Logo

कृष्ण रेउलेसँग गीतसंगीतका कुरा



नेपाली लोकदोहारी गितसंगीतमा करिब दुई दशकदेखि क्रियाशील रही आफ्नो छुट्टै पहिचान बनाउन सफल, राष्ट्रिय लोकदोहारी गित प्रतिष्ठान नेपालका सचिव, सुप्रसिद्ध गायक एवम् सर्जक कृष्ण रेउलेको स्थाई घर सल्यान हो । नेपाली गीतसंगीतमा समर्पित उनी हाल काठमाडौंमा बसोबास गर्दछन् । 

आज गाउँमा, गाउँमा हल्ला चल्यो, डोल्पा जाने रेल बाटो, ए हजुर भाले मजुर, दिलको ढोका खुल्ला छ,नक्कलीको ठिक छैन चाला जस्ता सुपरहिट दर्जनौ गितहरूले हजारौंका मन लुटेका गायक रेउलेसँग नेपाली गीतसंगीतको पछिल्लो अवस्था साथै उनको जीवनको विविध पक्षका बारेमा कुराकानी गरेका छौं 

प्रस्तुत छ, सुप्रसिद्ध गायक एवम् सर्जक कृष्ण रेउलेसँग  सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको कुराकानीको सम्पादित अंश :


साइली गीत खुब चलेको रहेछ त अहिले ?

हाम्रा पुराना पुस्ताहरूमा रोधी गाउँदै रात कटाउने मौलिक भाकामा रहेको गीत हो साइली । यसै भएर चलेको हुनु पर्छ ।

“गाउँमा हल्ला चल्यो“ भन्ने गीत पनि धेरै सुनिएको छ । यी गीतहरू गाउँदा कस्तो लाग्यो ?  समग्रमा कसरी आयो यो गीत ?

अहिले कलाकारले एउटा बन्द कोठाभित्रै सिर्जना गर्ने चलन चलेको छ । यो केहि हदसम्म राम्रो कुरा हो । परिकल्पनाको कुनै सीमा हुँदैन । बन्दकोठा भित्रै बसेर पनि क्षितीज, बगैंचा या पहाडसम्म पुग्न सकिन्छ । त्यही अनुसार कल्पना गरेर आफैले गरेको सिर्जना हो यो गीत ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको तपाई सचिव हुनुहुन्छ। पटकपटक यस परिषद विवादित पनि हुँदै आइरहेको छ । लोकगीत संरक्षणका लागि यो प्रतिष्ठानले के गरिरहेको छ ?

यो लोकदोहोरी कलाकार मिलेर बनाइएको छाता संगठन हो । यसलाई राज्यबाट केही अधिकार पनि प्राप्त भएको छैन । यो लोकदोहोरी कलाकारको हकहीत र लोकदोहोरीमा हुने विकृति निर्मुल पारौँ भनेर साथै नवआगन्तुक कलाकारहरूलाई पनि उजागार गरौँ र एकतामा रहौँ  भन्ने उद्देश्यले खोलेको संस्था हो  ।

यस संस्थामा निर्वाचीत भएपछि पदाधिकारीहरूले लोकदोहोरीमा विकृति सिर्जना नगरौँ र अरूलाई गर्न प्रेरित नगरौँ भन्ने पहिलो बैठकको निर्णय भए अनुसार हामीबाट विकृति र विसङ्गती विरुद्ध बोल्दै आएका हौँ । मल्टिमिडियाको पहुँच घरघरमा भएको अवस्थामा पनि हामीले धेरै विकृति सिर्जना गर्ने खालका सामाग्रीहरू बाहिर आउनबाट रोक्यौँ । थाहा पाएसम्म विविध उपाय लगाएर विकृति झल्किने खालका सिर्जनाहरू बाहिर आउनबाट हामीले रोकीरहेका छौं ।

अहिलेका गीतहरूमा के-कस्ता विकृतीहरू देख्नु भएको छ ?

कतिपय गीतमा भएका शब्द नै विकृतिलाई प्रोत्साहन गर्ने खालका हुन्छन् । शब्दको भाव नबुझी गीतको भिडियो निर्देशन गर्नु पनि विकृति नै हो । मूलतः कलाकारको स्टेज प्रदर्शनले विकृति भित्राएको हामी पाउँछौ । त्यस अलवा शब्द र भिडियोबाट समेत विकृतिले जरा गाडेको अवस्था छ ।

तपाईहरू जस्तालाई गीत गाएर नै बाच्ने आधार कत्तिको छ ?

