Logo

कविता लेख्नु दुस्साहस हो, किनकी यो अभिलेख हो ।



कविता लेख्नु दुस्साहस हो, किनकी यो अभिलेख हो ।

पिता कृष्णप्रसाद मिश्र र माता कान्ता मिश्रको सुपुत्रको रूपमा खजुरगाछी, झापामा जन्मिएका नवीन प्राचीन हाल मुलुक बाहिर छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर सकेका प्राचीनको ‘उभिएर एक्लै (२०७३ )’ कविता सङ्ग्रह प्रकाशित छ । समकालीन नेपाली कविता क्षेत्रमा स्पष्ट अनुहार बनाइसकेका प्राचीनको थुप्रै फुटकर लेख/रचनाहरू पत्रपत्रिकामा प्रकाशित हुँदै आइरहेका छन् । 

 

Image may contain: 1 person
कवि नवीन प्राचीनको कविता कृतिः उभिएर एक्लै (Standing Alone)

 

प्रस्तुत छ, सर्जक अफ द विकका लागि कवि नवीन प्राचीनसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- अध्येताहरू भन्छन् , “लेख्न जान्नेहरूमा पनि कविता छन् ,लेख्न नसक्नेहरूमा पनि कविता छन्। “तपाई आफूलाई कता राख्नुहुन्छ ? हिजोआज विचारलाई पंक्तिमा लेखेर कविता भएको मानिन्छ । विचारलाई पंक्तिमा लेख्दैमा कविता हुन्छ ? के भयो भने कविता हुन्छ ?

प्राचीन- कविता पूरा अस्तित्व भरी छ । वा यसो भनौँ यो अस्तित्व नै एउटा विशाल महाकाव्य हो, हामीले दावी गरिरहेका कविता त्यही महाकाव्य भित्रका केहि श्लोक, हरफ, अक्षरहरुका प्रतिबिम्ब हुन् । लेख्न जान्ने/लेख्न नसक्ने भन्ने क़ुरा त ज्ञानको कमीबाट निस्किने कुरा होलान् । म आफूलाई एउटा जिज्ञासुको पंक्तिमा राख्छु, जो आफ्नै जिज्ञासाहरुको यात्रामा छ ।

तपाईंले संकेत गर्न खोजेको विचार सायद राजनैतिक विचार होला की भन्छु । हाम्रो (नेपाली साहित्यकारहरुको) विचार प्रतिको धारणा नै हास्यास्पद लाग्छ मलाई । कलावादी र कोमल कविता लेख्नेहरुले राजनैतिक अथवा शक्ति संरचनाको फेरबदलसँग सम्बन्धित कवितालाई विचारवादी भनिदिन्छन्। राजनैतिक सन्दर्भमा कविता लेख्नेहरुले कलावादीहरुलाई विचारविहीन भनी दिन्छन् ।

विचार विहीन मानिस त कोही पनि हुन सक्दैन नै होला, हरेक अक्षर, शब्द विचारकै प्रतिनिधि हो – लाग्छ मलाई ।

कवितामा के को मात्रा बढ़ी छ भन्ने आधारमा यो विभाजन पाइन्छ । बुझ्नुपर्ने क़ुरा के हो भने मनुष्य वैचारिक प्राणी हो, उसका हरेक कर्म विचारबाट निर्देशित हुन्छन् र हरेक कविता विचार नै हुन् । विचार कति सौम्य/ कडा/ नग्न/ श्रृंगारिक/व्यक्तिगत/सामूहिक छ भन्ने कुरा कवि/कविता अनुसार फरक पर्ला ।

के हुँदा कविता हुन्छ भन्ने क़ुरा व्यक्तिको सौन्दर्यचेत अनुसार फरक जवाफ होला ।
संसारकै महान भनिएका कविता कसैलाई झुर लाग्ला,  बौद्धिकहरूले ‘यस्तो नि कविता हुन्छ?’ भनिएको कविता मानिसले सिरानमुनि राख्लान् ।

राजु- कविताले तपाईंको बाटो काट्छ कि तपाईं कविता बाटोमा हिड्नुहुन्छ ? कविता ‘क्लिक‘ कसरी हुन्छ ? कविता सिर्जना गरिरहँदा केकस्ता अनुशासन हुन्छन् तपाईंका ?

