Logo

काठमाडौंकाे रिंगरोडमा गुड्ने भए विद्युतीय बस, भाडामा २० प्रतिशत छुट



Spread the love

२३ भदौ, काठमाडौं । सुन्दर यातायातले काठमाडौंकाे रिंगरोडमा मंगलबारबाट लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा ल्याउने भएकाे छ । सुन्दर यातायातका विद्युतीय बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्दा २० प्रतिशत सम्म छुट पाइनेछ ।

देशकाे राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणका कारण विक्षिप्त भएकाे र हाल यहाँ गुडिरहेका सार्वजनिक यातायातमा यात्रुलाई एकदमै सकस परेकाे भन्दै यसलाई न्युनीकरण गर्न मंगलबारबाट व्यावसायिक रूपमा चल्ने गरि विद्युतीय बस सेवाकाे उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले (आज )सोमबार गरेका छन् ।

सुन्दर यातायातले पहिलो चरणमा दुईवटा विद्युतीय बसबाट सेवा थाल्ने भएपनि केही दिनभित्रै अरू २ वटा बस सेवाका लागि थपिने छ ।

साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको छ र कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा पनि गरेको छ ।

सुन्दर कम्पनीले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता पनि गरिसकेको छ ।

यसै वर्षभित्रमा २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने सुन्दर कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जनाए । कम्पनीले प्रतिबसमा एक करोड ६२ लाख बराबर मूल्य खर्चिएको छ ।

कम्पनीले गत हप्ता नै आफ्नो चार्जिङ स्टेसनको उदघाटन गरिसकेको कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । रातभर ६ घन्टा लगाएर चार्ज गर्ने विकल्प पनि छ ।

आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएका यी बसमा स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सकिनेछ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्