Logo

ऐतिहासिक महायज्ञ कसैले विरोध गर्दैमा रोकिँदैन: बालयोश्वर महाराज



Spread the love

३० भदौ, गुल्मी । रिडीमा सञ्चालन भईरहेको ऐतिहासिक महायज्ञका प्रमुख वाचक बालयोश्वर महाराजले महायज्ञलाई कसैले विरोध गर्दैमा नरोकिने बताएका छन् । महायज्ञको पाँचौँ दिन सल्लेरी खबरसँग विशेष समय लिएर गरेको कुराकानीमा उनले सो कुरा बताएका हुन् ।

रिडीमा सञ्चालन भईरहेको ऐतिहासिक महायज्ञ स्थल

 

गुल्मी ,पाल्पा ,स्याङ्जाको सङ्गम स्थल रुरु क्षेत्र धाममा आयोजना गरिएको महायज्ञ कुनै व्यक्ति र संस्थाको मात्र नभई समग्र रुरु क्षेत्र धामको विकासको लागि हो । त्यसैले यो महायज्ञ लाई कसैले विरोध गर्दैमा केही फरक पर्दैन र महायज्ञ रोकिँदैन । यसो त महायज्ञ उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले पनि राम्रो कामको सुरुवात गर्न कुनै साइत जुराउन नपर्ने अभिव्यक्ति दिएका थिए ।

यता महायज्ञ आयोजक समितिले महायज्ञ भव्य बन्दै गएको बताएको छ । भक्तजनहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको र अहिलेसम्म करिब २० लाख रकम जुटिसकेको आयोजकले जानकारी दिएको छ । चार धाम मध्येको एक धाम रुरु क्षेत्र धामको ऐतिहासिक महत्त्वलाई विश्व सामु चिनाउने मुख्य उद्देश्यका साथ भदौ २८ गते देखि सुरु भएको महायज्ञ असोज १७ गते सम्म चल्ने छ ।

महायज्ञमा एक करोड पार्थिव शिव लिङ्ग पुजन् गरिने, एकाउन्न हजार व्यक्तिहरूको तुला दान, एकाउन्न सय शान्ति कलश पुजन् , २१ करोड दीप प्रज्वलन, रु २१ सय रुपैयाँमा प्रत्येक धार्मिक कार्य गरिने बताइएको छ । साथै महायज्ञबाट बचेको रकमबाट रिडीमा एसियाकै सबै भन्दा ठुलो शङ्ख, गौशाला निर्माण , दाह संस्कार गरिँदै आएको स्थलको उचित व्यवस्थापन र मृगले स्तनपान गराई रहेको मूर्ति निर्माण गरिने आयोजकले बताएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्