मैले गीत गाउन लागेको २१ वर्ष जति भयो । हामी अझै पनि संघर्षको चरणमा नै छौँ जस्तो लाग्छ । राज्य अस्तव्यस्त भएको प्रतिफल कलाकारले दशकौँ संघर्ष गर्नु परेको छ । सहज  र असहज परिस्थिति आउने गर्छन नै । भनौँ न अहिलेसम्म गीत संगीतका माध्यमबाट नै बाचिएको छ ।

उर्जारूपी दर्श्कहरूको माया र सुझाव तथा प्रशंसा नै हाम्रो लागि जिउने आधार बनेको छ । लामो संघर्षबाट उत्कृष्टता हासिल गरेका कलाकारहरूलाई बाच्न सहज छ ।

अर्कोतर्फ  २/४ वर्ष खाडीमा गएर आएपछि लोकदोहोरी गायक बन्ने चलन नै चलेको छ । हरेक क्षेत्रमा सफल भए पनि नाम कमाउनका लागि दोहोरी क्षेत्रमै लाग्ने चलन पनि उत्तिकै छ । यसको प्रत्यक्ष असर निरन्तर यही क्षेत्रमा लागिरहेका कलाकारहरूलाई परेको छ । राज्यबाट कलाकारको वर्ग छुट्टिनु आवश्यक छ ।

युट्युबले यसलाई प्रभाव पारेको हो ?

कुनै राम्रा गीतमा भ्युअर्स नै हुदैननन् । तर, विकृती भएका गीतहरूको भ्युज अत्यन्तै धेरै हुन्छ ।

विकृति कसरी रोक्ने त ?

यस्ता विकृती भएका गीतहरूलाई रोक्ने जिम्मेवारी दर्शकहरूकै हो । कस्ता गीतहरू सुन्ने, कस्ता कलाकारलाई माथी ल्याउने भन्ने दर्शकहरूको हातको कुरा हो ।

नेपाली गीतसंगीतको भविष्य कस्तो देख्नुहुन्छ ?

म यो गीतसंगीतबाट टाढा रहन सक्दिन जस्तो लाग्छ । दोहोरी तथा संगीतको प्रोत्साहन र राष्ट्रसेवा गर्दै ५०/६० वटा देशहरू पुगीसकेको छु । कलाकारिता छोड्नै सक्दिन भन्ने भएर अहिले यसमै तल्लिन छु । यो क्षेत्रबाट टाढा रहुँला जस्तो लाग्दैन ।

गीत लेख्दा केले प्रभाव पारिरहेको हुन्छ ?

गीतसंगीत नितान्त रूपमा भावनाबाट प्रेरित हुन्छ । मानिसहरू पुगेको स्थान अथवा भोगाई अनुसारका भावना निर्माण हुन्छ । मानिसका भावनाबाट निस्किएका शब्दहरूलाई लयात्मक ढंगले मिठासका साथ प्रस्तुत गर्नु नै गीत हो ।

यदि गायक नभएको भए तपाई के गर्नुहुन्थ्यो होला ?

हरेक नेपालीको बाध्यता छ विदेशिने । मेरो पनि त्यही हालत हुन्थ्यो होला । कतै खाडी मुलुकमा म भेट्टिने सक्थे । गासँ, बास र कपासका लागि संघर्ष गर्नु त पर्थ्यो नै ।

तपाईको लवाई यस्तो सरल छ, किन ?

हरेक व्यक्तिको आफ्नै चरित्र हुन्छ । म सँधै अरूको लागि पनि सहज हुन खोज्छु । कसैले सरल स्वभावलाई स्वीकार गर्नुहुन्छ भने कसैले सरल स्वभावका कारण पेल्न पनि थाल्नुहुन्छ । नेपाल आफ्नो बारेमा आँफै हल्ला गर्ने देश हो जस्तो लाग्छ । नेपालमा सजिलो मान्छेको जिन्दगी अप्ठ्यारो छ । तर, अप्ठ्यारा मानिसको जिन्दगी सजिलो छ । तर म जे छु, जस्तो छु- ठिकै छु जस्तो लाग्छ ।

प्रेम प्रस्ताव पनि भरपुर आउँदा हुन् ?

प्रेम प्रस्ताव त आउँछन् नै । यसलाई कसरी लिने त्यो महत्वपूर्ण हो । जत्ति नै आदर्शका कुरा गरे पनि उमेरसँगै शरीरमा उत्पन्न भएका जीवनका रंगहरूमा रम्न मन सबैलाई लागेकै हुन्छ । यस्तो अवस्थामा सम्हालिएर हिड्नु महत्वपूर्ण र चुनैतीपूर्ण कुरा हो ।

हरमानिस यौनमा उत्सुक छ । तर यहाँ यसबारे बोल्ने कुनै स्पष्ट शब्द, वाक्य वा भाषासम्म छैन । किन यस्तो ?

