Logo

झुमा !



झुमा (कथा)- महेश बजगाईँ ‘दोस्ताज’

सायद !
यसपछिका दिनहरूमा अब हामी भेटिने छैनौ । केही भन्न बाकी भए भनी हाल्नोस्, हैन भने छुटिजाऊ ।- उसले भनी
अन्तिम एक पटक हामी भेटिनुपर्छ ।- म बोले
– कहाँ ?
– झुमा चटपट पसल ।

०००

मलाई चटपट मन पर्दैन तर म चटपट खान्छु ।
जस्तो:-
मन नपरेको ठाउँमा बेलाबखत गइरहनु ।
मन नपरेको गीत दोहोराउँदै सुनिरहनु ।
मन नहुँदा नहुँदै प्रेम भइजानु ।
मन नलागी नलागी किताब पढ्नु ।
केही लतहरू मन नहुँदा नहुँदै लागीजादा रहेछन् ।

ती गाउँबाट पारी एक अर्को गाउँ छ । गाउँको सिमानाबाट दुई किमी दक्षिण हिडेपछी एक अर्को गाउँ आउँछ । जुन गाउँको नाम हो- गैरी गाउँ ।
यो गाउँमा झुमा र उनका सन्तान बाहेक अरू कोही पनि रहदैनन् । घरहरू त थुप्रै छन्। तर त्यहाँ कोही पनि बस्दैन।

०००

पहिलो पटक आरती र म यही चटपटप पसलमा देखिएका थियौ ।
ऊ चटपट खाईरहको ठाउँबाट जब म पार हुँदै थिए ।- मेरा आँखा उसका आँखासम्म पुगिगए ।
त्यसपश्चातका हरेक साँझ म पुग्न थाले ।- झुमा चटपट पसल ।

०००

एक साँझ…….।
दुई साँझ…….।
हरेक साँझ ।

अक्सर हामीहरू देखिने ठाउँ भनेको यही चटपट पसल नै थियो ।
भेटिँदै गयौ ।- हामी नजिक भइहाल्यौ।
आरती, झुमा अनि म ।
कोही एकका लागि कोही आफन्त थिए भने कोही दुई थिए ।
जस्तो:-
मेरा लागि झुमा अनि आरती ।

०००

एकदिनको कुरा हो । झुमाले मलाई साँझको खान खान भनी रातको समय तोकी (आरतीलाई नबोलाउने सर्तमा)। मलाई आफ्नो घर बोलाइन। मैले नाई भन्न सकिन।- भन्दा पनि भनिन ।

तर एउटा कुरो दिमागले सोचिहाल्यो, रातको समय आरती बिना म एक्लै….। यहाँ पक्कै केही त गडबड छ । तसर्थ यता आफूलाई बलियो बनाए ।- कुनै बलियो मुटु भएकी महिला जस्तै ।

०००

झुमाले तोकेकै समयमा म झुमाको घर पुगे । उनका सन्तानहरू अर्को घरमा थिए । उनी आज मसँग बस्ने भन्ने सोच बनाएर अर्कै घरमा मलाई बोलाएकी रहिछिन। -जुन कुरा मैले खाना खादा मात्र पत्तो पाए।

खाना खाईसकेपश्चात हामी केहिबेर गफियौ ।

एकै छिनमा झुमाले मलाई एक अँध्यारो कोठामा लगिन । ढोकाको चुकुल लगाउन मलाई बिन्ती बिसाइन ।

कमजोर जस्तो आफू देखाउँदै मैले ढोकाको चुकुल लगाए ।

०००

यतिकैमा, झुमाले कोठाको बत्ती बाली । कोठाको भित्ता-भित्तामा सिसा पोतिएको थियो ।

-भित्तालाई सिसाले छोपेकी रहेछौ ।- यस्तो किन?- मैले सोधे ।

-कुनै एक विद्वानले भनेका छन्, ‘भित्ताको कान हुन्छ ।’  तसर्थ भित्ताले हामी बोलेको नसुनोस् भनेर मैले यस्तो गरेकी हुँ ।- ऊ बोली ।

०००

-दोस्ताज ।
खास ! म तिमीलाई वर्षौ अघिदेखि एउटा रहस्यमय कुरा भन्न खोजिरहेको थिए । भन्न सकिरहेको थिएन । तर आज भन्छु नै भनेर यस्तो योजना गराई तिमीलाई एक्लै बोलाएकी हुँ ।

यदि सुन्ने नै भए म भन्न तयार थिए ।

-के हो त्यस्तो रहस्य ? म सुन्न हतार छु ।
-यो घरबाट १.९ किमी उत्तर हिँडेपछि एउटा गाउँ आउँछ । जहाँ जम्मा घरधुरी सङ्ख्या १२मात्र छन् अनि रहँदै आएको कुल जनसङ्ख्या- ८४ हो । त्यहाँको छुट्टै एउटा नियम छ । त्यहाँ प्रत्येक घरमा बराबर भाग हुने गरी मान्छेहरू बस्दछन् । कुनै पनि घरमा बढी मान्छे बस्न पाईदैन।- जुन नियम पुरै गाउँलेले मान्नै पर्ने हुन्छ । यदि मानिएन भने उसलाई मारिन्छ र अर्को एक जना खोजेर ल्याइन्छ ।

