Logo

शरद ऋतुमा हिमाल चढ्न ३२६ जनाले अनुमति लिए



Spread the love

२३ भदौ, काठमाडौँ ।  शरद ऋतुमा हिमाल चढ्नका लागि करिब ३७ वटा समूहबाट ३२६ जनाले अनुमति लिएका छन् । शरद ऋतु (असोज–कात्तिक) हिमाल चढ्ने सिजन हो ।

विभिन्न ३७ वटा समूहबाट लगभग ३२६ जना आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार,  ८ हजार १६३ मिटर उचाईको मनास्लु हिमालका लागि सबैभन्दा धेरै २३७ जनालाई आरोहण अनुमति जारी गरिएको छ । पर्वतारोहण अनुमतिमार्फत आइतबारसम्म ३ करोड ६२ लाख ६३ हजार रुपैयाँ रोयल्टी सङ्कलन भइसकेको छ । मनास्लुपछि धौलागिरी (८१६७) हिमाल चढ्न धेरै आरोही इच्छुक देखिएका छन् । विभागको तथ्याङ्क अनुसार धौलागिरीमा २ टोलीका ३० जना सदस्य इच्छुक देखिएका छन् ।

त्यसैगरि, ल्होत्से हिमाल (८५१६ मिटर) आरोहण गर्न २ समूहका १३ जना सदस्यले अनुमति लिएका छन् । हिमलुङ हिमाल (७१२६ मिटर) ९ जनाले अनुमति लिएका छन् । नुप्त्से हिमाल आरोहणमा ८ जनाको अनुमति जारी भएको विभागले उल्लेख गरेको छ । मकालु हिमाल (८४३६) चढ्न ४ सदस्यले अनुमति लिएको विभागको तथ्याङ्क छ ।
आइतबारसम्म सगरमाथा आरोहणमा भने दुई समूहका १० जना सदस्यको मात्र अनुमति जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्