Logo

राष्ट्रिय परिचयपत्र: विवरण सङ्कलन उत्साहजनक



Spread the love

 २४ भाद्र, तनहुँ – राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा एक हजार १०५ ले विवरण दर्ता गराएका छन् । साउन ६ गतेदेखि भदौ १८ गतेसम्म परिचयपत्रका लागि उक्त विवरण दर्ता गरिएको हो । विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र फिल्ड कार्यालय स्थापना गरिएको छ ।

फिल्ड कार्यालयका सुपरभाइजर मुना रिजालले दैनिक २०–२५ ले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने गरेको जानकारी दिए । उनले भने “प्रशासन कार्यालयबाट नागरिकता बनाए लगत्तै सर्वसाधारणको विवरण दर्ताको व्यवस्था मिलाइएको छ”, रिजालका अनुसार विवरण दर्ताका लागि सर्वसाधारणमा उत्साह छाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रशासन कार्यालयकै एउटा कोठामा फिल्ड कार्यालय स्थापना गरी विवरण सङ्कलनको व्यवस्था मिलाइएको जानकारी दिए । प्रजिअ पण्डितका अनुसार नयाँ नागरिकता जारी हुने बित्तिकै राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

प्रजिअ पण्डितका अनुसार परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँला छाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्