Logo

कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित



Spread the love

३० भदौ, काठमाडौं । गत बिहीबार बाँकेको खजुरामा भएको घटनाको विषयलाई लिएर विवाद सुरूभएपछि सभामुखद्वारा प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित गरिएकाे छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले आधा घण्टाभन्दा बढी बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुख महराले बैठक असोज १ गतेसम्मलाई स्थगित गरेका हुन् ।

बैठक शुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दलकी सांसद पुष्पा भुसालले बाँके घटनामा संलग्न सुमन मल्लविरुद्ध प्रहरीले किटानी जाहेरी लिएको भन्दै कांग्रेस संसद सुचारू गर्न तयार रहेको बताएकी थिइन् ।

लगत्तै बाँकेबाट प्रतिनिधित्व गर्ने सत्तापक्षाका सांसद नन्दलाल रोकायाले खजुरा नगरपालिका–१ का वडाध्यक्ष मल्ल बेकसुर रहेको र कांग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको भनेर बचाउ गरेपछि कांग्रेसले बेल घेराउ गरेको हो ।

वडाध्यक्ष सुमन मल्ल निर्दोष रहेको दाबी गर्दै उनले बाँके घटनालाई लिएर कांग्रेसले आन्दोलन गरे नेकपाले पनि आन्दोलन गर्ने चेतावनी दिएका थिए । ‘एकदम बेकसुर छ । वडाध्यक्षलाई मुद्दा लगाउने भन्ने कुरा कदापि पनि सहन सक्दैनौं । यदि नेपाली कांग्रेसले आन्दोलननै गर्छ भने हामीले पनि आन्दोलन गर्छौं । आन्दोलन किन नगर्ने ? हामी सत्य कुरामात्रै स्वीकार्छौं । असत्य कुरा कुनै हालतले पनि स्वीकार्दैनौं,’ उनले भने ।

संसदीय छानविन समिति बनाएर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषी पत्ता लगाउनुपर्ने उनको माग थियो । छानविन गरिसकेपछि को कारवाहीमा पर्छ, दोषी को ठहर्छ त्यो काम गर्नुपर्छ,’ सांसद रोकायाले भने ।

प्रतिक्रिया दिनुहोस्