Logo

मेरो कवितामा पसिनाको थोपा देखिन्छ ।



मेरो कवितामा पसिनाको थोपा देखिन्छ ।

कुनै बेला उनी आफूलाई ‘अश्रु सागर’ भनेर चिनाउँथे। पछि एक जना लेखकले उनको कविता सुनेपछि भनेछन्, “यति गहिरो भावको कविता लेख्नुहुँदो रहेछ। नाम अश्रु होइन असीम सागर राख्नुस्।” उनले त्यसै दिनदेखि अश्रु छुटाइदिए। उनलाई असिम नाम प्यारो लाग्छ।उनको खास नाम भने फत्तेमान श्रेष्ठ हो। तर उनी भन्छन्, “एउटा नाम सिङ्गो जीवन होइन।”

अर्घाखाँचीको वाङ्लामा जन्मिएका असीम सागर नेपाली साहित्यमा बलशाली नाम हो। बाल्यकालमा उनी चित्रकार बन्ने सपना देख्थे तर उनलाई समयले यसरी बदल्यो कि उनी जीवनलाई एउटा सिङ्गो किताब देख्न थाले। उनले देखेनन् मात्रै उनले आफूलाई कविता गजल र चित्रकला तिन वटै विधामा ढाले पनि। पेसाले सडकपेटिमा तरकारी बेच्छन् उनी। तर उनका कविताहरू विद्रोह बोल्छन्।

२०७३ सालको राष्ट्रिय कविता महोत्सवमा तृतीय पुरस्कार,जोगमाया गजल पुरस्कार २०७३, अनलाइन साहित्य पुरस्कार २०७३, मानशोभन स्मृति पुरस्कार २०७३, बसिबियाँलो सम्मान २००७( दार्जिलिङ),साझा साहित्य सम्मान २००८( दार्जिलिङ कालिम्पोङ),कवि बिमल गुरुङ स्मृति राष्ट्रिय कविता प्रतियोगिता( प्रथम २०७४) आदि पुरस्कार र सम्मान प्राप्त गरेका उनी उच्च वैचारिक चेतका कविता लेख्छन्।
उनका दुई गजल सङ्ग्रहहरू; `जुन पोखिएको रात´`अस्तित्वको आवज´ प्रकाशित छ। उनले `स्वर्गको सपना´ नामक गजल एल्बम पनि निकालिसकेका छन्। साथसाथै यसै साल फाइन प्रिन्टबाट उनको कविता सङ्ग्रह बजारमा आउँदै छ।

प्रस्तुत छ: सल्लेरी कोलाजको लागि अन्शु खनालले उनै असिम सागरसँग गर्नुभएको कुराकानी:-

अन्शु – तपाईँको लेखन यात्रा कसरी शुरु भयो ?

सागर-  लेखन यात्रा ठ्याक्कै यसरी नै भन्ने यकिन छैन । तर बचपनको सपना थियो चित्रकार बन्ने । पछि समयले मलाई यसरी बदल्यो कि सिङ्गो जीवनलाई एउटा किताबको रूपमा हेर्न थालेँ । यही किताबका दु:ख, अभाव , पिडाका पानाहरू पल्टाउँदै जाँदा केही लेखकका साहित्यिक पुस्तकले मेरो बोक्रे लेखनलाई परिष्कृत गर्न मद्दत पुरायो । लेख्दै जाँदा दु:खको भारी यतै कतै कुनै चौतारामा बिसाएजस्तो मनमा कता कता खुसीको रङ पोतिन थाल्यो । पछि पढ्ने लेख्ने एउटा आदत बन्यो । रहर बन्न थाल्यो । आज त्यही रहरले जिम्मेवारी बोध गरेर देश, समाज र मानिसका ढुकढुकी लेख्नमा प्रयासरत छु ।

मैले अब आउने किताबमा आवाज विहीनहरूको आवाज बन्ने कोसिस गरेको छु। अब मङ्सिरसम्म किताब आउँछ । म दबिएका आवाजहरू ल्याउदै छु।


अन्शु –लेखनमा के को मुद्दा उठाउन रुचाउनु हुन्छ ?

सागर- म आफ्नो कविताद्वारा भुईँ मान्छेको अभाव, पिडा, क्रन्दन र श्रमिक वर्गको पसिनामाथि दोहन गर्ने, निम्न वर्गमाथि अन्याय र शोषण गर्ने अहम् चरित्रको भण्डाफोर गरी शोषित वर्गको दबिएको आवाजलाई मुखरित गर्न रुचाउँछु । यसैले मेरो कवितामा पसिनाको थोपा देखिन्छ । जुन थोपाले सिँचेर जीवन र जगतलाई हरियाली बनेको हेर्न चाहन्छु ।

अन्शु – भनिन्छ नि, एउटा राम्रो कवितामाथि एउटा राम्रो समालोचनाको आवश्यकता पर्दछ । नेपाली समालोचनाको अवस्था के कस्तो पाउनुहुन्छ ?

सागर- यो कुरा सत्य हो कि एउटा राम्रो सृजनाको मूल्याङ्कन राम्रो समालोचनाले मात्रै गर्न सक्छ या राम्रो पाठकले गर्न सक्छ। तर हाम्रो नेपाली समालोचनाको दृष्टिमा भने राम्रो सृजनाको सही समालोचना हुन सकिरहेको छैन । गुट र उपगुटमा विभाजित छ। एकअर्काको चाकडी र व्यक्ति पूजामा निहित छ । सृजनालाई होइन, सर्जकलाई खुसी पारेर जतिसक्दो उसबाट फाइदा उठाउने प्रयत्न गरेको देखिन्छ र सर्जक आफैले पनि आवश्यकता भन्दा बढी प्रशंसा खोजेको महसुस हुन्छ । जबसम्म यी कुराको अन्त्य हुन्न, राम्रो र निष्पक्ष समालोचनाको आस गर्नु भनेको चट्टानबाट मुहानको आशा गर्नु जत्तिकै हो।

अन्शु – तपाईँ त चित्र पनि कोर्नु हुन्छ । साहित्य र चित्रकला बिचको सम्बन्ध कस्तो छ र हुनुपर्छ जस्तो लाग्छ ?

