Logo

प्रादेशिक कृषि औद्योगिक व्यापार महोत्सव शुरु



Spread the love

२० भाद्र, जुम्ला – जुम्लामा ‘प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६’ बिहीबारदेखि शुरु भएको छ । महोत्सवको उद्घाटन बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे । उद्योग वाणिज्य सङ्घ जुम्लाको आयोजनामा १९–२९ गतेसम्म सञ्चालन हुने महोत्सवले कृषि, वन, जडिबुटी, सांस्कृतिक पर्यटनको महत्व बोकेको पर्यटकीय नगरी जुम्लाको समग्र विकासमा सहयोग पुग्ने मुख्यमन्त्री शाहीको विश्वास छ ।

“महोत्सवले यहाँको औद्योगिक, पर्यटन र सांस्कृतिक महत्वलाई झल्काउने छ,” मुख्यमन्त्री शाहीले भने, “यसले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने र कर्णाली प्रदेशको अर्थतन्त्र वृद्धिमा गर्न सघाउने छ ।” महोत्सव कर्णाली प्रदेश समृद्धिको आधार हुने उनको भनाइ थियो । मुख्यमन्त्री शाहीले सूचना र प्रविधिको उच्चत्तम विकास भइरहेको बेला जुम्ला सदरमुकाम अन्धकार हुनु दुःखद् भएको बताए । प्रदेश सरकारले कर्णालीको विकासका लागि सानादेखि ठूला आयोजनातर्फ ध्यान दिइरहेको बताउँदै उनले भने, “अब प्रदेश सरकारले छ महीनाभित्र जुम्ला अँध्यारोको समस्या समाधान गर्नेतर्फ पहल गर्दैछ ।”

उनले अगाडि भने, “जुम्ला–डोल्पा, जुम्ला–जाजरकोट, जुम्ला–मुगु सडक निर्माण तथा स्तर वृद्धि र कालोपत्रे जोड दिएका छौँ । नाग्म गमगडी राजमार्गका लागि रु ३० करोड प्रदेश सरकारले बजेट छुट्याइएको छ ।” तत्कालीन खस साम्राज्यको राजधानी भएको भन्दै जुम्लालाई कर्णाली प्रदेशको दोस्रो ठूलो समृद्ध औद्योगिक शहरको रुपमा विकास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भाषा र सभ्यताको जननी कर्णाली प्रदेशको जुम्लामा १० दिनसम्म सञ्चालन हुने यस महोत्सवले यहाँको साहित्य, कला, संस्कृतिको उजागर गर्नुका साथै पर्यटनको प्रवर्द्धन हुने विचार व्यक्त गरे । महोत्सवले यहाँको कृषि, जल, स्वास्थ्य, खेल, धार्मिक तथा पर्यापर्यटन सहयोग पुर्याउने उनको भनाइ थियो । उनले नेपालका हरेक जातजाति र भाषाभाषीका नागरिकले एकपटक जुम्लाको सिङ्जामा आएर आफ्नो मूल थलो र थर खोज्न अपिल गरे । कर्णालीको विकासका लागि नीजि क्षेत्रको सहभागिता हुनुपर्नेमा उनको जोड थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भाषाको उद्गमस्थल तथा पुरातात्विक महत्व बोकेको जुम्लाका स्थानीय उत्पादनको बजारीकरणमा महोत्सवले सहयोग पुग्ने बताए । यहाँको उद्योग, पर्यटन, वन तथा वातावरण प्रवर्द्धन तथा विकासमा प्रदेश सरकारले आवश्यक योजना बनाएर अघि बढ्ने उनले जनाए ।

महोत्सवमा १०१ व्यापारिक कक्षहरु राखिएका छन् । कर्णालीमा स्याउ, आरुलगायतका फलफूल, रैथाने बालीबाट उत्पादित खाद्य परिकार, यहाँको भाषा, कला र संस्कृतिसँग सम्बन्धित सामग्रीहरु, स्थानीयस्तरमा उत्पादित राडीपाखी, विभिन्न औषधिजन्य जडिबुटी राखिएका छन् । महोत्सवमा रु ५७ लाख खर्च हुनेछ भने रु ६६ लाख आम्दानी हुने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्