नेपाली समाज नै यस्तो छ । सामाजिक मानसिकताको उपज हो, यो सब । कुरा लुकाउने बानीनै यस असहजताको प्रमुख कारक हो । यौनजस्तो महत्वपूर्ण कुरा लुकाएर नै धेरै नेपालीहरूलाई यौनरोगले आक्रान्त पारिरहेको छ । बलात्कार जस्तो जघन्य अपराध पनि यसैको प्रतिफल हो । धेरै महिलाहरू पाठेघर क्यान्सर पालेर बसिरहनु भएको छ । बेलैमा यस्तो अवस्थामा सहज हुन सकिएको भए यस्ता रोगहरू नआउन पनि सक्थे ।

सेक्स प्राकृतिक कुरा हो । यसलाई भोक लागेपछि खाना खाने जस्तै रूपमा लिन सकिन्छ । एउटा निश्चित सीमामा बसेर यसबारे बहस हुनुपर्दछ, छलफल हुनुपर्दछ । यौनजन्य भावना सदुपयोग गर्नु पर्दछ ।

विभिन्न पाठ्यक्रममा भएका यौन सम्बन्धि पाठहरू समेत राम्रोसँग पढाईदैन । गीतसंगीतलाई प्रगतिशिल विधा भनिन्छ ।  के गीतसंगीत यसको माध्यम बन्न सक्दैन ?

नेपाली समाजमा सेक्स संस्कृतिसँग जोडिएको छ । प्राकृतिक कुरालाई संस्कृतिसँग जोड्नु हुँदैन । सभ्यता, संस्कृति तथा परम्परा एक भएता पनि सेक्स मानिसको जिवनको एउटा पक्ष हो । यो जैविक कुरा हो । हाम्रो संस्कृति एकदमै सभ्य छ । सभ्य संस्कृतिले सेक्सलाई असभ्य रूपमा लियो । सेक्स उमेरसँगै लाग्ने एकप्रकारको भोक हो । यसका बारेमा खुल्ला विचार सहित प्रस्तुत हुनु पर्दछ ।

साहित्यिक किताबहरू कत्तिको पढ्नुहुन्छ ?

पढिन्छ कहिलेकाही । विशेषगरी जीवनलाई कसरी सफल पार्ने भन्ने खालका उत्प्रेरणा जगाउने पुस्तकहरू पढेको छु । पढ्नका लागि अहिले इन्टरनेटले सजिलो बनाइदिएको छ । अर्कोतर्फ इन्टरनेटमा भुल्ने बानीको विकास हुँदै जाँदा हरेक व्यक्तिको पढ्ने बानीमा ह्रास आएको छ ।

तपाई इन्टरनेटमा दैनिक कति समय खर्चिनु हुन्छ ?

कलाकारहरू इन्टरनेटसँग जोडिनु आवश्यक छ । हामी त अझै जागिरे नभएकाले समय धेरै नै हुन्छ । इन्टरनेटमा पनि राम्रै समय बताइन्छ ।

खाली समय कसरी बिताउनुहुन्छ  ?

गीतको काम बाहेक फुर्सदको समयमा  साथिभाईसँगको भेटघाटमा समय बिताउँछु । नाटकमा मेरो रूचि छ। फिल्म अत्यन्तै कम हेर्छु । हरेक दिन बिहान केही समय फुटबल पनि खेल्छु ।

नेपालका मन पर्ने स्थानहरू के कस्ता छन् ?

नेपालका हरेक ठाउँहरू राम्रा छन् । राम्रा ठाउँहरूलाई  विकासले सिंगार्न मात्र खाँचो छ । नेपालका हरेक भौगोलिक सुन्दरतालाई भेट्ने सहज विकास बाटो नै हो । नेपालमा यातायात र बिजुलीको मात्रै विकास भयो भने सुन्दर ठाउँहरू सिंगारिनेछन् । सानो देश भित्रका विविधतालाई समेट्नु नितान्त आवश्यक छ ।

खानपिनको बारेका पनि केही कुरा गरौँ न । तपाइँको दैनिक कर्महरू कस्ता रहन्छन् ?

जाँड, रक्सी र चुरोट म खाँदै खान्न । नेपाली खाना नै मन पराउँछु । बच्चाबेलादेखी नै जिब्रोले यही दाल, भात, तरकारी र अचारको स्वाद मन परायो । खानाका हिसाबले विदेशमा केही दिन बिताउन पनि कठिन हुने गरेको छ । सम्पन्न मुलुकहरूले पनि आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गरेका छन् । तर, हामी भने यसको संरक्षणमा चुकेका छौँ । नेपालीपनको विकास गर्नु आवश्यकता छ । हामी संस्कृतिमा गहिरीनै सकेका छैनौँ । यसको धरातलदेखि नै संरक्षणको आवश्यकता छ ।

मनमा लागेका कुरा केही भन्न चाहनुहुन्छ ?

सांस्कृति आदानप्रदानका लागि विदेशमा एकदम दुर्गम स्थानमा कार्यक्रम आयोजना गरिन्छ । यसले दुर्गम स्थानको विकासका लागि पनि महत्वपुर्ण योगदान दिइरहेको छ । तर, हाम्रोमा राजधानी केन्द्रित कार्यक्रम मात्रै आयोजना हुने गरेका छन् । हाम्रो कमजोरी नै यही हो । अन्त्यमा, नेपाली गीतसंगीत सुन्दै माया गर्दै गाली सहितका सल्लाह/सुझाव दिनुहोस् भन्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस्