Logo

इटालियन सिरी ‘ए’ मा रोनाल्डोको गोलमार्फत युभेन्टसको कठिन जित



Spread the love

५ असोज, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेसंगै युभेन्टसले जित हात पारेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले हेलास भेरोनामाथि २–१ को कठिन जित हात पारेको हो ।

युभेन्टसको जितमा आरोन राम्सी र रोनाल्डोले गोल गरे । भेरोनाका मिगुइल भेलोसोले एक गोल फर्काए ।

भेलोसोले गोल गर्दै हेलासलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, भेरोनाको त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । ३१औं मिनेटमा रोनाल्डोको पासलाई सदुप्रयोग गर्दै आरोन राम्सीले बराबरी गोल फर्काए ।

रोनाल्डोले ४९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई खेलमा २–१ को अग्रता दिलाएका थिए । कोरे गन्टरले युभेन्टसका जुआन कोर्डाडोलाई लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डो चुकेनन् । त्यसपश्चात थप गोल हुन नसक्दा युभेन्टस २–१ ले विजयी भयो ।

इन्ज्युरी समय चौथो मिनेटमा मारास कुम्वुला दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएसंगै हेलास १० खेलाडीमा समेटियो । जितसँगै युभेन्टसले ४ खेलबाट १० अंक जोडेको छ । भने पराजित भेरोना ४ अंक सहित १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्