Logo

सागका लागि बिच भलिबल कोर्ट निर्माण शुरु



Spread the love

२३ भाद्र, पोखरा – नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना गरिने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) का लागि बिच भलिबल कोर्ट निर्माण शुरु गरिएको छ ।

बिच भलिबल खेल पोखरामा खेलाइने भएपछि पोखरा महानगरपालिका–६ स्थित फेवाताल किनारमा आजदेखि भलिबल कोर्ट निर्माण शुरु गरिएको हो । खेलका लागि चार वटा मैदान आवश्यकपर्ने भएकाले तीन वटा नयाँ निर्माण गरिने र हाल विद्यमान कोर्टको स्तरोन्नति गरिने नेपाल भलिबल सङ्घका जिल्ला अध्यक्षसमेत रहेका बिच भलिबल व्यवस्थापन समितिका संयोजक भीम पराजुलीले बताए ।

उनका अनुसार चार वटा कोर्टमध्ये दुई प्रतियोगिताका लागि र बाँकी अभ्यासका लागि प्रयोग गरिनेछ । कोर्टसँगै कपडा फेर्ने कोठा, बाथरुमलगायतका संरचनासमेत निर्माण गरिने र आगामी असोज पहिलो साताभित्रमा ती संरचनाको निर्माण सम्पन्न गर्ने योजना रहेको बताइएको छ ।

कोर्ट निर्माण कार्यको अवलोकनका लागि पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले देशको प्रतिष्ठासँग जोडिएको प्रतियोगितालाई सफल बनाउनुपर्ने बताउँदै प्रतियोगिताबाट पर्यटकीय शहर पोखराको थप प्रवर्द्धन  हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले व्यवस्थापन समितिमार्फत मैदान निर्माणको काम शुरु गरिएकाले तोकिएकै मितिमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

सागमा बिच भलिबलसहित महिला फुटबल, भारत्तोलन, महिला तथा पुरुष ह्याण्डबल, प्याराग्लाइडिङ, आर्चरी र ट्रायथोलन गरी आठ प्रतियोगिता पोखरामा सञ्चालन गर्ने योजना छ । पछिल्लो समय महिला क्रिकेट पनि पोखरामा गर्ने बारेमा छलफल शुरु भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्