Logo

दशैंभित्रै देशका विभिन्न शहरमा पुग्नेभयाे टेलिकमकाे फोरजी सेवा



Spread the love

४ असोज, काठमाडौं । नेपाल टेलिकमले देशका २० देखि २५ वटा शहरमा दशैंअघि नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने तयारी गरेको छ । हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा संचालन गर्दै आएकोमा टेलिकमले यसलाई देशभरका प्रमुख शहरहरुमा बिस्तार गर्न लागेको हो ।

टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार, विभिन्न स्थानमा फोरजीको परीक्षण सुरु भइसकेको छ।  कोर नेटवर्कको परीक्षण गत साताबटै सुरु भएको छ भने अब सिस्टम माइग्रसेसन गरेर रेडियो एक्सेस नेटवर्कको परीक्षणको काम यस साताबाट सुरु भएको उनले बताए ।

टेलिकमका अनुसार,  यसअघि नै फोर जी सेवा बिस्तार गर्ने योजना बनाएको भएपनि सार्वजनिक खरिद ऐनमा रहेको टेण्डर प्रक्रिया सम्बन्धी व्यवस्थाले सो कार्यमा ढिलाई हुँदै आएको थियो । उच्च गतिको इन्टरनेट र भ्वाइस कलको सुविधा रहेको उक्त सेवा बिस्तारका लागि विराटनगर, विर्तामोड, ईटहरी, जनकपुर, पोखरा, बाग्लुङ्ग, पाल्पा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँमा समेत एफटीटीएच नेटवर्क निर्माणको काम सकिएको छ ।

अन्य सेवामा निजीभन्दा अगाडि रहेतापनि फोरजी सेवामा बजारको २०.३ प्रतिशतमा मात्र नेपाल टेलिकमकाे हिस्सा छ । निजी क्षेत्रको एनसेलले भने बजारको करिब ७४.३ प्रतिशतमा फोरजी सेवा सुचारू गरिसकेकाे छ भने टेलिकमभन्दा ढिलो सेवा सुरु गरेको स्मार्ट टेलिकमले समेत ५.४ प्रतिशत बजार हिस्सा बनाइसकेको छ ।

टेलिकमले काठमाडौं र पोखरापछि अन्य क्षेत्रमा फोरजी विस्तार गर्न नसक्दा ग्राहकहरु बाध्य एनसेललाई रोज्न मजबुर छन् । देशभर फोरजीका ३९ लाख ४३ हजारभन्दा बढी प्रयोगकर्ता छन् । जसमा झण्डै २९ लाख ३० हजार प्रयोगकर्ता एनसेलका भने  टेलिकमका जम्मा ८ लाख मात्रै फोरजी प्रयोगकर्ता छन् र स्मार्ट टेलिकमका करिब २ लाख १३ हजार ग्राहक  छन् ।

टेलिकमले हाल काठमाडौँ र पोखरामा प्रदान गर्दै आएको फोर जी सेवामा इन्टरनेट मात्रै रहेकाले अब भने भ्वाइस कल सेवा, डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु सजिलै र छिटो आदान-प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न समेत उपलब्ध गराउने तयारी गरेकाे छ ।

टेलिकमले फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्‍यान) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङलाई जिम्म दिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्