Logo

विकासमा नागरिकको पनि सहभागिता हुनुपर्छ : गृहमन्त्री थापा



Spread the love

५ असोज, काठमाडौँ l ट्राफिक जामको समस्या नीति निर्माताले सही ढङ्गले विकासका योजना बनाउन नसकेकाले भएको गृहमन्त्री राम बहादुर थापाले बताएका छन् l

आज राजधानीमा ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रममा शुभारम्भ गर्दै मन्त्री थापाले भने, ‘सहरीकरणसँगै अहिले ट्राफिकको समस्या देखा परेको छ । यसकारणले यो समस्यालाई हल गर्नका लागि हाम्रो विकासको नीतिलाई पुनर्विचार गर्नुपर्छ ।’

मन्त्री थापाले ट्राफिकसम्बन्धी विषयलाई विकासको योजनासँग जोडेर हेर्नु आवश्यक रहेको बताउँदै विकासका नीति निर्माता र योजनकारहरुलाई त्यस तर्फ सोच्न पनि आग्रह गरेका छन् ।

मन्त्री थापाले भने, ‘नागरिकहरूले पनि विकासका कार्यमा समन्वयको अवधारणाबाट हेर्नु जरुरी छ । विकासमा नागरिकको पनि भूमिका र सहभागिता हुनुपर्छ, नागरिकले आ–आफ्नो भूमिका सही ढङ्गले निर्वाह गरेनन् भने सही ढङ्गले विकासलाई अघि बढाउन सकिँदैन ।’

मन्त्री थापाले सोही कारणले ट्राफिक व्यवस्थापनमा युवासँग समन्वय गरेर अभियान थालिएको बताउँदै भने, ‘यो अभियान नागरिकलाई सचेत गराउनका लागि पनि हो । ट्राफिक नियम पालना गर्नुपर्छ । रातो बत्तीमा रोकिनुपर्छ, हरियोमा हिँड्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्