सागर- हो, मयो पहिले चित्रकार थिएँ,र चित्रकारकै रूपमा स्थापित हुन चाहन्थेँ । पछि रङले भन्दा शब्दले मलाई तान्यो । हरेक सौन्दर्यको भाषा मौन हुन्छ ।  मौनता जसलाई कसैले रङद्वारा अभिव्यक्त गर्छन् त कसैले शब्दद्वारा । यद्यपि दुवै उत्तिकै सुन्दर र पठनीय हुन्छन् । यो गुराँस र गुलाबलाई दाँज्ने ल्याकत मसँग छैन ।

अन्शु – साहित्यकार आफैमा एक सामाजिक अभियन्ता हो ? समाजको मानसिकता र अवस्था आज जहाँ छ, त्यसमा लेखकहरूको योगदान/ दोष के छ जस्तो लाग्छ ?

सागर- समाजलाई साहित्यकारले होइन साहित्यकारको सृजनाले नेतृत्व गर्न सक्नुपर्छ । सृजनामा भएको विचारले हिँडाउन सक्नुपर्छ । त्यसैले भनिन्छ, ‘साहित्य सामाजिक रूपान्तरणको मियो हो।’ अर्को कुरा समाजको जुन अवस्था र मानसिकता छ। हाम्रो कमजोर लेखन र सङ्कीर्ण मानसिकताको उपज हो- आजको यो अवस्था । यसमा साहित्यकारको पनि थुप्रै दोषहरू छन् । हामीले विषय त दियौँ, विचार दिन सकेनौ । अरूलाई उठाउन खोज्यौ, आफू उठ्न खोजेनौ । जो लेख्यौ त्यो गरेनौ, जे गर्‍यौ त्यो लेखेनौ । सिर्जना र सर्जक बिचमा जुन ठुलो खाडल छ । त्यो खाडल हामी आफैले निर्माण गरेका छौँ ।

अन्शु – अहिलेसम्म कुनै मनस्थिति नै बदल्ने किताब पढ्नुभएको छ ?

सागर- स्वेट मार्डनको प्रेरणादायी हिन्दी पुस्तक “सफलताकी कुञ्जी”, मेक्सिम गोर्कीको “आमा”,  नेपाली प्रतिनिधि कविताको सङ्ग्रह र केही वैज्ञानिक तथा महापुरुषहरूको जीवनी थुप्रै पटक सिरानीमा राखेर सुतेको छु । जसले फत्तेमानलाई असीम सागर बनाएका छन्।

अन्शु – नेपालमा पछिल्लो समय गजलको  बजार कस्तो छ जस्तो लाग्छ ?

सागर- बिक्री भन्दा हल्ला बढी छ बजारमा । यति बेला मलाई भूपि शेरचनको कविता याद आइरहेछ । ” यो हल्लै हल्लाको देश हो “।

अन्शु – पुस्तक पढ्न रुचाउनेहरूलाई तपाईँ कस्तो किताब पढ्न सुझाव दिनुहुन्छ ?

सागर- स्वेट मार्डनका किताब र अन्य महापुरुषहरूको जीवनी । जसले मलाई बारम्बार परिवर्तन हुन घच्घचाएका छन् ।

अन्शु – कविता, गजल र चित्रकला यी तीन वटै कुरा एकैसाथ गर्दा कस्तो अनुभव  हुँदो रहेछ ?

सागर- मूलतः कलाबाट मान्छेले मान्छे भित्र उत्पन्न विचार, भाव तथा आफू बाचिरहेको समय अभिव्यक्त गर्दछ। यी  माध्यम हुन। कसैलाई कुनै माध्यम सहज लाग्ला कसैलाई कुनै। यसो भई रहँदा सबै माध्यम मेरा लागि उत्तिकै मनपर्दा र निकट लाग्छन्। तर सबै माध्यममा उत्तिकै समय दिन र काम गर्न चाहिँ नसकिँदो रहेछ।

म आफ्नो कविताद्वारा भुईँ मान्छेको अभाव, पिडा, क्रन्दन र श्रमिक वर्गको पसिनामाथि दोहन गर्ने, निम्न वर्गमाथि अन्याय र शोषण गर्ने अहम् चरित्रको भण्डाफोर गरी शोषित वर्गको दबिएको आवाजलाई मुखरित गर्न रुचाउँछु ।


अन्शु – तपाईँको किताब बजारमा आउँदैछ,आउँदै गरेको किताको बारेमा केही भन्दिनोस् न।

सागर- मैले अब आउने किताबमा आवाज विहीनहरूको आवाज बन्ने कोसिस गरेको छु। अब मङ्सिरसम्म किताब आउँछ । म दबिएका आवाजहरू ल्याउदै छु।

०००

०००

यी पनि पढ्नुहोस्ः

राजन मुकारुङ सँग अक्षरका कुरा

साहित्य यस्तो विधा हो- जहाँ शत्रु पनि विद्वान फेला पर्छन्

ज्ञानमा कर लगाउनु भनेको नागरिकलाई ज्ञानमा सिमितता ल्याऊ भन्नु हो

असली कविता लेख्न सकेको दिनबाट मेरो लेखनको यात्रा समाप्त हुन्छ

कविता, कथा तथा सृजनात्मक लेखनमा सक्रिय गोर्खाकी अन्शु खनाल मनोविज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्