Logo

म साहित्यको साधक र उपासक हुँ ।



Spread the love

म साहित्यको साधक र उपासक हुँ । 

 

बाग्लुङ जिल्लाको ऐतिहासिक थलो गल्कोटमा पिता खडानन्द गौतम र माता हरिकला गौतमको सुपुत्रीको रुपमा जन्मीएकी राधिका कल्पितले महेन्द्र बहुमुखी क्याम्पसबाट अङ्ग्रेजी साहित्यमा स्नातक सकेकी छिन् । त्रि. वि.वि बाट समाजशास्त्रमा स्नातकोत्तर सक्काएकी कल्पित धवलागिरि साहित्य पुरस्कार प्रतिष्ठानका पूर्व कार्यवाहक सदस्य सचिव तथा आजीवन सदस्य, भूपी पुरस्कारका संस्थापक सदस्य साथै एकता साहित्य सदन पर्वतको आजीवन सदस्य समेत हुन् ।

विभिन्न पत्र-पत्रिकामा नेपाली तथा अङ्ग्रेजी लेखरचना र कविताहरू प्रकाशित गरिरहेकी कल्पितको एक कविता सङ्ग्रह प्रकाशोन्मुख रहेको छ ।

०००

प्रस्तुत छ, सर्जक अफ द विकका लागि कवि  राधिका कल्पितसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेका साहित्यिक चर्चाको संक्षिप्त अंश :

राजु- ‘कवि’ भन्नाले कविता लेख्ने पुरुष बुझिने र कविता लेख्ने महिलालाई चाहिँ ‘महिला कवि’ भन्ने प्रचलन अधिक थियो/छ । यस किसिमको प्रयोग/ व्यवहार कत्तिको निको लाग्छ ? ‘कवि’को यो विभाजनप्रति तपाईँको धारणा ?

कल्पित- सर्वप्रथम त मलाई तपाईँको स्तम्भका लागि योग्य ठानेर म जस्तो गुमनाम व्यक्तिलाई सतहमा आउन जुन अवसर प्रस्ताव गर्नुभयो, त्यसको लागि राजु जी लाई आभार प्रकट गर्दछु । साहित्य र कला क्षेत्रबाट युवाहरू पलायन हुँदै गइरहेको परिपेक्षमा तपाईँ जस्ता नव-युवाहरूले आफ्नै पहल अनि श्रोत र साधनमा साहित्य र सर्जक लागि जुन प्रयास गरिरहनु भएको देखेँ म अत्यन्त हर्षित भएँ । भोलिका दिनमा नेपाली वाङ्मय उर्वर हुने कुरामा विश्वस्त भएँ । शुभकामना दिन चाहन्छु तपाईँको दुवै टिम (सल्लेरी खबर एवं आभा फर क्रियटीभिटी)लाई ।

अब जायौं प्रसङ्गतिर ।

अत्यन्त सान्दर्भिक प्रश्न राख्नुभयो । कवि भन्ने बित्तिकै जो सुकैलाई एउटा पुरुष कविको छवि दिमागमा आइहाल्छ किनकि विगत देखि नै पुरुष कविलाई मात्र ‘कवि’ र महिलालाई ‘कवयित्री’ या ‘महिला कवि’ भनेर वर्गीकरण गर्ने अभ्यास प्रयोगमा छ । तर हामीले कविको परिभाषालाई नियाल्यौ भने `कवि´ भन्ने शब्दले “छन्दोबद्ध वा छन्दमुक्तका कविताको रचना गर्ने व्यक्ति´´ भन्ने बुझिन्छ । `व्यक्ति´ भनेपछि त महिला र पुरुष दुवै पर्छन्, भने यहाँ महिला र पुरुषलाई छुट्टाछुट्टै नामले जनाउनुको कुनै तुक हुन्छ जस्तो लाग्दैन ।  यो सरासर गलत अभ्यास हो किनकि कवि भन्ने बित्तिकै त्यसलाई पुरुष या महिला ट्याग लगाइरहनुको आवश्यकता नै छैन । विस्तारै विरोध अनि चेतनाका कारण  यो चलन क्रमश: हट्दो छ र अन्ततः हट्नुपर्छ ।

राजु- भनिन्छ- ‘समाज विकासमा महिलाहरूको हजारौं वर्षदेखिको मौन सहभागिता र योगदान छ । समाजको व्याख्या महिलाको उपस्थितिबिना अधुरो हुन्छ ।’ समकालीन नेपाली साहित्य र समाजमा महिला-पुरुष विभेद कत्तिको भेट्नुहुन्छ ? केहि घटनाहरू सुनाउनुहोस् न ।

