Logo

राजधानीसँग जोडिएको गाउँपालिका सडक सञ्जालसँग जोडिन सकेको छैन ।



Spread the love

गाउँगाउँमा सिंहदरबार पुर्याउने उद्देश्यका साथ स्थापना भएका स्थानीय तहहरूले गाउँगाउँमा के-कस्ता विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ? जनताको मतद्वारा गाउँको विकास र समृद्धिका लागि भनेर निर्वाचित भएका जन-प्रतिनिधिहरूका चुनावताका योजना के-के थिए ? तीमध्ये के-कति पुरा भए र कति अझ बाँकी छन् ? आमजनताका गुनासा र समस्याहरू कतिको पुरा हुँदै छन् ? जनप्रतिनिधिका समस्या चाहिँ के हुन् ? कुन-कुन कारणले उनीहरूले सोचेअनुसार विकासको गोरेटो कोरिन सकिरहेको छैन ? समाधानको बाटो के ?

यी यस्तै आम-सवालहरू लिएर सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुग्ने लक्ष्य सहित ‘जनप्रतिनिधिसँग सल्लेरी खबरको यात्रा प्रारम्भ गरेको हो । यस शृंखलामा हामी धादिङको उत्तरी भेगमा पर्ने रुवीभ्याली गाउँपालिका र गाउँपालिकामा अध्यक्ष चेरुङ तामाङसँग छौँ ।

उत्तरी धादिङको साविकका तीन गाविस (लापा, तिप्लिङ र सेर्तुङ) मिलेर अहिले रुबिभ्यालि गाउँपालिका बनेको छ ।

के हो रुवीभ्याली ? झट्ट नाम सुन्दा कुनै सहरजस्तो लाग्छ । यो तिब्बतसँग जोडिएको दुर्गम तर, मनोरम हिमाली क्षेत्र हो ।

स्थानीय तह पुनर्संरचनामा साविकका लापा, तिप्लिङ र सेर्तुङ गाविसलाई जोडेर रुवीभ्याली  गाउँपालिका बनाइएको हो । यस क्षेत्रमा बहुमूल्य धातु रुवी पाइने भएकाले नाम रुबी भ्याली राखिएको हो । रुवीभ्यालीको कुल जनसंख्या ९ हजार ५६५ छ, यो ४ सय १ वर्ग किलोमिटरमा भूगोलमा फैलिएको छ । यस गाउँपालिकामा ६ वटा वडा छन् ।

दुर्गम भए पनि रुवीभ्याली  रमणीय छ । पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गणेश हिमालको ट्रेकिङ रुट पनि यहीँ पर्दछ । कस्तुरी, रेडपाण्डा र डाँफे लगायत विभिन्न लोपउन्मुख जिवजन्तुहरु यहाँ देख्न पाइन्छ । करिब २०० मेघावाट विद्युत उत्पादन क्षमता रहेकोमा केही जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । रुवीभ्याली  बौद्ध धर्माबलम्वी बहुल क्षेत्र हो ।

प्रस्तुत छ, ३ न. प्रदेशमा रहेको धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

धादिङ जिल्लाकै विकट गाउँपालिकाको रूपमा चिनिन्छ यस गाउँपालिकालाई, के कारणले रुवीभ्याली यति विकट भईरहेको छ ?

धादिङको सदरमुकामबाट यो गाउँपालिका ३९ किमि माथि पर्छ । यसको विकटताको प्रमुख कारण भौगोलिक विकटता नै हो । नेपालको राजधानीसँगै जोडिएको जिल्ला भएपनि यहाँ अहिलेसम्म सडक तथा यातायातको व्यवस्था पुग्न सकेको छैन ।

सडक संजालको विस्तार बारे केहि बताईदिनुहोस् न । रुबीसम्म कसरी आउन सकिन्छ ?