प्राचीन- मेरो सन्दर्भमा कविता घटना जस्तो हुन्छ । यो घट्छ, कविता घट्छ (it happens) । म कविता चेतन प्रयासले खोज्दीन । मानिस जीवनभर असंख्य विचार, परिस्थितिबाट गुज्रन्छ । तर अत्यन्तै थोरै चीज मात्र काव्यिक हुन्छन्। र, तपाईंको मस्तिष्क, चेतनालाई त्यो चीज काव्यिक लागेमा त्यसले कविताको रूप धारण गर्ने होला । मेरो सन्दर्भमा यस्तै केहि हुन्छ ।

कविता सृजना गर्दा (सृजना तब हुन्छ, जब त्यसको कुनै उद्देश्य हुन्छ । नभए मेरा सन्दर्भमा कविता आफ्नै चेतनाको विस्तार मात्रै हो । ) मैले आफूले महसूस गरेको कुरा सकेसम्म मेरो अनुभवसिद्ध होस् र त्यसको प्रवाह सकेसम्म शुद्ध  र सरल होस् भन्ने कुरामा सचेत रहन्छु ।

Image may contain: 1 person, smiling, night and close-up
कवि : नवीन प्राचीन

राजु- ‘कवि भएर धेरै मान्छेले दुःख पाइराख्या छन्’, भनिन्छ । तपाईँलाई यस समाजले के कस्ता मानसिक जटिलता दियो/दिइरहेछ ? तपाइको अनुभवले के भन्छ- कविता लेख्नु र कविता पढ्नुमा के भिन्नता हुँदो रहेछ ?

प्राचीन- जब तपाईंले गरेको कर्मलाई तपाईं विशिष्ट ठान्नुहुन्छ र त्यसबाट अतिरिक्त अपेक्षा राख्नुहुन्छ – तपाईंले दुःख पाउनु निश्चित छ ।

हाम्रो समाजमा कवि/कलाकार हूँ भन्नेहरु आफूलाई समाजबाट अलग मान्छन् । समाज पनि प्रत्यक्ष भौतिक उत्पादनसँग नजोडीने कुरालाई वाहियत मान्छ । यो दुवै अतिले समस्या सृजना गरेको छ ।

कविता/साहित्यलाई तपाईंले बाँचेको जीवन/कल्पनाशीलताको उपज मान्ने हो र त्यसमा ईमानदार हुने हो भने तपाईं सबै थोकसँग समन्वय गर्न सक्नुहुन्छ भन्ने मेरो अनुभव हो ।

कविता लेख्नु दुस्साहस हो, किनकी यो अभिलेख हो ।

तपाईंको अभिव्यक्ति थाहा पाएर त्यसलाई कसैले आफ्नो जीवनदर्शन बनाउन सक्छ। त्यसैले सकेसम्म तपाईं आफ्ना कुराहरुमा ईमानदार हुनुपर्छ ।

कविता पढेर कविको इमानदारिताको परख गर्नु, त्यसलाई आफ्नो जीवनको कसीमा जाँचेर आफ्नो सौन्दर्यचेत/बोधको विस्तार गर्नु पाठकको चुनौती हो ।

राजु- अलि रिसउठ्दो प्रश्न सोधौं ?- तपाईले कविता नलेख्दा के हुन्छ र के छुट्छ ? आफ्नो कविताको विशेषता के हो झैं लाग्छ तपाइँलाई ? कविता कसरी लेख्न थाल्नु भयो ? थोरै बताईदिनुहोस् न ।

प्राचीन– म कविता नलेखी महिनौँ बस्न सक्छु । कविता नलेख्दा छुट्ने भनेको  चाहिँ आफ्नै अनुभव, चेतनाको विस्तार, र बोधहरुको संकलन हो । आफैंले लेखेका कुराहरु समयको फरकमा हेर्दा आफू कति बद्लिएछु, सत्यको सापेक्षता कति हुनेरहेछ भन्ने बोध हुन्छ, त्यसको लागी कहिलेकाही कविताको जरूरत हुन्छ ।