घरको सङ्ख्या बराबर बनाइन्छ। त्यहाँ कसैको सन्तान जन्मियो भने मेरो जिम्मा लगाइने गर्दछ । जसको पालन पोषण पुरै गाउँ मिलेर गर्नै गर्दछन्। अनि कुनै घरमा कुनै मान्छे मर्‍यो भने यहाँ आएर उनीहरूले नै जिम्मा लगाएको एक मान्छे लगेर घरको सङ्ख्या बराबर बनाइने गरिन्छ । हैन भने कुनै गाउँबाट एक जना उही उमेरको मान्छे चोरेर अरू घरकै बराबर बनाइने गर्दछ ।

– अ ! एउटा कुरा भन्नै बिर्सेछु ।
एक घरमा ७ जना भनेपछि १२ घरमा जम्मा ८४ जना ।
तर हिजो, तिम्रै उमेरको एक मान्छे मरेको छ ।- डर लागी रहेछ। कतै तिमीलाई पो लगिने हो कि ?
यदि तिमी भएनौ भने……। जे होस । तिमी बचेर हिँड। आजको निन्द्रा भने मस्त सुत । के थाहा ? भोलिबाट हामी नभेटिन नि त सक्छौ हैन र ?
उ त्यो खाटमा तिम्रो लागि भनी ओछ्यान लगाइएको छ । म यतै भुईँमा सुत्छु । ओके अहिलेलाई गुडनाईट उर्फ शुभरात्री।

-झुमा सुती।-म सुतेजस्तो गरिदिए ।

०००

लगभग आधा घण्टाको गहिरो नाटकीय निन्द्रा पश्चात् म उठे ।  झुमा मस्त निदाइसकेकी थिई।-सुत्न भन्दा अगाडि सायद ! उसले सोची होली केटो मस्तै सुतिसक्यो ।

०००

छिटो छिटो उठे र दुई वर्ष पहिले आफैले बनाएको केमिकल पाउडर ऊ सुतेको ठाउँनिर राखिदिए । जसको असर ऊ लगभग दुई घण्टा कोमामा जान्थी । त्यसपछि उसको कोठालाई भताभुङ्ग पारे । तेस्रो कोठामा पुग्दा थुप्रै बुकहरू भेट्टाएँ । जुन स्वयम् ऊ आफैले लेखेकी रहिछे ।
-तर बजारमा कुनै पनि रिलिज नै हुनेवाला छैनन्।- भित्तामा लेखिएको थियो ।
मलाई थाह थियो लेखक भन्दा ठुलो अपराधी यो संसारमा अरू कोही हुनै सक्दैन । किनभने उनीहरू बेलाबेला शब्दको हत्या गरिरहेका हुन्छन् ।

दराजको माथिल्लो र्याकमा एउटा सानो कापी भेटे । जुन कापी स्वयम् झुमाले लेखेकी थिई । जसको कभरमा लेखिएको थियो, -” म को हुँ ?  तिमी को हौ ?”

कापीलाई डिटेल्समा हेर्न थाले ।

०००
म को हुँ ?
– म कोही पनि हैन।- त्यसैले म सबथोक हुँ।
तिमी को हौ?
-तिमी “म”हौ ।

०००

लगभग ५० मिनेटको अन्तरालमा उसले त्यो कापीभित्र लेखेका शब्दहरू पढी भ्याए।

०००

खास ऊ लेखक सँगसँगै एक म्याजिसियन पनि रहिछे।
आरती ! अनि ती ११४ जना उसैले क्रेट गरेका प्राणीहरू रहेछन् ।

– ८४ जना, झुमा गाउँ।- जहाँ झुमा बाहेक अरू कोही जानै सक्दैन।

३० जना, -गैरीगाउँ ।

प्लसमा, आरती र दोस्ताज उसैले क्रेट गरेका प्राणी हुन।- एउटा पानामा यस्तो लेखिएको थियो।

झसङ्ग भए। जब अर्को पाना पल्टाए । मेरो मुटुले काम नै गर्न छोड्यो ।

जहाँ मेरो फोटो सहित लेखिएको थियो, -” हार्दिक श्रद्धाञ्जली दोस्ताज!
मृत्यु:-मिति २१०९ साल
पौष २५ गते
रातको १०:५३ बजे ।”

अर्थात्
आजैको समय । घडी हेरे । १० बजेर ५१ मिनेट ३४ सेकेन्ड बितिसकेको थियो ।
अब ! मसँग जम्मा बाँकी १ मिनेट २६ सेकेन्ड छ ।

सोच्दा सोच्दै, यती नै बेला अचानक -ढोका ढकढक भयो । -कोठाको बत्ती निभ्यो । मैले केही सोच्नै सकिन ।
यतिसम्म लेखे र मैले लेख्दै गरेको कथा, छिटो छिटो खुला त्यो झ्यालबाट बाहिर फ्याँकिदिए ।

प्रतिक्रिया दिनुहोस्