Logo

कस्तो नेता बन्ने ?



Spread the love

नेता भन्न बित्तिकै हामीले धेरै कुरालाई बुझ्छौँ, एक अर्थमा भन्नुपर्दा ठुलो ठुलो स्वरमा भाषण गर्ने, आफ्नो गुट बनाउने, विपक्षलाई चर्को गाली गर्ने आदि गुण हाम्रो मनमा आउन सक्छ र अर्को अर्थमा भन्दा महात्मा गान्धी, विवेकानन्द, माओत्सेतुंग, अब्राहम लिङ्कनजस्ता उच्च व्यक्तित्वका नाम आउँछ । त्यसैले आफू कस्तो नेता बन्ने भन्ने कुरा व्यक्तिमा भर पर्छ ।

जर्ज टरीका अनुसार “आपसी उद्देश्यका लागि व्यक्तिहरूलाई मनै देखि प्रयत्न गर्न प्रभावित पार्ने क्रियाकलाप नै नेतृत्व हो ।” एजुकेसन शब्दकोशअनुसार “मानिसलाई उद्देश्य प्राप्तिका लागि प्रेरणा, पथ प्रदर्शन र निर्देशन गर्ने तत्परता र क्षमता हो ।” नेपालमा २०४६ सालपछि बहुदल आए यता थुप्रै पार्टी र सङ्गठनहरू स्थापना भए र ती पार्टी र सङ्गठनहरूले थुप्रै नेता राजनेता जन्माए । तर कस्तो नेता बनाउने र बन्ने भन्ने कसैको ध्यान गएन । नेपालको अहिलेको परिपेक्षमा नेता बन्न त्यति गाह्रो जस्तो लान्दैन तर कस्तो नेता बन्नेमा भर पर्छ । दुई चार दिन पार्टी सङ्गठनको कार्यक्रममा संलग्न भयो, दुई चार ओटा नेताहरूसँग मोबाइलमा सेल्फी लियो अनि फेसबुकमा अपलोड गर्यो, विपक्षलाई फेसबुकबाटै गाली गर्यो। दुई चार पैसा खर्च गरिदियो, चम्चा चाकडी गर्‍यो अनि लेखनाथ न्यौपानेले भने जस्तै चैते नेता बन्यो । त्यसपछि त्यही चैते नेतालाई हामी भन्न थाल्छौँ आदरणीय सरल, शालीन, भद्र स्वभावका धनी, बौद्धिक नेता, जनताका ढुकढुकी विकासप्रेमी यस्तै केके उपनामले प्रशंसा गरेर उसबाट केही पाउने आसमा त्यही व्यक्तिको चाकडी शुरु गर्न थाल्छौँ ।

नेपालमा २०४६ सालपछि बहुदल आए यता थुप्रै पार्टी र सङ्गठनहरू स्थापना भए र ती पार्टी र सङ्गठनहरूले थुप्रै नेता राजनेता जन्माए । तर कस्तो नेता बनाउने र बन्ने भन्ने कसैको ध्यान गएन ।

हो, वास्तवमा साच्चिकै सरल, शालीन, भद्र स्वभावका धनी, बौद्धिक नेता, जनताका ढुकढुकी विकासप्रेमी यस्तै के-के उपनामले प्रशंसा लायक नेता बन्न त्यति सजिलो छैन । कुनै पनि देशको मुख्य मेरुदण्डको रूपमा त्यहाँका राजनीतिक नेताहरूलाई लिने गरिन्छ । कुनै पनि देशको राज्य सञ्चालन देखि लिएर नीति निर्माण गर्ने सम्म राजनैतिक नेतृत्वको हातमा हुन्छ । डाक्टर, इन्जिनियर, पाइलट भन्दा नेता बन्नलाई अझ बढी विज्ञता हासिल गर्न जरुरी छ । हाम्रो समाजमा के छ भने जिन्दगीमा केही गर्न नसके विकल्पमा नेता बन्ने । क्याम्पसमा गयो पढ्न नसके विद्यार्थी नेता बन्ने, व्यापार गर्यो व्यापार फस्टाउन नसके त्यसपछि नेता बन्ने, जागिर गर्न नसके विकल्पमा के गर्ने राजनीति गरेर नेता बन्ने, यो चलन नेपालमा फस्टाएको देखिन्छ ।

