Logo

मृत्यु बिर्सेको जीवन



मृत्यु बिर्सेको जीवन

ठुलै बखेडा के नै छ र यसमा ! बस बिर्सिएको न हो। सुर्ती  खाने मान्छेले सुर्ती छाडे भनेकै भोलिपल्टै पुन: सुर्ती माडिरहेको देखिनु जति अनौठो मानिन्न, त्यति नै अनौठो नमान्नु पर्ने विषय हो बिर्सिनु ।

सम्बन्ध

**
पोहर असोज महिना कुरा हो- सानी बहिनी र म रुकुमको लागि यात्रामा निस्किएका थियौ। उसको बिहेको मिति तय भइसकेको थियो । बहिनी दुई वर्षकी हुँदा हामीले जन्मभूमि सल्यान छाडेको थियौ। अहिले ऊ २४ की भइसकी । म त समय समयमा पुग्न पाइरहेको थिए । तर उसले आफू जन्मेको ठाउँ एकपटक हेर्ने रहर गरे पछि म उसको गाइड बन्न तैयार भएको थिए । उसको रहर अनुसार झ्याल पट्टीको सिटमा ऊ बसेकी थिई । केही बेर ऊ बोलिरही । लगभग चार घण्टा। मसँग ऊ यति धेरै बोलेको मलाई याद छैन । म सुनिरहे। मैले समेत नसम्झिएका विगतको पोको सुरक्षित राखेकी रहिछे उसले ।

कि कसरी मैले बाटिदिएथे- उसको दुई चुल्ठो र सिउरिदिएथे- हजारीको फुल ।

कि कसरी गञ्जी खन्दा कुटोले हिर्काएथे मैले उसको निधारमा र कसरी लडेको भनी ढाँटेर जोगाई उसले मलाई पिटाइ खानबाट।

कि कसरी मैले रोजे सानो स्कुल उसलाई सरकारीमा हाल्दिन्छु भनेको दिन, पढिरहेको सहरकै राम्रो स्कुल छाडेर । अनि बदलामा म सरकारीमा जानु पर्ने भए पछि उसले छाडिदिई बोर्डिङमा पढ्ने सपना ।

बोल्दा बोल्दै ऊ रोकिई र सिउरी आफ्नो निधार मेरो छातीमा । बालकले जसरी । काममा जान लाएकी आमाको हात सानो बालकले जसरी समात्छ, उसै गरी समाती बहिनीले मेरो पाखुरा। यति आत्मीय ऊ कहिले महसुस भएकी थिइन ।

बस्न त हामी सँगै बस्थेयौं काठमाडौँमा । ऊ बिहानै म नउठ्दै कलेज हिँड्थी र दिउँसो मात्र फर्किने गर्थी। म बेलुका फर्किदा ऊ खाना खाएर निदाइ सकेकी हुन्थी। एउटै घरमा हामी घाम र जुन जस्ता थियौ। शनिवार बिहानको खाना हामी सँगै खाने गर्थेयौं, तर मोबाइल सधैँ बिचमा आइरह्यो। खाना पछि म हिँडिहाल्ने दाइ हुन छाडेर, साहित्यकार भई टोपलिन। आइतबार म मेरा धोइएका कपडामा उसका साना औँलाहरू महसुस गर्थे। उसले त कहिले महसुस गरीकी गरिन खै आफ्नो दाइलाई ? सायद अभावहरूसँग मिल्दोजुल्दो लाग्दो हो उसलाई मरो अनुहार

अँ ! उसले यसरी मेरो पाखुरा समाउँदा पहिलो पटक चरम पिडा बोध भयो, र यो बिछोड हुने कल्पनाले मात्र यति सम्म पोलेको कहिले थिएन मलाई।

`”दादा- आखिर किन एउटा बगैँचामा फुल्न सिकेको फुल अचानक कलमी भएर जानु पर्ने अर्को अपरिचित बगैँचामा?”
अचानक उसको यो प्रश्नले मलाई आफ्नै मृत्यु कामना गर्दै गर्दाको भयानक नैराश्यतामा जतिकै पिडामा धकेलिदियो । जीवनले मृत्युको कामना ! अहो कति पिडा कति अभाव कति रित्तो र केही नहुनु ।

आँसुहरू झरेको पत्तै भएन- बस चुमिरहे चुपचाप उसको निधार मेरा आँसुहरूले ।
मलाई पहिलो पटक महसुस भयो
मैले बिर्सिए छु बहिनीलाई
मैले बिर्सिएको रहेछु- सम्बन्ध निभाउन ।

***

भेट-घाट

तिमीलाई भेट्न आएको बेला केही म छुटिरहन्छु- हरेक पटक ! अनि म बाँकी बचेको आफ्नो दुखी चोइटो बोकेर फर्किन्छु ।

यदाकदा हिडिरहेको बाटो कहिले नसकिदिए हुन्थ्यो झैँ हुन्छ। कहीँ न पुग्नुको अन्योलता भन्दा भयानक हुन्छन् कहिलेकाहीँ, केही फर्किनु पर्ने ठाँउहरु।

साँझ परिसकेको छ, पुग्नु पर्ने ठाउँ पनि टाढा छ । बाटो किनारमा म जानु पर्ने ठाउँको गाडी रोकी रहेको छ। थुप्रै सिट खाली छन्। अघि देखी खलासी चिच्याई चिच्याई बोलाउँदैछ। तर म किन हो बसमा चढिरहेको छैन । अर्को गाडी कुर्दै छु।

वास्तवमा थाहा छैन के कुर्दै छु ? गाडी त पक्कै होइन किनकी गाडी त यही छ। सायद जे कुरी रहेको छु, त्यो हिजो पनि आएको थिएन । भोलि पनि आउँदैन ।

मृतकको अनुहार याद आइरहेछ । मर्नु उति अनौठो कुरा होइन। आफू हत्यारा हुँ- यो लागिरहेछ । यो सामान्य कुरा होइन ।

कुनै हत्यारालाई मैले नजिकबाट देखेको छैन । मैले स्वमयलाई पनि नजिकबाट हरेको छैन । यसो सम्झन्छु हत्याराको अनुहार डरलाग्दो छैन ।टिठलाग्दो छ।

गाडी चढे, अगाडी सिट खाली छन् । म अन्तिमको झ्याल नेर बस्छु। मोबाईल निकाल्दा आफ्नै औँलाहरू देख्खीरहेछन् । बिलकुल मन पर्दैन यी औँला। देब्रे हातको बढी औँलाको नङमा रगत लागेको छ, सुकेर कालो भइसकेको छ । छि: गन्हाई रहेछ- बासी रगत ।

सुरुङ मार्गमा हिँडिरहेछ गाडी । अँध्यारोमा आफ्नो छाँया देखिन्न, आफ्नो अनुहार देखिन्न । छाम्छु, यही छ, उस्तै छ । मुख भरी दारी उम्रेको छ । आफ्नो अनुहारको छाला नदेखेको थुप्रै भयो । मेरो अनुहार कस्तो थियो ? खै ? म कसरी भनुँ ? आफ्नै अनुहार बिर्सकोमा मलाई हाँसो उठ्छ ।

हाँस्दा चाउरी पर्न थालेछौ ? एउटा अनुहार पछाडि फर्केर बोल्छ । त्यो कसको अनुहार हो ? अहँ! म चिन्दिन ।

म- कुरूप खुसीहरू !
मेरो मुख मेरो मस्तिष्क भन्दा अगाडी चल्छ ।

अनुहार- पीडा भन्दा ?

म- रुझाइदिन्छ आँखा ! अझै रसिलो छ यस मानेमा !

अनुहार- कसको हो यो मोह उसको ?
म -निकटताको !

अनुहार- आफ्नोपन के हो?
म- त्यो त मेरो अनुकूलताले निर्धारण गर्छ।
अनुहार- म ?

म- तिम्रो अनुहार मेरो यादको फोल्डरबाट गायब छ ।

म बस बाटओर्लिन्छु। बस खोलाकै छेउमा छ। खोला पारी पट्टी एउटा चिया पसल छ, जहाँ मलम आएका तन्नेरीहरू चुरोट पिउदैछन्। खोला किनारको चितामा कसैको लास जलिरहेको छ। त्यसबाट उठेको धुवा बिस्तारै माथि उक्लेर तन्नेरीहरूको औँलाबाट निस्केको सिगरेट धुवासँग मिसिन्छ।

अनुहार- धुवाँहरूको आकार हेर न मोहक छ है ?
म-सपनाहरूको आकार भन ।
अनुहार- जलेको त मान्छे हो ?
म- कसैको सपना थियो।

अहो ! मान्छे हरेक दिन आफ्ना सपनाहरूलाई लास बनाउँछ र एक्लै मलामी जान्छ ।  मान्छे हरेक दिन पुराना सपनाहरू बिर्सन्छ ।

***

पत्र मन्जुषा

आज चोको कुनामा झोक्राइरहेको उदाङ्गो पहाड जस्तो तिमीलाई देखे ..। लाग्यो तिमीलाई र मलाई समयले उस्तै गरी विस्थापित गरी रहेछ, जसरी बतासहरू गर्छन् बेरहेम भएर- बोटबाट पहेँला फुलेका पातहरूलाई ।

मौन एक्लै भिड माझ उभिरहँदा आफ्ना जस्ताको खुब याद आउँछ होला है ?

*हुलाकीको सेताम्मे रौँ भएको हात- हातको सुमसुम्याई ।
*मुटु निचोरेर रातो पारिएका प्रेमपत्रहरू।
*परदेशीको नाउमा पठाइएका लालीगुराँस जस्ता ओठहरू ।
*सिपाही छोरोको ठेगाना लेखिएका आमाका ओसिला आँखाहरू ।
*सहर पसेको छोरोको नाममा हिँडेका गोबर लागेका तीनवटा हजारको नोट ।
*बढी हजुरआमाको चस्मा भाँचिएको सूचना- आफ्नै घर आइज् भनेर बाले पठाएको निम्तो ।
*युवतीको फोटो पछाडि लेखिएको- प्रिय साथी मित्रताको नाता रगतको नाता भन्दा बलियो हुन्छ ।
*कसैको सम्झनामा फर्माइस गरिएको गीत- म मरेको दिन तिमी डोली चढ्नु ।
अझ मायालुले- आई दिल भित्र तिर यु लेखेर पठाएका रुमालको खुब याद आउँछ होला है ?

जसरी आजलाई हिजोको -हिजोलाई अस्तिको याद आउँछ। जसरी मृत्यु जिन्दगीको याद आउँछ- जिन्दगीलाई आफ्नाको याद आउँछ। मलाई पनि बहुतै याद आउँछ, इन्द्रेणी जस्ता सपनाहरूको-सपना जस्ता आफ्नाहरूको।

याद छ म सानो हुँदा सिसाकमलले कोरेका रेखाचित्रहरू ठेगाना नलेखी तिमीलाई दिन्थे- पहिलो पटक मन परेकी बठिनीयाको निम्ति लेखेको रातो चिठ्ठी पनि ठेगाना नलेखी तिमीलाई दिएथे ।

अचेल यो जिन्दगी ठ्याक्कै तिनै चिठी झैँ भएको छ- ठेगाना विहीन ।

यो भाव, क्रन्दना, वेदना- रित्तोपन गुनासो कसको ठेगानामा पठाउ? मबाट तिमी- तिमीबाट म र मबाट ‘म’लाई त हो ।

नमुस्कुराउ..उधारो मुस्कानले सारै छटपटी हुन्छ ।
कस्तो ? जस्तो छटपटी बोटलाई अन्तिम पात गुमाउँदा हुन्छ- आमालाई सन्तान नदेख्दा हुन्छ ।

प्रिय मन्जुषा,
कहिले काहीँ खिया लागेका तारहरूमा झुन्डिएको पर्दा देख्दा आफूलाई देखे झैँ लाग्छ- म पनि खिया लागेका आसाहरूमा झुन्डिएको छु ।जसरी तिमी यो चोकमा बिना सम्मान बिना माया पत्र पर्खिरहेछौ- म जसरी बेस्वाद यो जिन्दगीमा थोरै स्वाद रङ पर्खिरहेछु । लाग्छ त्यसै गरी अघिल्लो चोकामा कोही हाम्रो अन्त्य पर्खिरहेछ ।

खैर- यस्तै हो- न मर्दा सम्म बाच्नु पर्दो रहेछ सबैले ।
बाचुन्जेल बिर्सिन सकिँदो रहेन छ ।

***

हिजो आज र आज ।

बारबार ठोकिन्न आइपुग्छ एउटा हिजो, आजको पाखुरामै । उसको आदत यस्तै नै छ । जबरजस्ती । हिजोलाई पनि यसैले खायो । आजको मुहारमा पनि यसैका नङ्ग्राहरूको डोब छ ।

लेख्ने अनि मेट्ने, अनि लेख्ने । आफ्नो बचाउ गर्दै लेख्नुको बेस्वादिलो पक्ष यही हो । तर बचाउ किन ? किनकी नभन्नु वर्तमानलाई बचाउने एकल उपाय हो। तर फेरी चुपचाप बस्नै दिँदैनन्, हरेका मुखमा झुन्डिएका प्रश्नहरूले ।

भाग्ने आदतले ग्रसित थियो ऊ, जसका हातहरू आफ्ना छातीमा बारिएकै पल म मेरा खुट्टाहरूलाई जरा बनाउन चाहन्थे ।

दुई फरक बाटो त कतै न कतै गएर भेटिने सम्भावना रहन्छ । तर दुई दिशामा दौडिएको एउटै बाटो फेरी कहिले भेटिँदैन । हामी त्यही एक बाटो थियौ। ऊ बाट म अथवा मबाट ऊ छुट्टिएको भए भेट हुने सम्भावना रहन्थ्यो तर हामी आफूबाट छुट्टियौ। आत्माबाट छुट्टियौ । लास भयौ..।

ठिक छ उज्यालो ओइलायो। तर साथमा छायाँ पनि लगिदियो । अब बाकी रह्यो- अँध्यारो।  जहाँ मैले उसलाई त के आफूलाई पनि भेट्न पनि सकिरहेको छैन । न बिहाननै भएको छ यतिका युग देखी ।

तपाईँलाई थाहा नै होला उसको बारेमा।  ऊ जसलाई बिर्सिनु थियो तर जसलाई तपाईँ बिर्सनै सक्नु हुन्न ।
ऊ जसलाई तपाईँ पनि हृदयमा बोकेर हिँड्नु हुन्छ ।
तर चु गर्नु हुन्न उसको बारेमा। यादका बारेमा ।

**

जिन्दगीको फेदमा गएर हेर्‍यो भने, कुन याद लेदो बनेर बसेको भेटिएला ? भन्छन्, सबैभन्दा पुरानो याद त्यो हो जो मान्छे जन्मँदा आफ्ना बन्द मुठ्ठीमा बोकेर आएको हुन्छ । दुई मुठ्ठी मध्य एकमा जीवन, एकमा मृत्यु बोकेर आएका हामी, मृत्युलाई सम्झनै चाहँदैनौ ।

त्यसैले हामीले हाम्रा चिहान गाउँ बाहिर राखेका छौ । मसानघाट सुनसान बगरमा तिर बनाएका छौ । तर जीवनलाई जिउन सिकाउनु छ भने गाउँको बिचमा बनाउनु पर्छ चिहानघाट, मसानघाट पाठशाला जसरी । ताकी दिनमा हरेक पटक चिहानले मान्छेलाई सम्झाओस् यही हो अन्तिम बासस्थान ।

बिर्सनु मान्छेको निम्ति आदत हो। यही आदतबाट ग्रसित मान्छेलाई कमसे कम एक कुरा याद रहिरहोस् कि जीवनको पहिलो याद र अन्तिम सत्य मृत्यु हो ।

ललितकलाबाट मास्टर इन फाइन आर्ट गरेका राज कविता, गजलका साथसाथै कथा लेखनमा सक्रिय छन् । आभा फर कृयटिभिटीका संस्थापक अध्यक्ष समेत रहेका राजको संयुक्त कविता संग्रह 'अनुहारको भिड' प्रकाशित छ !

प्रतिक्रिया दिनुहोस्