कल्पित- हो, समाज विकासको इतिहास केलायौँ भने हरेक कालखण्डमा प्रत्यक्ष र परोक्ष रूपमा महिलाहरूको सहभागिता छ, भलै त्यो योगदानलाई इतिहासले नकोरेको होस् या कतै उद्धृत नगरेको होस। हाम्रो इतिहास, धार्मिक र सांस्कृतिक लेखोट, ग्रन्थहरू सबै पुरुषबाट लेखिएका छन् र पुरुषकै नजर र दृष्टिकोणबाट व्याख्या र विवेचना गरिएको छ ।

महिलाहरूको बारे जति जुन रूपमा योगदानका कुराहरू आउनु पर्ने हो ती आएकै छैनन् किनकि ती अदृश्य योगदानहरू लिपिबद्ध भएनन् । जब लिपिबद्ध भएनन् तब समयको कालखण्डमा त्यस्ता नारी-पात्रहरू हराएर गए । जस्तै सामाजिक योद्धा योगमायाका विषयमा जति योगदान थियो, समाज परिवर्तनका लागि उनको त्यो योगदानबारे कहाँ लेखिएको रहेछ त खै ? र, त्यस्ता असङ्ख्य योगमायाहरू छन्, जसको कतै व्याख्या नै छैन ।

र, रह्यो समकालीन समाज र साहित्यमा महिला-पुरुष विभेदको कुरा । मलाई लाग्छ- विभेद छैन भन्ने अवस्था अझै पनि आइसकेको छैन। समाजमा व्यवहारिक, वैचारिक रूपमा लुकेर रहेको लैङ्गिक विभेद त तुलना योग्य नै छैन तर साहित्यमा बाहिरी रूपमा छैन जस्तो देखिए पनि/देखाउन खोजिए पनि मानसिक र मनोवैज्ञानिक रूपमा महिला र पुरुष लेखकलाई हेर्ने दृष्टिकोण एकदम फरक छ । जस्तै उदाहरणका रूपमा भन्दा- एउटा पुरुषको रचना आउँदा एउटा विचार अथवा चिन्तन केही आउँदैछ भन्ने चासो हुन्छ भने महिलाको कृति आउँदा ‘के लेख्छन् र जाबो महिलाले उही रुवाइ धुवाइ र आफ्नै जिन्दगीका आँसु, प्रेम र गुनासाका कथा बाहेक ?’ भन्ने सोचाइबाट बाहिर निस्कन सकेको छ जस्तो लाग्दैन ।

“एउटा पुरुषको रचना आउँदा एउटा विचार अथवा चिन्तन केही आउँदैछ भन्ने चासो हुन्छ भने महिलाको कृति आउँदा ‘के लेख्छन् र जाबो महिलाले उही रुवाइ धुवाइ र आफ्नै जिन्दगीका आँसु, प्रेम र गुनासाका कथा बाहेक ?’ भन्ने सोचाइबाट बाहिर निस्कन सकेको छ जस्तो लाग्दैन ।”


राजु- समकालीन नेपाली साहित्यमा ‘चिन्तनको बटुलबाटुल’ शुरु भएको छ भनेर मान्ने एउटा झुण्ड छ । अहिलेको साहित्य व्यावहारिक र प्रभावपरक समेत नभई रोनाधोना मात्रै सिमित छ भनेर आरोप लगाउने अर्को झुण्ड छ । खासमा कुरा के हो ? तपाइँ कता पर्नुहुन्छ ? तपाइँको कविताहरू कता पर्छन् ?

