो छ, कुन कुरा कमजोरी भयो भनेर प्रष्ट समालाेचकीय धारणा प्रस्तुत गर्न सक्ने खुबी भएकाहरू नै सच्चा इमान्दारीता समालोचक हुन् । यसरी उचालेर लेखिदिने वा बोलिदिने हो भने लेखक बिग्रने ठुलै सम्भावना हुन्छ । सृजना र समालाेचककाे विचारको स्तर, उस्तै हाइट छ भने मात्रा बहस गर्न जरुरी छ । र समालोचना गर्नु अघि पनि लेखक स्वमयलाई पढ्न जरुरत छ ।

अहिलेको परिवेश नै हेर्ने हो भने नेपाली साहित्यमा मन लाग्दी भयो । नत्र त विश्व बजारमा पनि नेपाली साहित्य पुग्थ्यो नि ! नेपाली साहित्यले विश्व बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्न मिल्दैन तर नेपाली साहित्यलाई विश्व सामु पुर्‍याउनको लागि मिडियाको ठुलो हात चाहिन्छ तर नेपाली मिडियाले मानौँ नेपालमा प्रख्यात राष्ट्रिय दैनिक पत्रपत्रिकामा आवद्ध केही पत्रकारहरू कवितालाई हेर्दैनन् । अनुहारलाई हेर्छन् । त्यसमा पनि महिला कविहरूलाई त झनै गाह्रो छ । किनकी अनुहार हेर्छन् । जिउडाल हेर्छन् । हामीबाट के लिन सकिन्छ त्यो हेर्छन्, यदि इन्कार गर्‍यो भने कविता छाप्नै नचाहने । यस्ता छन् एकाध पत्रकारहरू । बरु म कविता पत्रिकामा छपाउन चाहन्न म यस्ता घृणित कामबाट टाढै बस्न चाहन्छु । किनकी म सबथाेक त्यागेर साहित्यमा लागेको मान्छे हुँ । बस्, यति के बुझौँ भने समालोचना नै पनि त अन्तिम सत्य हैन नि !

राजु- कविता कसरी लेख्दै हुनुहुन्छ ? कविता यात्रा कसरी शुरु भयो ? थोरै बताउनुस न !

कार्की- म अहिले नेपाली कवितामा नयाँ नयाँ प्रयोगहरू गर्न खोज्दै छु । कविताले किन पाठकको औसत मनलाई र चिन्तनलाई मात्र तान्छ ? कविताको पाठक किन सीमित घेरा भित्र छन् ? कविता जुन वर्गका लागि लेखिरहेका छौँ, ती वर्गहरू कविताको चेतनाबाट परै छन् ।

म आफैँ पनि भुईँमान्छे हुँ । मानौँ भुईँफुट्टा कवि हुँ । म आफूलाई यहीँ हुँ जस्तो लाग्छ किनकि मैले कसैको सृजना र जीवनशैलीको प्रभावबाट कविता लेखेको हैन । मैले त्यो दिनदेखि कविता लेख्न शुरु गरेँ, जुन दिन मैले आफूलाई भुईँमान्छे त म पनि पो रहेछु भन्ने बोध भयो । मलाई अझैँ पनि भुईँमान्छेकाे कथाले रातदिन पिरोल्छ र कविता लेख्छु ।

कविता नै मेरो जिन्दगी हो । त्यही भएर म बन्द कोठा भित्र लेखेर पनि कवितालाई न्याय दिन सक्छु भन्ने तागत राख्दछु । मैले २०५९ सालदेखि कविता लेख्न शुरु गरेको हुँ र अझैँ पनि लेख्दैछु- एकान्तमा बसेर । यो बजारको हल्लाबाट टाढै रहन मन लाग्छ किनकि कविता बजारको हल्लाबाजीले कविता बाँच्ने हैन र राष्ट्रिय दैनिक पत्रिकामा कविता छापिए मात्रै कवि हुने पनि हैन । म यो कुरामा प्रष्ट छु ।

०००

प्रस्तुत छ, कार्कीका तीन कविता:


पहिलो कविता:

पर्खाल

हामी नदीको दुई धार भएर- बग्दै बग्दै जानू
त्यो मुहान-
र दोभानको लम्बाई- बढ्दै बढ्दै जानुको बाध्यता
एक पटक-
भत्किएको दुई किनारा लाई सोध्नु ।

