Logo

२३ लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् -२०७६ हुने



Spread the love

काठमाडौँ । याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा २३ जना लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् -२०७६ हुने भएको छ । यही भदौ २८ गते, शनिबार राष्ट्रिय नाचघरको मिनीहलमा दिउँसो १२:३० बजे सुरु हुने कार्यक्रममा लिम्बु समुदायका चर्चित कविहरु चन्द्रवीर तुम्बापो, धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ, प्रकाश आङ्देम्बे, बिमला तुम्खेवा, राज माङ्लाक, स्वप्निल स्मृति, सुन्दर कुरुप, हाङयुग अज्ञातलगायतको कविता वाचन रहेको छ ।

ब्लिस म्यूजिकको सहकार्यमा रैथाने सङ्गीत समूहको पार्श्वसङ्गीत रहने उक्त अन्प्लग्ड कवितावाचन कार्यक्रमको सङ्गीत संयोजन समूहकी संस्थापक झूमा लिम्बुले गरेकी छिन् । बीचमा गायक यासेली योङ्हाङको मुन्धुमी गायन प्रस्तुतिपनि राखिएको छ । कार्यक्रममा तुम्याङको रुपमा बैरागी काइँला, बालकृष्ण माबुहाङ, अभि सुवेदी, येहाङ लावती, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ र निरन्ती तुम्बापो रहने तय भएको छ ।

‘लिम्बुवानी इतिहास तथा कला संस्कृतिमा आधारित पहिचानवादी’ कविताहरु प्रस्तुत हुने उक्त कार्यक्रममा कविहरु अप्सरा लावती, उत्तम लिम्बु, देवेन्द्र सुर्केली, प्रदीप मेन्याङ्बो, बच्चु हिमांशु, मधु केरुङ, मुनाराज शेर्मा, रञ्जना लिङ्देन, रोहित आङबो, विष्णु नेम्बाङ, सनि लिम्बु, संगम सुहाङ, साङ्सेन वारक र सीता तुम्खेवाको पनि प्रस्तुति रहनेछ ।

ज्ञानोदय बालबाटिका स्कूल, ललितपुर, इतर आवाज साहित्य समाज, दक्षिण कोरिया र याक्थुङ लेखक सङ्घ, दक्षिण कोरिया समितिको सहप्रायोजन रहेको कविता तङ्सिङ् -२०७६ यसै वर्ष याक्थुङ लेखक संघ, उपत्यका समिति गठन भएसंगै आयोजकको यो पहिलो कार्यक्रम हो। आयोजकका अनुसार तङ्सिङ् अर्थात लिम्बुहरुको धार्मिक अनुष्ठानलाई कवितासंग जोडेर कविताको अनुष्ठानको स्वरुपमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्