Logo

डुडुवा गाउँपालिकामा ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ सुरु



Spread the love

६ असोज, नेपालगन्ज l बाँकेको डुडुवा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पुर्‍याउन ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ सुरु गरेको छ ।

उक्त कार्यक्रम छोरीलाई जसरी पनि विद्यालय पुर्‍याउन र बिहेवारी २० वर्षपछि मात्र गराउने उद्देश्यले चालु वर्षको बजेटमै पारेर ल्याइएको हो ।

कार्यक्रमअन्तर्गत गत साउन १ गते यता जन्मिएका बालिकाका नाममा अभिभावक संरक्षक रहने गरी बैङ्कमा खाता खोल्नका साथै त्यसमा अभिभावकको ५ हजार र गाउँपालिकाबाट ५ हजार थप गरी १० हजार रुपैयाँ बचत हुनेछ ।

गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी भने, ‘मधेसी समुदायमा छोरीलाई पढ्न नपठाउने र सानैमा बिहे गरिदिने अवस्था छ । त्यसको समाधानका लागि यो कार्यक्रम सुरु गरेको हो ।’

कार्यक्रमअन्तर्गत खोलिने यस्तो खाताको रकम भने एसईई पास गरिसकेका बालिकाले उच्च शिक्षाका लागि खर्च गर्न पाउने छन् । अध्यक्ष चौधरी भने, ‘यहाँ छोरी जन्मिँदै बिहेको कुरा सुरु हुन्छ, त्यसै कारण बालिकाले राम्ररी पढ्न पाउँदैनन्, यो कार्यक्रममार्फत कम्तीमा छोरीहरूले एसईईसम्म पढ्न पाउने हक स्थापित गर्दैछौं । अभियानले बालिका २० वर्ष पुग्दा उनको पढाइसँगै बैङ्कमा बचत पनि हुनेछ ।’

अध्यक्ष चौधरीले कार्यक्रम गत साउन १ बाटै कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको बताउँदै भने, ‘यसका लागि निर्धारित मापदण्ड पूरा गरेर आउनेको खाता खोल्न बैंकसँग कुरा भइरहेको छ, पैसा सुरक्षित हुने र राम्रो ब्याज दिने बैंकमार्फत कार्यक्रम छिट्टै अघि बढाउँछौं ।’

कार्यक्रमका लागि चालु वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताएका छन् l

उनले भने, ‘बालिका अस्पतालमै जन्मिएको हुनुपर्ने र जन्मदर्ता गरेको हुनुपर्छ, त्यति भए खाता खुल्छ, बालिकाले एसईईसम्म पढ्नुपर्नेछ । खाताको रकम बालिकाले २० वर्ष पुगेपछि मात्र पाउने छन् ।’

अधिकृत धितालले नीति तथा कार्यक्रममा पारेर बजेट विनियोजन भइसकेको उक्त कार्यक्रमअन्तर्गत छोरीका लागि खाता खोल्न चाहने अभिभावकहरू गाउँपालिका र वडामा सम्पर्क गर्न आइरहेको बताएका छन् l

प्रतिक्रिया दिनुहोस्