Logo

कर्णालीमा संविधान दिवसको तयारी



Spread the love

१८ भाद्र, काठमाडाैँ – कर्णाली प्रदेश सरकारले संविधान दिवसलाई भव्यरुपमा मनाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा २० सदस्यीय मुल समारोह समिति गठन गरेको छ ।

समितिमा प्रदेशसभाका सभामुख राजबहादुर शाही, उच्च अदालतका मुख्यन्यायाधीश कुमार चुडाल, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूण्यप्रसाद रेग्मी, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छवीलाल सिग्देल, प्रदेश सरकारका प्रमुख सचिव सदस्य रहेका छन् ।

आज मुख्यमन्त्रीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, सामाजिक विकास मन्त्री दल रावलको संयोजकत्वमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप संचालक उपसमिति र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

बैठकले असोज दुई, तीन र चार गते विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ । प्रदेश मन्त्रालय, मातहतका निकाय तथा स्थानीय तहहरुमा सरसफाइ, सजावट, दिपावली तथा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । संविधान दिवसको दिन बिहान सात बजे मंगलगढी चोकबाट प्रभातफेरि गरेर खुलामञ्चमा संविधान दिवस समारोहको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्