जब रातमा दुख्छ – देब्रे छाती
तब हामीलाई नियाली रहेको जूनलाई सोध्नू
प्रेमको आयतन बढ्दै बढ्दै गएपछि-
कति फराकिलो हुन्छ भरोसा ?
– आकाशको गहिराईलाई सोध्नु ।

एउटा रोगी घाम
जब हाम्रो थलिएको आँगनमा आइपुग्छ पसिना चुहाउँदै ?
तब त्यो उदास मझेरीलाई सोध्नु
कति फरक हुन्छ बटुवाको आगमन ?

हामीले कसरी कोरेयाैँ प्रेमको नक्सा ?
कसरी रंग्याउँदै छौँ क्यानभासमा वर्तमान ?
कसरी हिँड्दैछाैँ इन्द्रेणीको बाटो टेक्दै टेक्दै ?
जीवनकाे यात्रामा आफैँ दुख्नुको आनन्द –
खुट्टामा गाडिएको खिललाई सोध्नु
विश्वासको ऐनामा पुछेर धुलो
कसरी मैलिन्छ भरोसा आफ्नै मुटुलाई सोध्नु ।

हामीले हिँडेको सडकको छेउ
-उही आदिम गल्ली
-उस्तै छ पानीको रङ्ग
-उस्तै छ पँधेरो
-उस्तै छ हो-हल्ला हाटबजारको
-उस्तै छ कान्ला र खोल्सा
– उस्तै छ बाटोघाटो, रमिते चोक
र उस्तै छ मस्जिद, गुम्बा, चर्च र मन्दिर
सबै सबै छोएको छ – प्रेम कै कोमल हातले ।

यी साक्षी छन् सबै सबै देवदुतहरू
खुल्लेयाम अपराध गर्न मिल्ने
यी सबै बदनाम गल्लीहरूलाई त्यागेर
ओ ! प्रिय मान्छे
भ्रमको पर्दा च्यातेर
किन गर्न सक्दैन मान्छेले मान्छेलाई प्रेम ?

०००


दोस्रो कविता 

साँझको गीत

– याद हो
– पीडा हो
– छटपटी हो
र धेरै सम्झनाहरूको बिस्कुन फिँजाएर
मुटु चिथोरी रहने पल हो ।

साँझ
स्खलित भएपछि
बिहानीको कलिलो आभा हो
त्यही साँझको गोरेटो हुँदै
तिम्रो प्रेमको ईश्वर भेट्न
एकजोर बिथोलिएको सपना बोकेर आउँदै छु, हाम्रो भेट त्यही भूगोलमा हुनेछ
जहाँ दुई मुटुको प्रेमभित्र ईश्वर हराए ।

कतै पाए पाए जस्तो
कतै छोडे छोडे जस्तो
कतै अल्झे अल्झे जस्तो
खोज्दा खोज्दै थाकेकै हो
जीवनको एउटा अध्याय
कसरी आई पुग्यो चढेर समयको खुड्किलाहरू
तिम्रो कुरूप याद बोकेर यो साँझ ।

एउटा कुरूप समय
जो छचल्किएर आइपुग्छ
पानीको ऐनाहरूमा ठोकिन
के तिमीलाई थाहा छ पानीको रङ्ग ?

तिमी बिलायौ बिहानको शून्यतामा
म चुँडिए मिर्मिरे ताराझैँ
तैपनि बोकेर साहसको मुटु
बतासका सुसेलीहरूसँग खेल्दै, च्यातिँदै
विलयको धुन लिएर उक्लिरहें
रुमानी स्मृतिका सिँढिहरू
विश्वासको मुटु बोकेर जब पुग्छ साँझ मन्दिरमा
तब निस्कन्छ छाती बाहिर मुटुको आवाज
फर्किँदा साँझ होला, बिहान नहोला
बिहान होला, साँझ नहोला
यसरी कतिन्जेल बोकी हिँड्न सकुँला
सिरानीमाथिको कालो आकाश
र आँखाको कन्तुरमा ढल्दै गरेको साँझ ।

०००


तेस्रो कविता 

आरनको मान्छे

भर्खरै पानी भरेको पँधेरोमा गाग्री छोईदा
कुटिएको छ एउटा देशझैँ देखिने लाचार शरीर
यति बेला-
टाल्दै छ आफ्नै पवित्र सीपले –
तिनै बिस्टिनीहरूले पानी पिउने करुवाको प्वाल
किन अभाव मडारिएको मुखभित्र ?
जब्बरजस्ती कोच्चाउँदै छन् मलमुत्र
बोक्सी देख्ने चेतनाले-
किन देख्दैन मानवता ?
मान्छेले मान्छे छोईदा-
किन छुन सकेन मान्छेको मन?

निधार जस्तो लिमाथि राखेर
नियतिको हम्मरले पिट्दै हँसियाको
धार निकालेर राख्नु छ सिरानीमा
र रेटिदिन मन छ भुत्ते चेतनाको टाउको
जो शताब्दिऔँ देखि
झुकिरहेको थियो शासकको पाउँमा ।

आकाशझैँ –
स्वतन्त्र भएर फैल्न खोज्दा खोज्दै
झनझन-
किन खुँडाभन्दा पनि धारिलो भएर
रेटिरहेछ असमानताको गर्धन ?
किन यति सजिलै च्यातिदिन खोज्छ
वर्षौ अभावको टाटो बसेको कमिज ?
अहो किन कहिल्यै ऐना बन्न सकेन समाज ?
किन फेरिँदैन अझै दासत्वको मैलो चोली ?

आफ्नो जम्मै मुस्कानहरूको पसल थापेर
किन किन्न सकेनन् बिर्खे दाईले –
छोरीको लागि रातो रिबन ?
किन सिलाउन सकेनन् होला –
तल्ला घरे ज्यामिरे दाइले
आफ्नी जहानको लागि फाटेको फरिया ?
किन खुट्न सकेनन् उध्रिएको चोली ?
किन किन्न सकिनन् होला-
सिरान घरकी माइली भाउजूले-
छोरोको लागि स्कुल ब्याग ?
र किन पढ्न बन्देज लगाउँछ कानुनको व्यापारी
असमानतका अक्षर चिन्ने पुस्तकहरू ?
सायद ती जम्मै मुस्कानहरू
कुल्चिदियो शासक व्यवस्थाको बुटका कुञ्जाले
यति बेला –
ऊ खुम्चिरहेछ आफ्नै देशको मानचित्र भएर ।

आफ्नै पसिनाको पाइन हालेर
उध्याईरहेछ देशको छाती
आफू च्यातिएर सिलाइरहेछ देशकै अनुहार
कसरी मौन भएर बस्न सकेका हुन्
आरनको भुङ्ग्रोभित्र युद्ध पढिरहेका
माइला दाइ ?

कमजोर फोक्सो जस्तै कमजोर संस्कारभित्र
भाटि चलाएर कति दिन जलाउँदा हुन्
कोइलाजस्तो जिन्दगी ?
कति दिन पगाल्दा हुन खिया लागेको फलाम ?
कुनै दिन-
म आफैँ छिनो हथौडा
र खुकुरी भएर बज्रिएँ भने –
के गर्ला –
हतियार साथ उभिएको सिंहदरबारको गेट पाले ?

कति पिटिए औजारहरू
– गालिए फलामहरू
– रेटिए हतियारहरू
अझै कति जलिरहेछन् आरनमा जिन्दगीहरू
यसरी जल्दा जल्दा –
एक दिन देशै जल्यो भने
फेरि को उभिन्छ सिमानामा बर्दी बेगरको सिपाही भएर ?
कसले सिलाउँछ राष्ट्रिय झन्डा
कसले बनाउँछ मन्दिरको गजुर र त्रिशूल ?
जहाँ अझै बन्देज छन् –
तिनै मान्छेका निर्दोष पाइलाहरू

०००


 

००००००

‘सर्जक अफ द विक’ सल्लेरी खबर र आभा For Creativity को संयुक्त प्रस्तुति हो ।

प्रस्तुति: राजु झल्लु प्रसाद

००००००

यो पनि पढ्नुहोस् :

मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् !

कविता जन्मिनु, आगो सल्किनु जस्तै हो…

कविता लेख्नु दुस्साहस हो, किनकी यो अभिलेख हो ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्