आफ्नै कविताका विशेषता त के भन्ने होला र ? लेख्दा आफूसँग ईमानदार हुने प्रयास गर्छु । आफूसँग ईमानदार हुनु भनेको सायद अरुसँग पनि ईमानदार हुने प्रयास गर्नु होला ।

कविता यसै लेख्न थालियो कुनै विशिष्ट कारण छैन । लेखनमा निरन्तरता जस्तो चाहिँ सर्जकहरु, पाठक, स्रोतासँगको संगतले भयो भनौँ ।

०००

प्रस्तुत छ, प्राचीनका तीन कविता:


पहिलो कविता

स्रोता

मैले भनेँ—
“अब त बोल,
तोड यो आदिम मौनता
नलेऊ मेरो धैर्यताको
अब अरू परीक्षा”

मुस्कुराउँदै भने उनले—
“मेरो सबैभन्दा प्रिय
स्रोता हौ तिमी
जसले यतिन्जेल सुन्यो
मौनता मेरो

धेरै थिए
मसँग
मित्रताको दाबी गर्ने
जबसम्म म बोल्थेँ

म मौन भएदेखि
उनीहरूले
मलाई बिर्सिए

नसुनी कसैको मौनता
कहाँ थाहा लाग्छ र
कोही मौन बसेको पनि ।”

०००


 

दोस्रो कविता

विजयोन्माद

कसैले भनिदियो
“सत्यको सधैँ जीत हुन्छ”

त्यसपछि मानिसहरुले
विजेताहरुलाई
सधैँ सत्य मान्न थाले

मलाई सन्देह छ,
कतै यो उसको
विजयसभाको
घोषणा पो थियो कि ??

०००


 

तेस्रो कविता  

उनीहरुलाई लाग्छ
उनीहरुलाई थाहा छ
को कतिबेला खुसी वा दुःखी हुन्छ
र कसलाई कतीबेला साथी चाहिन्छ

-मर्दा/पर्दा

“नजिक”

बिर्स मलाई
तिमी पनि

जसरी अक्सर,
सम्झन्न
म कोही

सम्झना आओस् त

हाँसो को चरममा पुगेर
आँखा रसाएका बेला

खुसीले हृदय
भिजिसकेर
सूक्दै गर्दा
उठेका बाफहरुसँग

अथवा

हिड्दा हिड्दै
चप्पलको लोती चुँडिदा

आकाश अचानक अँध्यारो देखिँदा

साँझमा चराहरु
ढि… लो गरेर
गुँड फर्कदा

घरमा बलिरहेको बत्ती

अचानक….

निभ्दा

जीवनको डुङ्गा
ढल् पल्
ढ..ल..प..ल गर्दा

हृदयले गाउने सबैभन्दा उदास गीतको
लय समेत बिर्सेर
सास रोकिन्छ कि भनेझैँ हुँदा

कुनै उत्सव सकिएर
पाहुनाहरु फर्किसकेपछिको निरवतामा

अथवा

जतिबेला
दुःख ले र सुख ले पनि छोडेर जान्छन्
र पूरै रित्तो हुन्छ हृदय

त्यतिबेला….

कुनै अनामन्त्रित हावाको झोंक्का जस्तो

आएँ भने सम्झनामा
लाग्नेछ
म तिम्रो हृदयको
सबैभन्दा नजिक छु

जसरी
तिमी छौ
मेरो लागी

(उनीहरुलाई लाग्छ
उनीहरुलाई थाहा छ
को कतिबेला खुसी वा दुःखी हुन्छ
र कसलाई कतीबेला साथी चाहिन्छ

-मर्दा/पर्दा )

बि….र्स
मलाई

तिमी पनि

जसरी,अक्सर

सम्झन्न

म कोही

सम्झनै
आओस् त

त्यतिबेला….

०००


००००००

‘सर्जक अफ द विक’ सल्लेरी खबर र आभा For Creativity को संयुक्त प्रस्तुति हो ।

प्रस्तुति: राजु झल्लु प्रसाद

००००००

यो पनि पढ्नुहोस् :

मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् !

कविता जन्मिनु, आगो सल्किनु जस्तै हो…

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्