Logo

मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता



Spread the love

२५ भदौ, काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सरकारले काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिएको छ । नजिकिँदै गरेकाे चाडपर्वलाई लक्षित गरेर कृषि विकास मन्त्रालयकाे अग्रसरतामा बुधबारबाट काठमाडौंको मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको हो ।

कृषि राज्यमन्त्री रामकुमारी चौंधरीकाे नेतृत्वमा बजार अनुगमनमा निस्केको सरकारी टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित आँगन, गुलाव र सजन गोथ मिठाई पसलको अनुगमन गरेको छ । गुणस्तरीय खाद्य बस्तुको उत्पादन र विक्री वितरणका लागि सम्बन्धित निकायलाई सचेत गराउन सो अनुगमनको कामलाई तीव्रता दिइएको कृषि राज्यमन्त्री चौंधरीले जानकारी दिईन् ।

अनुगमनको क्रममा तीनवटै पसलहरुको व्यवस्थापकीय पक्ष कमजोर देखिएकाले उनीहरुले उत्पादन गरेका मिठाई र मिठाईका परिकारहरुको गुणस्तर चेकजाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको पनि उनले बताईन् । सरकारले सबै खाद्य बस्तु उत्पादन तथा विक्री वितरण केन्द्रहरुमा अनुगमनको कामलाई तीव्रता दिने योजना पनि बनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता बैद्यले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताईन् । उनले अनुगमनका क्रममा सफाईमा धेरै कमजोरी भेटिएको पनि बताईन् । मिठाई पसलमा प्रयोग गरिएका घ्यू, रंगको गुणस्तरीयतामाथि प्रश्न उठेकाले त्यसको परीक्षणका लागि लगिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्