यति भन्दै गर्दा मैले राजनीतिक विज्ञ भएर विश्लेषण गरेको होइन, खाना पकाउने मान्छेलाई भन्दा खाना खाने मान्छेलाई खानाको स्वाद बढी थाहा हुन्छ भने झैँ नजिक बाट बुझेको देखेको कुरा भनेको । यति भन्दै गर्दा मैले सबै नेता राजनेताहरू यसरी नै माथि पुगेका हुन भन्न खोजेको होइन, यहाँ थुप्रै नेताहरू जनताको बिचबाट सङ्घर्ष गर्दै समाजसेवा गर्दै कार्यकर्ताबाट नेता र नेताबाट जननेता हुँदै राजनेता बन्ने उद्देश्यले नेता बन्नु भएको छ । तर उहाँहरूको उचित सम्मान र ठाउँ छैन । जसले चैते नेताको व्यवहार देखायो त्यही पहुँचमा पुगेको छ ।

क्याम्पसमा गयो पढ्न नसके विद्यार्थी नेता बन्ने, व्यापार गर्यो व्यापार फस्टाउन नसके त्यसपछि नेता बन्ने, जागिर गर्न नसके विकल्पमा के गर्ने राजनीति गरेर नेता बन्ने, यो चलन नेपालमा फस्टाएको देखिन्छ ।


हो यदि सबल र सक्षम कार्यकर्ता बाट नेता र नेताबाट राजनेता बन्ने हो भने धेरै कुरामा विचार पुर्याउनु आवश्यक छ । सफल नेतृत्वको लागि सकारात्मक सोच र सकारात्मक दृष्टिकोण सफल मार्ग रहेको कुरा विद्धानहरूले भन्दै आएका छन् । ज्ञान, गुण, बौद्धिक र क्षमता नेतामा हुनुपर्ने आधारभूत कुराहरू नै हुन । परम्परावादी सोच, सामन्ती दृष्टिकोण र संस्कार अनुसार उच्च तह वा पदमा रहेर अरूलाई निर्देशन गर्नु हो । नेतामा यस्तो गुण हुनुपर्छ जो सँग कार्यकर्ता र स्वार्थमा लिप्त मान्छे डराउन । जनताले नि हेप्न नसकुन् ।

यदि कुशल र सफल नेता नै बन्ने हो भने कहिले पनि विवादास्पद, कलङ्कित, भ्रष्ट व्यक्तिसँग सङ्गत नगर्नुहोस् । अहिले के देखिएको छ भने आफू पहुँचमा गरिसकेपछि सबै थोक बिर्सिएर व्यक्तिगत स्वार्थ, पारिवारिक स्वार्थ र नातागत स्वार्थ पूर्ति गर्न उसको पहिलो प्राथमिकतामा हुन्छ र बिस्तारै उ विवादमा आउँछ, अनि जनताले कार्यकर्ताले आलोचना गर्न थाल्छन् । अनि असफल असक्षम नेता भनेर साबित भइन्छ । यदि सफल नेता राजनेता बन्ने हो भने कहिले पनि आफ्ना नातागोतालाई राजनीतिक नियुक्ति नदिनुहोस् । धेरै जसो नेताहरू दुखमा भन्दा सुख र रमाइलोमा बढी उपस्थित हुने गरेको देखिन्छ । नेता विवाह, पार्टी, भोजमा नभ्याए सम्म नगए नि खासै फरक पर्दैन आउन सकिएन भनेर फोनबाट शिष्टाचार देखाउन सकिन्छ तर कोही चिनेको दुःखमा, बिरामी परेर अस्पतालमा छ भने समय निकालेर त्यहाँ अवश्य पुग्नु होस । सुखमा भन्दा दुःखमा साथ दिनेलाई कसैले पनि कहिल्यै बिर्सन सक्दैन । पछिल्लो समयमा के देखिन्छ भने सामाजिक सञ्जालमा कसैले केही लेख्यो भने त्यको प्रतिक्रिया तत्काल दिइहाल्ने, सामाजिक सञ्जाल मै बजिहाल्ने, तर त्यसो नगर्नुहोस् कुशल नेता बन्नु छ भने । ‘हावाले पात हल्लायो भन्दैमा आफू नि नहल्लिनोस् ।’ त्यसको वास्तविक अध्ययन गरेर प्रतिक्रिया दिनु होस् ।