कल्पित- बढो राम्रो प्रश्न गर्नु भयो । साहित्यकारको सृजनामा झल्कने भाव भनेको उसले बाँचेको कालखण्ड, समाज र उसले अनुभूत गरेका प्रकृति, मानवीय व्यवहार, संवेदना र चरित्रहरू हुन् । मेरो विचारमा हरेक समाजमा यी दुवै प्रवृत्ति सँगसँगै गइरहेका हुन्छन् । जब समाज एउटा विकासको खुड्किला पार गरेर समृद्धि तिर लम्कन्छ तब साहित्यमा पनि विचार, मन्थन व्यवहारिक कुराहरू आउँछन किनकि साहित्य भनेको समाजको दर्पण हो । यसमा समाज नै प्रतिबिम्बित हुने हुँदा जब समाज रोग, शोक, सन्ताप, गरिबी,असमानता, विभेद जस्ता विसंगतिपुर्ण कुराहरूबाट ग्रस्त भइ गुज्रिरहेको हुन्छ तब ती कुरा त स्वतःस्फूर्त रूपमा साहित्यमा छल्कन्छ नै । किनकि समाज एकातिर र साहित्य अर्कोतिर बग्नु त्यो त हुनै सक्दैन । अब यसलाई रोनाधोना मात्रै भन्ने कि प्रतिबिम्बित सृजना मान्ने भन्ने प्रश्न आफ्नो ठाउँमा छ । तर यति हुँदाहुँदै पनि नेपाली साहित्यमा विचार मन्थन शुरु भएको छ । अन्तर्राष्ट्रिय स्तरमा बहस योग्य विषयवस्तु र स्तर आएको छ, त्यसलाई नकार्न मिल्दैन ।

र, जहाँ सम्म मेरा व्यक्तिगत रचनाको प्रश्न छ- मेरो विचारमा कविता भनेको कविको भावबाट अभिप्रेरित भएर प्रतिबिम्बित गरिए पनि समाज निरपेक्ष हुन सक्दैन । अत: समाजका आवेगहरूको रागात्मक प्रस्तुति नै कविता हो । यसर्थ मेरा कवितामा मेरो समाजमा मैले देखेका मानवीय प्रेम, कुण्ठा, नैराश्यताको चित्रण छ । यसका साथै लैङ्गिक, जातीय विभेद, अन्याय त्यसका विरुद्ध चेतना, विद्रोह मुखरित छन्, नारी चेतना छन् । ती आवाजहरूलाई प्रतिनिधित्व गर्दा सतही रूपमा सामान्य पाठकलाई रोनाधोना जस्तो लागे पनि यसले बोकेको जुन सन्देश छ, त्यसमा उन्मुक्तिको लागि हतियार छ । आवाज छ । चेतना छ । शक्ति छ । मान्छेहरूले सिधै भन्दा कसैले कसैलाई सुन्ने वाला छैन तर सूक्ष्म मनोविज्ञान केलाएर मान्छेको अन्तरआत्मामा छुने हिसाबले प्रश्न र चेतना उजागर गर्ने जमर्को छ । त्यसमा समाजका उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदाय, जो होस् तिनीहरूलाई जुरमुराउने बनाउँछ ।  मेरा कृति मैले देखेको र भोगेको र अनुभूत गरेको संश्लेषणकै प्रतिबिम्ब मान्छु ।

र, अर्को म कता पर्छु भन्ने कुरा छ- यसमा त आफूले भन्दा पनि पाठक र समालोचकले भन्ने कुरा हो तर यसो भन्दै गर्दा म आफूलाई कुनै प्रगतिवादी, नारीवादी या समाजवादी कुनै `ट्याग´ भन्दा पनि आफूलाई अती यथार्थवादी र मानवतावादी लेखक भन्न रुचाउँछु ।
अब तपाईँ नै भन्नुस् यो कता पर्छ भन्ने ?

राजु- कविता कसरी लेख्दै हुनुहुन्छ ? कविता यात्रा कसरी शुरु भयो ? थोरै बताउनुस न !

कल्पित- कविता लेखनको कुरा गर्दा मेरो यात्रा धेरै लामो छ । तीन कक्षामा पढ्दा एउटा कविता पढ्दा त्यही कवितासँग मिल्दोजुल्दो बनाएर अर्को कविता बनाएको प्रसङ्ग याद छ । त्यसपछि मैले लेख्दै गएँ तर आफूले लेखेका कविता अथवा अन्य रचना कसैलाई देखाउने साहस गर्न सकिन । सधैँ लेखि त रहेँ तर लुकाएर राखेँ ।

लेख्नु राम्रो कार्य हो भन्ने न मैले बुझ्न सकेँ, न कसैले बुझाइदियो । त्यस कारण म युवावस्थासम्म आउँदासम्म पनि मैले लेख्छु भन्ने कसैलाई थाहा भएन । पछि आइ. ए पढ्ने बेला ताका धवलागिरि साहित्य पुरस्कार प्रतिष्ठानका अध्यक्ष ज्यू आदरणीय गुरु काजिरोशनसँग भेट भयो ।मैले उहाँलाई आफूले पनि लेख्ने कुरा बताएपछि उहाँले यो क्षेत्रमा आउन र लेख्न हौसला दिनुभयो । तत्पश्चात बल्ल मेरा रचनालाई मैले सङ्ग्रह गर्दै गएँ । त्यतिखेर म हरेक दिन लेख्थेँ र लगभग दुई सय पचासका हाराहारीमा रचना छन् । बिचमा दुई दशक समय अभावका कारण लेखन कार्यलाई निरन्तरता दिन सकिन । अहिले फेरि गत एक वर्ष देखि लेख्न शुरु गर्दैछु ।

लेख्नु राम्रो कार्य हो भन्ने न मैले बुझ्न सकेँ, न कसैले बुझाइदियो । त्यस कारण म युवावस्थासम्म आउँदासम्म पनि मैले लेख्छु भन्ने कसैलाई थाहा भएन । पछि आइ. ए पढ्ने बेला ताका धवलागिरि साहित्य पुरस्कार प्रतिष्ठानका अध्यक्ष ज्यू आदरणीय गुरु काजिरोशनसँग भेट भयो ।मैले उहाँलाई आफूले पनि लेख्ने कुरा बताएपछि उहाँले यो क्षेत्रमा आउन र लेख्न हौसला दिनुभयो ।


म कुनै वाद वा झुन्डको पछि छैन । म त साहित्यको सच्चा साधक हुँ, अझ भनौँ उपासक हुँ । मैले मेरा रचना मार्फत मानवीय प्रेम, समानता, स्वतन्त्रता, स्वच्छन्दताको स्वर मुखरित गर्न चाहन्छु । तर पनि साहित्य क्षेत्रमा मलाई कसैले चिन्न पनि चिन्दैन र म चिनिन चाहेको भए आज भन्दा बिस पच्चिस वर्ष अगाडि राष्ट्रिय स्तरका कविका सम्पर्कमा र नजिकमा हुने थिएँ । तर मेरा रचना छपाउन र छापिनका लागि कसैका पछि लागिन, कसैसँग भनसुन गरिन । हालसालै मात्रै तपाई जस्तै अनलाइन मिडियामा हुने साथीहरूले स्वतःस्फूर्त रूपमा आग्रह गरेर छापिएका छन्- एक दुई वटा रचना । मैले न प्रतिस्पर्धाका लागि लेखेँ, न पुरस्कारका लागि, न प्रचारका लागि नै ।

०००
प्रस्तुत छ कल्पितका तीन कविता:

पहिलो कविता 

बा !

तिम्रो छातीको बगैँचामा फुलेको सुन्दर फुल म
मुक्त आकाश नियाल्दै –
उन्मुक्त धर्तीमा फक्रेकी म
कसैले माग्यो भन्दैमा
कसरी जरैसँग उखेलेर दिन सक्यौ बा ?
घरको उज्यालो किन पठाउन खाेज्याै ?
म बस्ने घर फेरियो / मलाइ चिन्ने थर फेरियो
मैले खाने पानी फेरियो /मेरो आनीबानी फेरियो
मेरो रनवन फेरियो / मेरो यौवन-जोवन फेरियो
मेरो चल्ने जात फेरियो / मेरो थात-भात फेरियो ।

सुनको हो भन्दैमा –
पिँजडामा थुन्न कसरी स्विकार्यौ बा ?
पखेटा काटिएर दरबारमा थुनिनु भन्दा
अभावको आजादीमा खुसी थिएँ
महल हो भन्दैमा –
दासी बनाउन कसरी स्विकार्यौ बा ?
दरबारकी नोकर्नी बन्नुभन्दा –
झुपडीको राजकुमारी बन्दा खुसी थिएँ ।

जब तिम्रो आँगनबाट अर्को गोत्रमा झारियो
पराई घर लगेर मलाई गमलामा सारियो
– मेरो हुर्कने उचाइ तोकियो
– म फैलने आयतन छेकियो
धर्तीको पानी समेटेर हुर्किएकी म
एक धर्को पानीको आसमा बाँच्नु पर्ने भएँ
म तपाईँको आँगनमा महकिरहने
सदाबहार फुलबाट
बाटोमुनि फुल्ने पलाँस बनाइयो बा !