पश्चिमी तामाङ सभ्यताको उद्गम थलो ‘ल्हाप्साङ कर्पो’ क्षेत्रमा पर्ने रुवीभ्याली  पुग्न सदरमुकाम धादिङबेंसीबाट तीन दिन लाग्छ । रसुवाको स्याफ्रुबेंसी, स्योमदाङ हुँदै जाँदा पनि उत्ति नै समय लाग्छ । अहिले सोमदाङ हुँदै ३३ किमिको बाटो पाङसाङ पास हुँदै अघि बढेको छ ।

केही वर्षअघि घुम्न गएको एक ताइवानी जोडी हिउँमा फसेको र प्रेमिका मृत्यु भएको यही पाङसाङको घाँटीमा हो । धादिङबेंसी खनियाबास हुँदै पनि बाटो खुलेको छ अहिले । हामीले स्वास्थ्य, शिक्षा र पर्यटन–संस्कृति प्रवर्द्धनसँगै बाटो निर्माणलाई प्राथमिकतामा राखेका छौं । छिट्टै रुवीभ्यालीमा सहजै पर्यटन पुग्न सक्ने स्थिति बन्नेछ ।

बिजुलीको अवस्था कस्तो छ ?

यस गाउँपालिकामा बिजुली पनि छैन । माइक्रो हाइड्रो भने रहेको छ । पुरै वडाको विद्युतको मागलाई यसले पुरा गर्न सक्दैन । २/३ वटा चिममात्रै यसबाट बाल्न सकिन्छ ।

विद्युत प्रवाह कसरी हुन्छ ?

हाम्रा गाउँपालिकामा ६ वटा वडाहरू रहेका छन् । हामीले बेलुकीको समयमा मात्र विद्युत चलाउने गरेका छौँ । बेलुका ६ बजे देखि बिजुली अन हुन्छ । तर उज्यालो हुने बित्तिकै फेरी अफ गरिहाल्छौँ ।

बाटो तथा बिजुलीका लागि के प्रयास भइरहेका छन् ? कहिलेसम्म गाउँपालिकासम्म बाटो तथा बिजुली आइपुग्ला ?

बाटाका लागि ट्र्याक खोल्ने कामहरू भए पनि पुलहरू छैनन् । धादिङबेसीको निकट लापाङ भन्ने ठाउँमा समेत पुलहरू छैनन् । हिउँदमा मात्र चल्ने खनियाँवास गाउँपालिकाको सिमानासम्म ट्र्याक खोलिसकेको छ । यहाँसम्म गाडी पनि चल्छ । माथि छेप्रुबेसी हुँदै पाङसाङ डाँडा काटेर हाम्रोसम्म आउन सकिन्छ । यो पार्वतीकुण्ड हुँदै आउँने हो । नयाँ ट्र्याक भएकाले बाटो भने जोखिमपूर्ण नै छ ।

कर्मचारी दरबन्दीको अवस्था कस्तो छ ?

कर्मचारीको अवस्था एकदम लाजमर्दो छ । ६ वटा वडा नै सचिव बिहीन रहेका छन् । लगभग ३ वर्षको समयावधीमा ४ जना कार्यकारी अधिकृतहरू परिवर्तन भइसके । भौगोलिक विकटताले गर्दा यहाँ एकचोटि आउने अधिकृत अर्को चोटि आउने मन नै गर्दैनन् । कर्मचारी अभाव हुँदा प्रयाश: काम ठप्प छन् । मन्त्रालयले पनि आशा मात्रै देखाउँछन् । कर्मचारी नै भएता पनि हाम्रो उनीहरूलाई तलब खुवाउने अवस्था समेत छैन ।

महत्वपूर्ण खनिज पदार्थ रुबी पाइन्छ यहाँ। यसको बारेमा केही बताइदिनु न ।

हिमालले घेरेको हाम्रो गाउँपालिकामा रुवी पाइन्छ । रुवी मात्र नभएर यहाँ सिसाखानी तथा फलामखानी पनि छ । २/४ वर्ष अगाडी कुटो कोदालोले खनेको रुवी बेचेर काठमाडौँमै अहिले घर बनाएर बस्नेहरू पनि यहाँका स्थानीयवासीहरू नै हुन् ।

पाङसाङ भ्यु, माग्ने डाँडा तथा मेल्बु दरबार भन्ने रहेछ ।  यस्ता सम्पदाहरूको संरक्ष्ण र प्रवद्धनका लागि के-कस्ता कार्ययोजना तयार भएका छन् ?