नेता भइसकेपछि सार्वजनिक सम्पत्तिमा आँखा नलगाउनु होस, आर्थिक पारदर्शिता देखाउनु होस नत्र यसले ढिलो चाँडो एक पटक राजनीतिक पतनमा डोर्याउछ ।


धेरै नेताहरू सुरुवातीमा समाज र देश सेवामा धेरै फड्को मार्छु भन्दै धैरै ठुला ठुला सपना देखेर सार्वजनिक पद धारण गरेको देखिन्छ । पछि काम गर्दै जाँदा भ्रष्ट कर्मचारी, व्यापारी, दलाली, तथा चम्चे चाकडी गर्नेहरूले माफियाको चङ्गुलमा पारेको देखिन्छ । हो, जो गुण्डागर्दी, चाकडी अनि चैते नेताको ब्याकग्राउण्डबाट आएको हो त्यही व्यक्ति यस्तो क्रियाकलापमा फसेको देखिन्छ । जातीय, भेगिय धार्मिक र वर्गीय मुद्दा उठान गरेर नि नेता बन्न खोजेको देखिन्छ , यस्ता मुद्धाहरुले स्थानीय नेता त बन्न सकिएला तर देशको नेता बन्न सकिँदैन । त्यसैले देशकै राजनेता बन्नु छ भने जातीय, भेगिय कुरा गर्नु हुँदैन । अहिले विज्ञान र प्रविधिको युग हो, त्यसैले प्रविधिसँग नजिक हुनु जरुरी छ । एक भारतीय नेताले भनेका छन् नेता भनेको नोकर हो भने जनता भनेका मालिक त्यसैले नोकरले मालिकले भनेको मान्नु पर्छ । नेता भइसकेपछि सार्वजनिक सम्पत्तिमा आँखा नलगाउनु होस, आर्थिक पारदर्शिता देखाउनु होस नत्र यसले ढिलो चाँडो एक पटक राजनीतिक पतनमा डोर्याउछ ।

निर्णय गर्नु पहिले जनतासँग बसेर छलफल गर्नुहोस्, राय, सल्लाह सुझाव माग्नुहोस् । सल्लाह सुझाव विद्धान तथा साधारण सबै व्यक्तिहरूबाट माग्नुहोस् । नेता भइसकेपछि विद्धानका मात्र कुरा होइन साधारण व्यक्तिबाट पनि व्यवहारिक ज्ञान पाउन सकिन्छ । एक पटक अल्वर्ट आइन्स्टाइनको कोठामा कुकुर छिर्न ठुलो र बिरालो छिर्न सानो प्वाल बनाएको देखेर एउटा अनपढ धोबीले आइन्स्टाइनलाई ‘दुई ओटा प्वालको सट्टा एउटै बनाए हुन्छ नि कुकुर छिर्न सक्ने प्वालबाट बिरालो पनि छिर्न सकिहाल्छ’ भन्ने जस्तो व्यवहारिक ज्ञान दिएका थिए । सामाजिक सञ्जालहरूको सही सदुपयोग गर्नुहोस् । सधैँ सबै ठाउँ पुग्न सकिँदैन त्यसैले आफूले गरेका राम्रो कामको सूचना सामाजिक सञ्जालबाट सम्प्रेषण गर्नुहोस् । सफल नेताले ठुलो सपना देख्नुपर्छ, उज्ज्वल भविष्यको योजना बनाउन सक्नुपर्छ । उच्च महत्त्वाकाङ्क्षा राख्नु, गहन प्रतिबद्धता हुनु, कडा परिश्रम गर्नु, निष्कपट र इमान्दार चरित्र, स्पष्ट वक्ता, स्वयं निर्देशित हुन सक्ने, सहिष्णुता व्यवहार भएको, सफल नेतृत्वका लागि नभई नहुने योग्यताका रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्