फुलकी रानी गुलाबबाट
राति नै फुलेर राति नै झर्नु पर्ने
श्रापीत पारिजात बनाइयो बा
सूर्य जता देखिन्छन्,
उतै फर्केर मुस्कुराउने म सूर्यमुखी
बादलको घुम्टो ओडिरहन पर्ने चन्द्रमुखी बनाइयो
सौन्दर्य फिँजाएर फक्रने इन्द्र-कमलबाट
लाजको घुम्टोमा लुट्पुटिने लज्जावती बनेँ म
तिम्रो आँगनमा सबेरै पुजिने तुलसीबाट
देउतालाई नचढ्ने लालुपाते फुल बनाइयो ।

बा ! मलाई अझै केके बनाउनु हुन्छ ?

०००


दोस्रो कविता

प्रमाण पत्र र बोर्डिङ पास

बाबुको बुढ्यौली
आमाको आस
प्रियाको सपना
अनि लाला-बालाका भविष्य
सबैलाई राहदानी भित्र गुटुमुटु पारेर
राम्ररी गुड्न छोडेको जीवन
सरर गुड्ने ब्रिफकेसभरि खाँदेर
`डिपार्चर´ कक्ष बाट बाहिरिँदै गर्दा
तर्सन्छु आफ्नै छातीबाट विस्फोट मुटुको आवाजसँग ।

बर्खामा भरिएको इनार जस्तै
आँखाका ढक्कनबाट
मनका शीतहरू छचल्कदै गर्दा
दोबाटोसम्म मन थामेको थिएँ जसोतसो
अन्तिम चोटि सबैलाई हात हल्लाउने बेलासम्म ।

बादल जस्तै बेढङ्ग उडिरहेका सपनाहरू छोप्न
उड्दै गर्दा आकाशमा
देख्दैछु मेरै घर माथिको आकाशको जहाजबाट
मेरो प्यारो गाउँ
म जन्मेको ठाउँ
मेरो मलिलो फाँट
सुन्दर बस्ती भित्रको मेरो घर
घर भित्रका मकिएका गारा
चुहिने पालि
धमिराले खाएका खम्बा
अनि चिसो चुल्हो ।

घरको अनुहार फेरिने रहर
आमाको फरिया फेरिने रहर
प्यारीको गहना लगाउने रहर
छोराको बोर्डिङ पढ्ने रहर अनि
छोरीको ठुलो बोल्ने गुडिया किन्ने रहर
रित्ता भाँडाहरूको भरिने रहर ।

सबै रहरहरूलाई टाँसेर अक्षतासँग निधारभरि
साइतको टीका लाउँदा आमाका कामेका हातहरू
लुगा पट्याउँदै गर्दा प्यारीले खसालेका आँसुका ढिक्का
`राम्रो सँग गएस् है बाबु ´ भन्दा बाको फुटेको स्वर
निस्कँदै गर्दा पछाउँदै आएको छोरीको रुवाई
`बा कहिले आउनुहुन्छ´ भन्दै छोरोले समाएका हात
सिनेमा जस्तै दृश्य मानसपटलमा कैद गरेर
जहाजको सिसाबाट अन्तिम चोटि हेरेँ मेरो गाउँ

के थाहा बाकसभरि उपहार लिएर फर्किने हुँ या
आफैँ बाकसभरि कोचिएर फर्कने हो ।

दुस्वप्नको नमिठोले अमिलिएको मन
कसोकसो तगारो सम्म आउँदा झर्न रोकेका आँसु
बर्र खसिदिन्छन् आफ्नै काखभरि
ट्रान्जिटको लागि सम्हालेको बोर्डिङ पास
निथ्रुक्क भएछ
जसरी भिजेका थिए
मेरा पहिलो श्रेणीमा पास भएका प्रमाणपत्र
तुइन चुँडिएर खस्दा त्रिशूलीको पानीले ।

०००


तेस्रो कविता

मेरो एउटा साथी

थाहा छैन
ऊ प्रेमी थियो
या साथी थियो
अरू भन्दा जाती थियो
मनको धेरै माथि थियो ।

उसले कहिल्यै भनेन कि म तिमीलाई माया गर्छु
न गर्‍यो – आँखाको चमकताको बयान
न गर्‍यो – ओठको कामुकताको वर्णन
न गायो – मुस्कानको मादकताको महिमा
न लेख्यो – रगतले चिना जस्तो लामो प्रेमपत्र ।