पाङसाङ भ्युमा भ्यु टावर बनाउनका लागि केही रकम छुट्याइएर डिपीआर समेत तयार भएको  छ । यो सबै प्रदेश सरकारको पहलमा भइरहेको छ ।  मेल्बु दरबारको बारेमा चाँही मलाई त्यती जानकारी भएन । यस बाहेक तामाङ समुदायमा प्रचलित लोकभाका म्हेन्दोमाया र दोरादेखि घोडा नाच, लामा नाच, झाँक्री नाचले धनी  छ रुबी । म्हाने र तान्त्रिक महांकाल जात्रादेखि गुरुङ समुदायको घाटु पनि प्रचलित छ- रुवीभ्यालीमा । यियस्ता सांस्कृतिक पर्व/नाचहरूको हामी प्रचार प्रसारमा समेत हामी क्रियाशील छौं ।

नागपोखरी, कालोदह तथा गणेश हिमाल जस्ता प्राकृतिक सुन्दरता तथा आकर्षण भएको यस स्थानमा पर्यटन वर्ष २०२० का लागि रुबी फलिफाव हुने देखियो । होइन त ?

रुवी, क्रिस्टललगायतका बहुमूल्य रत्न पाइने रुबी भ्याली भौगोलिक हिसाबले विकट भए पनि सांस्कृतिक हिसाबले निकै सम्पन्न छ । तर  सरकारले हामीलाई वेवास्ता गरेको देखिएको छ । गणेश हिमाल, कालोदह, तातोपानी जस्ता ठाउँ यहाँ छन् । जडिबुटिमा बहुमुल्य यार्सागुम्बादेखी पाँचऔले पनि यहाँ पाइन्छ । वन्यजन्तुमा रेडपान्डा, कस्तुरी  तथा घरपालुवामा चौरी च्याङ्ग्रा लगायत यहाँ पाइन्छ । यो पनि पर्यटनका लागि आकर्षण हुन सक्छन् । तर उब्जाउ भएको खाद्यान्न समेत फ्याल्नुपर्ने स्थिति छ- यहाँ।

तर अर्गानीक आलुको उपभोग समेत हुन्न सक्दा खोलामा वर्षेनी आलु फाल्नु पर्ने स्थिति सिर्जना भइरहेको छ । यसकारण पर्यटन वर्ष र रुवीभ्याली को बारेमा केहि पनि यसै भन्न गाह्रो छ ।

यो वर्ष कति आलु उब्जाउ भयो ? कति आलु खाइयो र कति आलु कुहाएर फालियो भन्ने केही तथ्याङ्क छ ?

रुबी भ्याली आलु खेतीको लागि अत्यन्त राम्रो ठाउँ नै हो ।  धेरै उब्जाउ गरेर काठमाडौँ लान सक्ने स्थिति नभएका कारण गुजाराका लागि मात्रै आलु उब्जाउ हुने गर्दछ । मानिसले बोकेर ल्याउँदा मुल्य आकाशिन जान्छ । तथ्यांक त हेर्नैपर्छ ।

आलुको मुल्य कस्तो छ ?

अहिलेसम्म यहाँ आलु बेच्ने अवधारणा नै बनिसकेको छैन । सबैले आलु उब्जाउ गर्ने भएकाले आलुको कुनै निश्चित मुल्य नै छैन ।

कोदो र फापर उब्जाउको अवस्था कस्तो छ ?

हाम्रोमा फाफरको खेती भने भएको छैन । गहुँ, जौँ, सिमी प्रशस्त मात्रामा फल्छ । सबैभन्दा धेरै फल्ने त आलु नै हो ।

कृषिका लागि अरू गाउँपालिका भन्दा यहाँको माटोको समस्या छ हो ?

माटो परीक्षण गराएका छौँ । माटोमा कुनै समस्या छैन । हामीले स्याउ रोप्नका लागि माटो परीक्षण गराएका हौँ । हाम्रा कुनै वडामा केहि व्यक्तिले  व्यक्तिगत रूपमा स्याउ लगेर रोपेका पनि छन् । यसपालि हामीले कृषि मन्त्रालयसँग स्याउका बोटहरू माग गरेका छौँ ।

गाउँपालिकाले नौलो स्याउका लागि मात्रै माटो परीक्षण गराएको हो । अरू आलु, मकै, कोदो जौँ, गहुजस्ता खेतीका लागि त माटो एकदम उर्बर नै छ ।

गाउँपालिकामा भोकमरीको अवस्था सिर्जना हुने जस्तो केही छ त ?

भोकमरी नै आउने अवस्था चाही छैन । धान खेती नभए पनि मकै, आलु जस्ता खाद्यान्न भरपुर रहेको छ ।

रोग व्याधीहरू केही देखिएका छन्  ?

