Logo

आज विश्वकर्मा पुजा, जान्नुहोस् ‘विश्वकर्मा’को अर्थ !



Spread the love

काठमाडौं । विश्वका आदि शिल्पकार भगवान विश्वकर्मा पूजा असोज १ गते बुधबार मनाइदैछ । विश्वकर्मा पूजाको दिन आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।

हरेक वर्षको असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । भगवान विश्वकर्माले नै देवताहरुका लागि अस्त्रहरु, भवनहरु तथा मन्दिरहरुको निर्माण गरेका थिए । उनले सृष्टिको रचनामा भगवान ब्रम्हालाई सहयोग गरेका थिए । उनलाई विश्वकै पहिलो शिल्पकार समेत मानिन्छ । शिल्पकार खासगरी ईन्जिनियरिङ काममा सक्रिय व्यक्तिहरुले उनलाई आफ्ना आराध्य देव मान्दछन् र उनको विशेष पूजा गर्छन् ।

विश्वकर्मा भगवान को हुन् ?

शास्त्रहरु तथा पुराणहरुमा भगवान विश्वकर्मालाई वास्तु शास्त्र तथा यन्त्रहरुको देवता मानिएको छ । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ ।

भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटाछुटै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।

उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि सम्झिन सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।

उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।

विश्वकर्मा पूजाको आध्यात्मिक महत्व

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।

समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास गरिन्छ । नयाँ सवारी साधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने प्रचलन समेत छ ।

विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएको मानिन्छ ।

विश्वकर्मा पूजाको महत्व

हरेक वर्ष मेसिन, हात हतियार तथा सवारीसाधनको पूजा गर्नाले तीनिहरु चाँडै बिग्रदैनन् । मेशिन पनि सुचारु रुपमा सञ्चालन हुन्छ, किनभने भगवान विश्वकर्माको त्यसमाथि कृपा बनिरहेको हुन्छ ।

नेपालमा काठमाडौंसहित तराईको प्राय सबै जिल्लाहरुमा विश्वकर्मा पूजा धुमधामका साथ मनाउने गरिन्छ ।

हिन्दू परम्परा अनुसार उनको पूजा तथा यज्ञ सम्पूर्ण विधि-विधन अनुसार गरिन्छ । भगवान विश्वकर्माको कृपा पाउनका लागि उनका १ सय ८ नामहरुको पाठक गर्नु निकै नै फलदायी समेत मानिन्छ ।

 

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्