उसले आग्रह गर्थ्यो –
बरु पैदल हिँड – नेपाल यातायात नचढ
बरु अबेर पुग घर – तर पानीमा नरुझ
बरु पुरानो कुर्ता लगाऊ – तर छोटो फ्रक नलगाऊ
उसले भन्ने गर्थ्यो –
मेक-अप नगर – तिमीलाई सुहाउँदैन
किन लगाउछ्याै गाजल ?
किन लगाउछ्याै लिपस्टिक ?
किन खुला छोड्छ्या‌ै कपाल ?
किन सल नओढिकन आएकी ?
यस्तै-यस्तै मात्रै हुन्थे उनले गर्ने प्रश्न
फुर्काउन जानेन कहिल्यै
जिस्काउन आएन उसलाई ।

जब जब आकाशमा बादल देखिन्थ्याे
हतारहतार छाता बोकेर आउँथ्यो
मेरो चप्पलमा गडेको किला
दाँतले उखेलेर फाल्थ्यो
कसैले मलाई जिस्कायो भने
सबक सिकाउन जाइ लाग्थ्यो
म मञ्चमा बोलेको हेर्न पहिलो लहरमा बस्थ्यो
परीक्षाफलमा मेरो नाम एक नम्बरमा देख्दा
एक मिटर उफ्रेको देख्नेहरू उसलाई पागल भन्थे
आफू फेल भएको खबर बिर्सेर
मेरो सफलतामा `लेट्स सेलिब्रेट´ भन्थ्यो
तिमी राम्री छौ कहिल्यै भनेन
तिमी मेरी बन कहिल्यै भनेन ।

सिर्फ `बाइ´ भन्ने बेला
“एकछिन बस्न मिल्दैन?´´ भन्थ्यो
छुट्टिने बेला जहिल्यै
“भोलि आउछ्याै नि?´´ भन्थ्यो
बदलामा खिस्स हाँसिदिन्थेँ म
ऊ हाँस्न सक्दैनथ्यो बरु गम्भीर बन्थ्यो ।

मेरो मनको झरी कसरी बुझ्थ्यो ऊ
एकै चोटि सोध्थ्यो`के भयो´ भनेर
तब बल्ल बर्षन्थे मेरा आँसु
मेरो मनको घाम कसरी बुझ्थ्यो होला
के को खुसी हो आज ? ऊ भन्थ्यो
तब मुस्कुराउन सम्झन्थेँ म ।

तपस्वीका जस्ता उसका आँखामा के थियो ?
– जान्न खोजिन कहिल्यै
तलाउ जस्तो उसको मनमा के थियो ?
– सुन्न खोजिन कहिल्यै
पृथ्वीको जस्तो मौनतामा के थियो ?
– जान्न खोजिन कहिल्यै
आफ्नोपन लाग्ने उसका आग्रहमा के थियो
प्रश्न गरिन कहिल्यै ।

विज्ञापनको बजारमा अभ्यस्त म
उसको अमुकतामा आस्था राख्न सकिन
कहाँ उनी मौन तपस्या गरिरहने तपस्वी भक्त
कहाँ म फुल, अक्षता र नैवेद्यमा आशक्त
उनी जपिरहन्थे अनन्त मौन-प्रेम मन्त्र
मैले खोजिरहेँ सस्ता मायावी मन यत्रतत्र
पृथ्वी घुमिरह्यो आफ्नै कक्षमा
ग्रहहरू नाचिरहे आफ्नै अक्षमा
न समय रोकियो हाम्रो लागि
न हामी रोकियौँ एक-अर्काको लागि ।

जब मान्छेहरू,
सम्बन्धलाई तराजुमा जोखिरहेको भेट्छु
जब साथीहरू
साथ र हात दिए बापत सावाँ र ब्याज मागिरहेको पाउँछु
तब मलाइ
एकान्तका कालजयी सङ्गीत बन्छन् ती मौन संवादहरू
जीवनभरि खट्किरहन्छन् ती अपवादहरू
खोजिरहन्छु विधवाले खालि सिउँदोमा रातो रङ्ग झैँ
सम्झनालाई शतकले नखुइलाउँदो रहेछ
अझै पनि जब कोही साथीको जरुरत पर्छ
अनायास उसकै याद आउँछ
अनिकालमा पकवान सम्झे जस्तै
आपतकालमा भगवान् सम्झे जस्तै

आज बल्ल बुझ्दैछु,
गुमाएपछि नै हरेक चिजको महत्त्व बढ्दो रहेछ ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्