सायद हावापानी नै राम्रो भएर होला यहाँ कुनै रोगव्याधीको अवस्था रहेको छैन । डरलाग्दा रोगले विकराल रूप लिएको हामीले सुनेको छैन । खानपिनमा समस्या हुँदा झाडापखाला लाग्ने जस्ता त सामान्य नै भयो ।

जनताहरूलाई आर्थिक रूपमा सबल बनाउँन के कस्ता कार्य योजनाहरू बनेका छन् ?

यातायातको सुविधा नभएसम्म आर्थिक विकासको सम्भावना नै छैन । त्यहाँ उब्जाउ हुने सामाग्रि निर्यात गर्न प्रथमत: यातायात चाहिन्छ । मान्छेले नै बोकेर बिक्री गर्न सम्भव छैन । बेच्न सके सहायता पुग्ने थियो । तर यो पूर्ण रुपमा सम्भव नहुँदा आलु तथा मकै जस्ता उत्पादनहरू नाश भएर गइरहेका छन् । जबसम्म हाम्रो गाउँपालिका सडक सञ्जालसँग जोडिदैन तबसम्म अर्बाै रकम खर्च गरे पनि केही हुनेवाला छैन ।

शैक्षिक संस्था र यसको अवस्थाको कस्तो रहेको छ ?

हाम्रो गाउँपालिकामा ४ वटा मावि स्कुलहरू रहेका छन् । हाम्रा ६ वटा वडामा २१ वटा स्कुलहरू रहेका छन् । रुवीभ्याली  शैक्षिक स्थितिमा पनि कमजोर नै रहेको छ । योग्यता भएका राम्रा शिक्षकहरू यहाँ आउन सकिरहेका छैनन् । १०/१५ हजारको जागिरका लागि कसैले पनि जोखिम मोल्न नचाहेको देखिन्छ । कमजोर शिक्षकहरू मात्रै यहाँ पाइने भएकाले शैक्षिक स्थिति कमजोर बन्न पुगेको हो  ।

शैक्षिक अवस्था सुधार्नका लागि सरकारले के गर्नु पर्छ जस्तो लाग्छ ?

यहाँका हरेक कमजोरी सुधार्ने उपाय भनेको पहिलो सडक नै हो । सडकसँग गाउँपालिका नजोडिएसम्म राम्रा शिक्षकहरू त्यहाँ आउन चाहदैनन् । कमजोर शिक्षकले पढाएर एसइई दिएका ५० जनामध्ये ४/५ जना मात्रै पास हुन्छन् । सडक संजालसँग नजोडिएसम्म हाम्रो गाउँपालिका कमजोर नै रहिरहन्छ ।

यस क्षेत्रमा वैदेशिक रोजगारमा जानेको संख्या कति छ  ?

प्रत्येक घरका लगभग एक जना विदेशमा रहेको अवस्था छ । सीप नभएपछि विदेश गएर पनि लेबरकै काम गर्ने हो । त्यहिँ गरिरहेका छन् ।

तपाईको खानपानदेखि व्यक्तिगत दैनिकीबारे केहि बताइदिनु  न !

पेटको समस्या भएकाले बिहान उठेर पानी खाएसँगै मेरो दैनिकी शुरू हुन्छ । यसपछि साथिभाई भेटघाट र अफिस जाने गर्छु । ग्याष्ट्रिकको समस्याले म सादा खाना नै मन पराउँछु । बचपनदेखि नै जाँडरक्सी र चुरोटबाट टाढा नै रहेँ ।

चार जनाको मेरो परिवारमा छोराबुहारी नै अष्ट्रेलियामा छन् । यहाँ श्रीमान श्रीमति मात्रै बस्छौँ । मेरो श्रीमतिको काठमाडौँमा आफ्नै व्यवसाय छ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

अन्त्यमा, हाम्रो प्राकृतिक श्रोत र साधनको उपयोगमा सहयोग पुर्याइदिन म यसै मिडियामार्फत सरकारलाई आग्रह गर्छु । दोष राज्यको मात्र नभएर त्यहाँको जनताको पनि हुन सक्छ । २१ औँ शताब्दीमा पनि राजधानीसँग जोडिएको गाउँपालिका सडक सञ्जालसँग जोडिन सकेको छैन । यसको कारणलाई तपाइँ हामी सबैले खोतल्नुपर्दछ । यो कुरालाई मिडियामार्फत बाहिर ल्याइदिनुहुन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्